Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ८ २०७९
  • 7.9K
    SHARES

काठमाडौँ । आसन्न स्थानीय तहको चुनावमा देशभरिका मतदाताले मतदान गर्न पाउन अब २२ दिन बाँकी छ । वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको चुनावका लागि त्यसको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।

तीमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख ९२ हजार १० जना पुरुष र १८३ जना अन्य मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । नेपालमा संघीय व्यवस्थाअन्तर्गत तीन तहको सरकार भएपछि विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख मतदाता थिए ।

सात प्रदेशका कुल ७५३ स्थानीय तहअन्तर्गत छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिकामा ४० हजारभन्दा बढी जनप्रतिनिधि चुनिनेछन् ।

परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ ?

आयोगले मतदाता परिचयपत्र हराएका, च्यातिएका वा नष्ट भएका व्यक्तिले नयाँ परिचयपत्रका लागि गत फागुन २० गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरेको थियो । त्यसबीचमा निवेदन दिएका मतदाताहरूका साथै नयाँ मतदाताका परिचयपत्र एकसाथ छपाइ भइरहेको छ ।

त्यसपछाडि परिचयपत्र हराएका मानिसहरूले चुनावअघि अब नयाँ पाउने सम्भावना छैन । ‘करिब ३३ लाख मतदाता परिचयपत्र छपाइको काम भइरहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘छापिएपछि मतदान पत्रसँगै अथवा अन्य सामग्रीसँग मतदान केन्द्रहरूमा पठाउने भन्नेबारे हामी हेर्छौँ ।’

मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ । तर मतदाता परिचयपत्र हराएका कतिपय मतदाताले मतदान गर्न पाइन्छ कि पाइँदैन भनी चिन्ता व्यक्त गर्दै आएका छन् । मतदानका लागि जरुरी भएरै आयोगले सबै योग्य मतदातालाई परिचयपत्र वितरण गर्ने गरेको प्रवक्ता पौडेलको तर्क छ ।

तर विगतको अभ्यास हेर्दा मतदाता परिचयपत्र हराएको खण्डमा नागरिकता अथवा अरू सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न दिने निर्णय चुनावको एक दुई–दिनअगाडि आयोगले गरेका उदाहरण छन् । ‘यसपालि के हुन्छ भन्ने कुरा आयोगले गर्ने निर्णय भएकोले मैले अहिले नै केही भन्न सकिनँ,’ उनले भने, ‘यसबारे आधिकारिक निर्णय भएको छैन ।’

उसो भए आजको मितिसम्म निर्वाचन आयोगको आधिकारिक धारणा भनेको मतदाता परिचयपत्र नभएका मतदाताले मतदान गर्न पाउँदैनन् भन्ने हो ? भन्ने प्रश्नमा प्रवक्ता पौडेलले भने- ‘हजुर हो, मैले भन्नुपर्दा त्यही नै हो ।’

परिचयपत्र कहिले बाँडिन्छ ?

अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदान केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ । आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ । प्रवक्ता पौडेलका अनुसार मतदान केन्द्रमा गएर सम्बन्धित मतदाताले आआफ्नो परिचयपत्र लिन पाउँछन् ।

स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ । मतदानका लागि निर्वाचन आयोगले देशैभरि दश हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिसकेको छ । 

#बीबीसीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४