काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको समर्थनमा विशाल र्याली निकालिएको छ ।
१० औं हजार सहभागी र्यालीले इमरान खान अमर रहुन् भन्ने नारा लगाउँदै राजधानी इस्लामाबाद लगायत शहरहरुको परिक्रमा गरेको थियो ।इमरान खानबिरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि उहाँको समर्थनमा दशौं हजार जनता सडकमा उत्रेका हुन् ।
र्यालीमा सत्तारुढ पार्टी बाहेकका दलका कार्यकर्ता समेत सामेल भएको दाबी गरिएको छ भने र्यालीलाई ब्यवस्थित गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । प्रधानमन्त्री खान बिरुद्धको अविश्वासको प्रस्तावमाथि संसदीय मतदान हुनु अघि र्याली आयोजना गरिएको हो ।
र्यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफु बिरुद्धको अविश्वासको प्रस्तावमा विदेशी शक्तिको हात रहेको भन्दै आफ्नो संघर्ष स्मरण गर्न पाकिस्तानी जनतालाई अपील गर्नुभयो ।
क्रिकेटरदेखि प्रधानमन्त्री पदसम्म आइपुगेको भन्दै उहाँले पाकिस्तानका लागि आफ्नो जीवन समर्पण गरेको जिकीर गर्नुभयो । पाकिस्तानाको अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खान विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको छ ।
अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदहरुले हस्ताक्षर गरेका छन् ।
सन् २०१८ मा सत्ता सम्हालेका खान विरुद्ध पहिलो पटक अविश्वास प्रस्ताव आएको हो । ३४२ सदस्य रहेको नेसनल एसेम्बलीमा खानविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव पारित हुन विपक्षीलाई १७२ मत आवश्यकता पर्छ ।