Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘हात हटाउनुहोस्, मलाई अप्ठ्यारो महसुस भयो’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २४ २०७८
  • 5.8K
    SHARES

आजदेखि प्रण गरौं, हरेक अप्ठ्यारो परिस्थितिमा हामी त्यो मान्छेलाई भन्नेछौं- ‘मलाई अप्ठ्यारो महसुस भयो।’ चाहे उसको त्यो आशय होस् या नहोस्। उसको आशयको ठेक्का लिएर बस्ने हामी होइन।

कहिलेकाहीं लाग्छ- म प्रश्न गर्न नै जन्मिएकी हुँ। मानौं, मेरो जिन्दगीको अर्थ नै प्रश्न गर्नु हो।

‘कसैको जिन्दगीको अर्थ कसरी प्रश्न सोध्नु हुनसक्छ ?’ तपाईंको जिज्ञासा हुनसक्छ। मैले प्रश्न सोध्नुको मुख्य उद्देश्य मेरा दाइ/ दिदीका छोरीहरू हुन्। भोलि तैंले मेरो लागि के गरिस् भन्न सक्छन् । त्यतिबेला म भन्न सकूँ कि कम्तीमा मैले सोधेकी त थिएँ, अब तिमीहरू बोल्दा पहिला किन कसैले भनेन भन्ने हिम्मत अरुको हुने छैन।

यो मेरो दृष्टिकोणबाट तपाईंको जिज्ञासा हो। तपाईंको कुनै अरु जिज्ञासा हुनसक्छ या कुनै अरु जिज्ञासा नहुन सक्छ। आज प्रश्न पुरुष प्रजातिको नाममा छ। तिम्रो अहंलाई के भन्दा र गर्दा चोट पर्दैन ? संसारकै नाजुक वस्तु के हो भन्नुहुन्छ भने म भन्न सक्छु त्यो वस्तु पुरुषको अहम् हो।

मेरो अहंलाई वस्तु भनिस् भनेर अहंमा चोट परेको भए माफी चाहन्छु। थाहा छ, पुरुष त्यो भनिन रुचाउँदैन। ऊ त महिलालाई नाजुक मान्छ। उसको हात, उसको कम्मर, उसको शरीर, नाजुक हो भनेर ठोकुवा गर्छ। उसको स्वादको लागि त्यस्तो होस् भन्ने चाहन्छ पनि।

कथाको सुरुवात हुन्छ जब एउटा सूर्य भन्दा पनि ठूलो पिण्ड सूर्यसँग ठोकिन्छ।

नडराउनुस्, म कहाँ स्वस्थानी पढेर हुर्किएको मान्छे ! यो पत्याउँछु भन्या ! सत्य यही हो कि ब्रह्माजीले पृथ्वीको उत्पत्ति गर्नुभयो। सूर्य, तारा, डाँडाकाँडा, हिमाल, खोला, पानी, कीरा, फट्याङ्ग्रा अनि मान्छे। त्यसपछि मान्छेहरूले आफ्नो लागि नियम कानुनको उत्पत्ति गरे। कसैलाई नियम कानुन बनाउन मजा लाग्यो र आफू नियम कानुन बनाइरहने अरुले मानिरहने प्रवृत्ति उत्पत्ति गरे। यी चिजहरूको उत्पत्ति गर्ने क्रममै उत्पत्ति भयो भेदभाव, हीनभावना, को ठूलो को सानो, हेर् म तलाईं के गर्न सक्छु ? तँ मेरो चिज हो, म तँलाई जे पनि गर्न सक्छु आदि जस्ता प्रवृत्तिको पनि।

जब यो प्रवृत्ति उत्पत्ति भएसँगै शिक्षा नामक कीटाणु उत्पत्ति भयो, अनि यसको उत्पत्तिले बतायो कि ब्रह्माले त यी सब नियम कानुन उत्पत्ति नै गरेका रहेनछन् अनि मान्छेले बनाएका नियम कानुन मान्छेले हटाउन किन नमिल्ने भन्ने अर्को विचार उत्पत्ति भयो। यसरी सृष्टि आजसम्म चलिरहेछ। विचारहरू जन्मने–मर्ने प्रक्रिया पनि उस्तै चलिरहेछ।

यसै क्रममा नेपाल नामक देशमा दुर्व्यवहारलाई नहुन दिन के गर्ने भन्ने सन्दर्भमा कुरा हुँदा कसैले भन्यो कि दुर्व्यवहारकर्तालाई भन्ने कि तिमीलाई उसलाई जे गरिरहेको छ, त्यो ठिक लागिरहेको छैन। तिमीलाई अप्ठ्यारा अर्थात् अन्कम्फर्टेबल लागिरहेको छ। किनकि कतिपय अवस्था यस्तो पनि हुन्छ कि दुर्व्यवहारकर्ता स्वयंलाई थाहा हुँदैन कि म दुर्व्यवहार गरिरहेको छु।

दुर्व्यवहार भन्दा नराम्रो सुनियो होला। कुनै पुरुष प्रजातिलाई अन्कम्फर्टेबल लाग्यो होला। तपाईंलाई त्यही बनाउन लेखिएको लेख हो। म सत्ताको अभिलाषी हैन। त्यसैले सबैलाई कम्फर्टेबल हुने काम गरिरहन मन पनि छैन। नत्र अप्ठ्यारो मात्र लेख्दा तपाईंलाई अप्ठ्यारो महसुस नहुन सक्छ।

बुझेको हो त ? त्यतिबेला लेखकको दिमागले भन्यो- ‘एक आइडिया जो बदलदे आपकी जिन्दगी !’ लेखकलाई बसमा सँगैको सिटमा पुरुष आएर बसिदिंदा उसलाई ‘अल्लि पर सर्नु न !’ भन्न नसक्दा र कुच्चिएर यात्रा गरिरहनु पर्दाको क्षणहरू सम्झना भयो। अनि त्यसको निवारण ‘दाइ अल्लि उता सर्नु न ! अप्ठ्यारो भयो’ भनेर भन्नु हो भन्ने हुँदा लेखकको मन प्रफुल्ल भयो।

लेखकको मन मुखसँग अल्लि रिसायो पनि। ‘यति नभनेर मैले कति दुःख पाएँ !

लेखकलाई लाग्यो अब दुःखबाट छुटकारा थोरै हिम्मत, थोरै आँट अनि मुखको साथ; अप्ठ्यारो परिस्थितिबाट मुक्ति। दुर्व्यवहार हुँदा महिलाको दिमागमा हुने चिजहरूसँग कम्तीमा म मेरो अनुभूति यहाँ साट्न चाहन्छु। जब तपाईंलाई कसैले छोएको अनुभव हुन्छ एकछिन तपाईंको दिमागले यो पत्याउनै सक्दैन कि तपाईंलाई कसैले छोइरहेको छ।

हो, मलाई कसैले छोइरहेको छ ! जब तपाईंको दिमागले यत्ति स्वीकार्छ, त्यसपछिको पहिलो स्वाभाविक प्रतिक्रिया र प्रश्न जन्मिन्छ, ‘जे भैरहेको छ, त्यहाँबाट म टाढा कसरी जाउँ ?’ दिमागको पहिलो प्रतिक्रिया नै अब सुरक्षित ठाउँमा कसरी जाने भन्ने हुन्छ।

त्यसपछि, मेरो गल्ती होइन भनेर आफैंलाई बुझाउनु र उसले गलत गरिरहेछ भनेर बुझ्नु हुन्छ। अझ कतिसम्म भने उसले जानीजानी गरिरहेको छ या नजानिकन गरिरहेको छ सम्मको प्रश्न दिमागले गर्न भ्याउँछ। यो सब प्रक्रिया सकिएपछि आत्मबल बलियो बनाएर अनि झ्यापु हान्ने कामले सार्थकता पाउँछ।

लेखकलाई ती महिलाको आँटसँग बडो डाहा छ जो दुर्व्यवहार गर्नेलाई झ्यापु दाग्न सक्छन्। किनकि लेखकसँग चाङका चाङ त्यस्ता अनुभवहरू छन् जहाँ उनको दिमागले भाग्ने भन्दा अर्को निचोड निकाल्न सकेन। लेखकलाई पाठकहरूसँग सोध्न मन छ, कति वटा घटना तपाईंले थाहा पाउनुभयो जब दुर्व्यवहारकर्तालाई झ्यापु हानियो ? दिनमा एकपटक ? महिनामा एक पटक ? वर्षमा एकपटक ? तपाईंलाई थाहा छ दुर्व्यवहार कति पटक हुन्छ ? हर दिन, हर सार्वजनिक गाडी, हर ठाउँ जहाँ योनी र स्तन सहितको मानिसको उपस्थिति हुन्छ ! अब लागौं हाम्रो लेखकको कहानीतर्फ।

पहिलो घटना २९ या ३० चैत २०७७ को कुरा होला। किनकि लेखकलाई नयाँ वर्ष मनाउन हिंडेको याद छ। त्यतिबेला लेखक अन्तिम भन्दा अघिल्लो, छेउको सिटमा हुनुहुन्थ्यो तब पछाडिबाट हात आएर लेखक बसिरहेको सिटको डन्डी समायो। यदि तपाईं आफ्नो शरीरलाई पछाडि अड्याउन धकेल्नुहुन्थ्यो भने त्यो हातमा लाग्ने डर थियो। यो डर सबै लिंगमैत्री हुनुपर्छ भन्ने लेखकको मत छ।

लेखकलाई अझै त्योमाथि के डर छ भने त्यो एकदिन आउनेछ जुन दिन ती सिटका साइडमा आएका हात मेरा छातीमा मडारिनेछन्। यो डर लेखकको त्यो दिनको मात्र होइन, यो डर त त्यही दिनदेखि सुरु भएको थियो जब लेखकलाई थाहा भयो महिलाको छातीलाई स्तन भनिन्छ। लेखकलाई लाग्यो आज साथीको जमघट भएकाले पनि पुरुषलाई नम्र निवेदन गर्न डराउनुपर्ने दिन होइन।

आज हिम्मत बनेर आएका पाँच साथी साथमा जो छन्। तब लेखकले न्वारानदेखिको बल, आँट, भरोसा जम्मा गरेर भन्नुभयो, ‘दाइ हात हटाउनु न अप्ठ्यारो भयो।

यति ६ ओटा शब्द भनिसक्दा लेखकलाई लाग्यो, किन उनलाई साहसिक अफ द इयर घोषणा गरेर सरकार पुरस्कार दिंदैन ? लेखकका कान कतिबेला ती मुखारबिन्दबाट निस्किएका ‘सरी है!’ सुन्न प्रतीक्षारत थिए। तर लेखकको कानले यस्तो सुन्यो ‘छुन खोज्या हो र ? हात राख्न नि नपाउने ?

लेखकको मुखबाट फेरि पनि नम्र आवाजमा निस्कियो, ‘दाइ छुनुभयो भनेकै छैन नि ! अप्ठ्यारो भयो भनेको।

उक्त पुरुषले दोहोर्‍यायो- ‘छुन खोजेकै होइन !’

लेखकमा अझै जवाफ दिने हिम्मत थियो। तर उहाँको हिम्मतले नै भन्नुभयो- छोड्दे मूड खराब नगर।

तर ती पुरुषले आधा घन्टाको त्यो यात्रामा लेखकलाई भनिरहे कि उनले मलाई छुन खोजेकै होइनन्। लेखकले उनलाई नभएको आरोप लगाएँ इत्यादि इत्यादि।

यतिबेला चोरको खुट्टा काटभन्दा चोरले खुट्टा लुकाएको भन्दा पनि मेरो चोर्ने हात नै छैन भन्दै हात लुकाएको कथा भएको भए लेख्न हुनेथियो। चोर कथाका रचनाकारलाई थाहा कसरी होस् कुनै दिन कुनै लेखकलाई हात नै लुकाएको कथा चाहिनेछ ?

दोस्रो, घटना यतिबेला लेखकलाई लकडाउनले घरभित्र थुनिंदा थुनिंदा दिक्क लागेको थियो। लेखकको मूड थियो- डेटिङ जाऊँ, नयाँ मान्छे भेटौं आदि इत्यादि। तब फेसबुकमा दुई चार दिन मीठो फ्लर्ट भएपछि लेखकलाई भेटौं भन्ने प्रस्ताव आयो। लेखकलाई लाग्यो- अहो अब लेख्ने लेखको पहिलो ड्राफ्ट पढ्ने यिनै त होइनन् ? तब लेखक उक्त व्यक्तिलाई भेट्न जानुभो।

देवघाटको माथिल्लो पट्टि लेखनाथ पौड्यालको सालिकसहितको उद्यान छ। लेखकजी आफ्नो साथीसँग त्यहाँ पुग्नुभयो। गफहरू भए, जिन्दगी, पैसा, जागिर, परीक्षा, समाज आदि इत्यादि। लेखकका आँखामा हेर्दै हुनसक्ने ड्राफ्ट पाठकले केही रसिला मुक्तक पनि भन्नुभयो। हातहरू छोइए, केही अप्ठ्यारो लाग्यो, हात हातमा राखियो, झन् अप्ठ्यारो !

लेखकको मनभरी प्रश्न छरपस्ट भए- के उसको यत्ति पनि हक छैन ? या मैले यो जुन महसुस गरिरहेको अप्ठ्यारो हो, यो सबैलाई अनुभव हुने अप्ठ्यारो हो ! के यो सामान्य होइन ? के मैले अप्ठ्यारो मान्नुपर्ने हो ? अप्ठ्यारो हुँदाहुँदै सहज हुने होइन त ? यी प्रश्नै प्रश्नका बीच उसको हात लेखकको काँधमा पुग्यो।

लेखकलाई लाग्यो- अब यही सत्य हो कि योभन्दा अप्ठ्यारो बेहोर्न सक्ने क्षमता लेखकमा छैन। ‘प्लिज डन्ट टच !’ लेखकले भन्नुभयो।

‘के रे, के रे ? कसरी नछुने रे ? यसरी ?’ फेरि उसको हात लेखकको काँधमा गयो। लेखकलाई त्यतिबेला नै लागेको हो उठेर हिडूँ। नबसूँ यो मान्छेको छेउमा, जो सोच्छ नारीहरू नछोइ भन्नुको मतलब अरु जे हो हो तर नछोऊ होइन।

तर लेखकलाई लाग्यो यति एक अपवाद जस्तो अवगुण मनमा लिएर किन बसूँ ? लेखकमा त्यति निर्दयी हुने क्षमता पनि थिएन। त्यसपछि कुराहरू बढिरहे। ‘मलाई अघि लागेको थियो कि म उठेर हिडूँ।’ अर्को अर्को अर्को कुरा हुँदा लेखकलाई लाग्यो- यो भन्न जरुरी छ। त्यसपछि अन्य कुराहरूका बीच लेखकको यो वाक्यले महत्व पायो।

त्यसपछि जति कुरा भए त्यसका बीचमा यो वाक्यलाई ‘अनि तिमी त उठेर हिंड्न मन लागेको मान्छे’ बनेर उभिरह्यो। लेखकलाई चिमोटिरह्यो। भेटघाट सिध्दिएर जब घर फर्केपछि पनि लेखकलाई लाग्यो कि यो भन्नुपर्ने कुरा हो। लेखकलाई यस्तो भ्रम थियो ऊ गल्ती स्वीकार्नेछ। किनकि ऊ राम्रो मान्छे हो।

‘मलाई एकदमै नराम्रो लाग्यो।’ लेखकबाट फेरि म्यासेज गयो। लागेको थियो होला कम्तीमा एक ‘सरी !’ त आउला तर कुराहरू मोडियो। हाँसोमा उडाइयो। यति कुरामा किन किचकिच गरेको सुनाइयो। त्यसपछि लेखकले म्यासेज रिप्लाई गर्न छोड्नुभयो।

यो घटनाको दुई महिनापछि उहाँले वर्षौंअघिकी आफ्नी प्रेमिकासँग प्रेम विवाह गर्नुभयो। तेस्रो घटना लेखक र उहाँ फेसबुकमा जोडिएको वर्षौं भएको थियो। उहाँ ठूलो कवि हुनुहुन्छ।

लेखकलाई लाग्थ्यो- उहाँ जस्तो लेख्न पाए के हुन्थ्यो ? संसार उलटपुलट सायद। जब एकदिन स्टोरीमा जवाफ फर्काउँदा उताबाट म्यासेज आयो- लेखकलाई लाग्यो दिन खुल्यो। यति ठूलो मान्छेको म्यासेज ! अब सानो कहाँ रहियो र ?

त्यसपछि कुरा हुँदै जाँदा ननभेज जोकहरू हुन लागे। अप्ठ्यारो लाग्थ्यो तर पनि लेखकलाई लाग्यो यति त पचाउनुपर्छ। यति ठूलो मान्छेसँग बोल्न पाउनुभन्दा ठूलो के छ संसारमा ?

‘मलाई असहज लाग्दैछ।’ हुँदै हुँदै जाँदा एकदिन लेखकद्वारा साहस जुटाएर भनिइयो। ‘मैले पुरुषलाई यस्तो म्यासेज गर्ने महिलालाई यस्तो म्यासेज गर्ने भन्ने सोचेर म्यासेज गर्दिनँ’ उताबाट जवाफ आयो।

तपाईंका अनेक रूप देखेरै स्तन र योनी भएका मान्छे दङ्ग पर्छन्। ‘अरे भने पो म थाहा पाउँ’ भन्ने नि तपाईं। ‘अरे मैले गरेकै होइन, मेरो त्यस्तो गर्ने आशय नै होइन !’ भन्ने पनि तपाईं

बाफ रे विचार। यो पो विचार! यस्तो पो विचार! यति आदर्शवादी विचार न विचार! विचार राख्नु त यस्तो लेखकलाई लाग्यो आफ्नो यस्तो तुच्छ विचार लिएर यति महान् विचारको विरुद्ध उभिने तँ कस्तो मान्छे ? लेखकद्वारा आफैंलाई सोधियो।

एकदिन कुरा भैरहँदा फेरि नन्भेज जोक आयो। ‘दिमागमै यत्ति छ कि के हो ?’ अनि लेखकले जिस्काइँदो भाषामा म्यासेज गर्नुभयो। तब कविद्वारा रिसानी भएको जाहेरी दिन म्यासेज टक्र्याइयो कि ‘लेखकलाई लाग्छ कविज्यूको दिमागमा यत्ति छ ? कविज्यू यही सोचेर बस्नुहुन्छ? उहाँले अस्ति नै भन्नुभएको थियो त उहाँ यस्तै जोक गर्नुहुन्छ। असहज महसुस भयो, के के भयो भनेर अस्ति नै लेखकको म्यासेज गएको थियो। अनि अन्तत: कविज्यूको त्यस्तो मनसाय नै थिएन।’

लेखकद्वारा म्यासेज पठाइयो ‘कविज्यूको मनसाय के थियो के थिएन भन्ने कुरा नै होइन। जब लेखकले भन्नुभयो असहज लाग्यो भनेसी त्यो कुरा त्यही छोडेर अन्त मोडिन सकिन्थ्यो। त्यही पनि कविज्यूको आशय थिएन भन्दैमा लेखकले अप्ठ्यारो मान्न नपाउने पनि त होइन होला। र पनि कविज्यूले मलाई अप्ठ्यारो महसुस गराउनुभयो भनेको कविलाई यौन हिंस्रक भनिएको पनि होइन। यो ठाउँमा मलाई अप्ठ्यारो भयो भनेको हो। कुराहरू यहीं यसरी नै सकिए। लेखक बाँचिरहेको २५ वर्ष भैसकेको छ। अनि लेखकले दुर्व्यवहारबाट बच्ने अमृतवाणी सुनेको दुई वर्ष।

लेखकको जिन्दगीमा यस्ता धेरै मान्छे भेटिएका छन् जो अप्ठ्यारो लागेको महसुस गरेर अलिक पर सरे। अलिक सजिलो बनाइदिए। लेखक चाहनुहुन्छ कि तपाईं आफैं कल्पना गर्नुस्, तपाईं हिंड्दै हुनुहुन्छ। तपाईंले कसैको खुट्टा कुल्चिनुभयो। तपाईं सरी भन्नुहुन्न? तपाईं भन्नुहुन्न कि गल्ती भयो माफ पाऊँ। या तपाईं यो भन्दै बस्नुहुन्छ कि मेरो खुट्टा टेक्ने आसय (इन्टेन्सन) थिएन।

न मेरो गल्ती छ न म माफी माग्छु ? के तपाईंले भन्न खोज्नुभएको यो हो कि जबसम्म म छुन्छु भनेर छुन्न तबसम्म माफी माग्दिनँ ? हुन त टेलिकमले समेत अरुले फोन व्यस्त राखेका बेला वा फोन नउठाएकै बेला पनि तपाईंसँग ‘माफ गर्नुहोला, तपाईंले सम्पर्क गर्नेको नम्बर उठेन। कृपया पुन: सम्पर्क गर्नुहोला’ भनेर माफी माग्छ।

भद्र र शालीनताको लागि होइन र ? हुन त त्यसमा पनि आवाज महिलाकै हुने हुनाले तपाईंलाई लागेको हुन सक्छ बेफ्वाँकमा माफी माग्ने महिला मात्र हुन्।

तपाईंका अनेक रूप देखेरै स्तन र योनी भएका मान्छे दङ्ग पर्छन्। ‘अरे भने पो म थाहा पाउँ’ भन्ने नि तपाईं।

‘अरे मैले गरेकै होइन, मेरो त्यस्तो गर्ने आशय नै होइन !’ भन्ने पनि तपाईं।

‘मलाई नराम्रो भनिस्, ममाथि औंला उठाइस् भन्ने नि तपाईं ?’ शतप्रतिशत महिलाले दुर्व्यवहार भोग्छन्।

अनि उनीहरूको भोगाइ सत्य हो कि होइन भनेर तपाईंहरू जस्ताले भन्नुपर्ने ? महिलाको भोगाइ के सबै सपना हो? एउटा पुरुष त होस् जसले आफ्ना गल्ती स्वीकार गरोस्।

हुन त तपाईंले लेखकलाई मनमनै भनिसक्नुभयो किन गएकी केटा भेट्न? किन गरेकी म्यासेज ? बलात्कृतलाई तेरो कपडा देखाएर दोष दिने तपाईं हो, मैले ज्यादै आस गरेकी छैन। तर यो अनुरोध टेलिकमलाई छ यो महिला स्वर फेरेर पुरुष स्वर कताबाट राख्न मिल्ने हो कृपया व्यवस्था होस्।

पुरुष स्वरमा पनि माफी मागेका शब्दहरू या शालीनता प्रदर्शनी संस्कार सामान्यीकरण गरियोस्। जहाँ पनि शालीन भूमिकामा महिलालाई मात्र स्थापित गर्न जोडबल नगरियोस्। यो लेख पढिरहेका नारीहरूमा अनुरोध छ अब नबोल्ने, नभन्ने भन्ने विकल्प हामीसँग छैन।

कम्तीमा भोलि छोरीले भन्न नपर्ने वातावरण सिर्जना गर्नको या हिजो कसैले भनेन, तैंले किन भनिस् भन्ने प्रश्न पछार्नको लागि पनि भनौं। आजदेखि प्रण गरौं, हरेक अप्ठ्यारो परिस्थितिमा हामी त्यो मान्छेलाई भन्नेछौं- ‘मलाई अप्ठ्यारो महसुस भयो।’ चाहे उसको त्यो आशय होस् या नहोस्। उसको आशयको ठेक्का लिएर बस्ने हामी होइन। उसको मनसाय त्यो नहुँदा नहुँदै पनि हामीलाई त्यस्तो महसुस गराएकोमा उसले लज्जाबोध गर्ने कि झगडाको निहुँ बनाएर ‘मलाई नराम्रो भनिस्’ भन्ने? अनि पुरुषलाई सुझाव अब ‘तपाईंले गर्दा मलाई असहज (अनकम्फर्टेबल) भयो सुन्न सहज (कम्फर्टेबल) हुनुस्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४