Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कुन महानगरमा को बलियो ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ५ २०७९
  • 3.9K
    SHARES

©नेत्र बहादुर कार्की

काठमाडौँ । स्थानीय निर्वाचनमा तालमेलको निर्णय गरेका सत्तागठबन्धनमा आबद्ध दलहरूका दाबीले महानगरपालिका बाँडफाँडमै शीर्ष नेतृत्वलाई सकस भएको बुझिएको छ । यसअघि जितेका स्थानीय तह सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका सिट मतभारका आधारमा बाँडफाँड गर्ने निर्णय गरेको पाँचदलीय सत्तागठबन्धनलाई भागबन्डा मिलाउन सकस भएको जानकारी प्राप्त भएको हो ।

उम्मेदवार चयनका सात आधार र सिट बाँडफाँडका चार प्रक्रिया टुंग्याए पनि पाँच दलबीच जिल्लादेखि केन्द्रसम्मै धेरै ठाउँमा जटिलता देखिएको छ । गठबन्धनले यसअघि ‘महानगर र उपमहानगरपालिकाका प्रमुख-उपप्रमुख केन्द्रीय संयन्त्रबाट’ टुंग्याउने सहमति गरेको भए पनि दलहरूका आ-आफ्नै दाबीका कारण आइतबार सहमति जुट्न सकेन । एक-अर्काका दाबी स्वीकार गर्ने अवस्था नभएपछि आजबार पुनः बस्ने गरी गठबन्धनको बैठक सकिएको थियो ।

 बैठक बिनानिष्कर्ष टुङ्गियाे, कहिले जुट्छ सहमति ?

गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध सत्ता गठबन्धनका शीर्ष नेताहरूले साझेदार दलले जितेका पालिका उनीहरूले नै पाउने र एमालेले जितेका पालिकामा भागबन्डा गर्ने गरी सैद्धान्तिक सहमति गरेका थिए ।

त्यहीअनुसार ६ महानगरमा भागबन्डा गर्दा ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा)ले पाउने तय छ । एमालेले जितेका काठमाडौं र पोखरामा भने भागबन्डा हुनेछ । रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धन दलको निर्वाचन तयारी र अनुगमन समिति बैठकमा सहमति नजुटेपछि शीर्ष नेतामार्फत टुंग्याउने तयारी भएको छ ।

कुन महानगरमा को बलियो ?

काठमाडौँ महानगर

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका एमालेले जित हात पारेको थियो । त्यसबखत काठमाडौमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत ल्याएर विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

यसैगरी, मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४ सय ३९ मत र साझाका किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए । माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत, नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।

यस्तै, कांग्रेसबाट उपमेयरमा हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । उनलाई एमालेको साथ थियो । माओवादी केन्द्रकी सुशीलाकुमारी पौडेलले १० हजार ४ सय ४८ मत, नयाँ शक्तिकी सविना अर्याल दवाडीले ३ हजार ४ सय ९४ मत र साझाकी उम्मेदवार निरुपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याएकी थिइन् ।

ललितपुर महानगर

ललितपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा मेयरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६ सय ४२ मत ल्याएर विजयी भएका थिए । त्यसबखत निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यन्जनकारले २४ हजार ३ सय १६ मत ल्याएका थिए । महर्जन र व्यन्जनकारबीच मतान्तर ३ सय २६ मात्र थियो । यसैगरी, माओवादीका दिनेश महर्जनले १० हजार ६ सय ६१ मत ल्याएका थिए । ललितपुरमा कांग्रेसलाई गठबन्धनले सहयोग गर्दा एमालेका लागि कठिन देखिन्छ ।

विराटनगर महानगर

विराटनगर महानगरपालिको मेयरमा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३ सय २१ मत ल्याएका थिए । सो महानगरमा उपमेयरमा एमालेले विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग चुनावी तालमेल गरेको थियो । यस्तै, माओवादी केन्द्र र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो । फोरमबाट मेयरको उम्मेदवार बनेका उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए ।

वीरगन्ज महानगर

वीरगन्ज महानगरको मेयरमा तत्कालीन संघीय समाजवादी फोरमका विजय सरावगीले १९ हजार ३ सय ९३ मत ल्याउँदै विजयी बनेका थिए । त्यसबखत उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १९ हजार १ सय ९७ मत ल्याएका थिए । यसैगरी, सो महानगरमा उपमेयरमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय ७ मत ल्याएर विजयी भएकी थिइन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १८ हजार ५ सय ३० मत ल्याएर पराजीत बनेकी थिइन् ।

यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा०का उम्मेदवार राजेशमान सिंहले मेयरमा १२ हजार १ सय ६५ मत ल्याएका थिए भने उपमेयरका उम्मेदवार रम्भा मिश्रले १० हजार ६ सय ६३ मत ल्याएकी थिइन् । २०७४ मा वीरगन्जको मेयर बनेका सरावगी हाल नेकपा एमालेमा गइसकेका छन् । यस्तै, तेस्रो स्थानमा रहेका सिंह जसपामा छन् । त्यसबखत जसपासँगको मतान्तर कम भएकाले कांग्रेस यसपटक वीरगन्ज महानगरको नेतृत्व छाड्ने पक्षमा छैन । गत निर्वाचनमा कांग्रेससँग जसपाको मतान्तर १ सय ९६ मात्रै थियो ।

भरतपुर महानगर

भरतपुरमा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा रेणु दाहाल ४३ हजार १ सय २७ मत ल्याएर विजयी बनेकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । उपमेयरमा कांग्रेसबाट पार्वती शाहले ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी थिइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्माले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन् । यसअघि भरतपुरमा राप्रपाबाट मेयरको उम्मेदवार बनेका बद्रीनाथ तिमल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए भने उपप्रमुख रिना गुरुङले ७ हजार २ सय ५२ मत ल्याएकी थिइन् । हाल राप्रपा विभाजित छ ।

पोखरा महानगर

२०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार १ सय १८ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए ।

यसैगरी, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन् । माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो । ढकाल उपमेयरमा ८ हजार ७ सय ९६ मत ल्याएर तेस्रो भएकी थिइन् ।

माओवादी केन्द्रले सघाउँदा यसअघिको निर्वाचनमा पोखरा महानगरमा एमाले र कांग्रेसको मतान्तर १३ हजार ७ सय २ थियो । हाल भने एमाले विभाजन भएकाले त्यसको असर स्थानीय निर्वाचनमा पर्ने आँकलन कांग्रेसको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४