Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बद्लिँदो नेपाल र फेरिँदा नेपाली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 10.2K
    SHARES

समय आफ्नो रफ्तारमा चलायमान छ । उसको गतिलाई संसारका कुनै पनि शक्तिशाली व्यक्ति, राष्ट्र वा तत्वले अवरुद्ध गर्न सक्दैनन् । समय विगत हो । समय वर्तमान हो र समय भनेको भविष्य हो । उसो त विगत् वर्तमानको अग्रज हो । बाबु हो । त्यसैले वर्तमान विगतको अनुज हो । यी दुईका बीचमा गुरु चेलाजस्तो न्यानो सम्बन्ध रहन्छ । त्यसैले विगतबाट वर्तमान र भविष्यले पाठ सिक्नुपर्छ ।

समयले सबैलाई सिकाउँछ । भनिन्छ –‘गुरुले सिकाएर पछि मात्र परीक्षा लिन्छन् तर समयले पहिले परीक्षा लिएर अनि मात्र सिकाउँछ ।’ पूरै फरक हुन्छ समयले सिकाउने तरिका पनि । संसार अहिले चाँडो–चाँडो गतिमा फेरिँदो छ । विधि, प्रविधि र सीपहरूले संसारलाई दिन दुगुना रात चौगुना तरक्की गराइरहेका छन् । हिजोको जस्तो सोच अहिले छैन । अहिलेको जस्तो सोच भोलिका दिनमा अवश्य हुने छैन ।संसारले नित्य नवीन नूतन पथको यात्रा गरिरहन्छ । भनिन्छ –‘परिवर्तन नै विकासको सोपान हो ।’वर्तमानको मुहारमा बद्लिँदो नेपालको चित्र र चरित्र आउँदछ । यही मानेमा नेपालीहरू फेरिँदा छन् । नेपालीहरूको सोच, खानपान, बसउठ, कार्यशैली, जीवनशैली, पोसाक, चाडपर्व, शिक्षादीक्षा र राजनीतिक संस्कारका सबै–सबै कुराहरू क्रमशः फेरिँदा छन् ।

चुनावमा नेताहरू उही हुन् तर यहाँ भोटरहरू फेएिका छन् । सिनेमाका कथाहरू उही हुन्, तर त्यसमा अभिनय गर्ने नायक र खलनायकहरू फेरिँदा छन् । पाठ्यक्रमका हल्का चापले गर्दा पाठ्यपुस्तक र त्यसमा रहेका पाठहरू क्रमशः बद्लिएका छन् । हुँदाहुँदा मौसम बद्लिएको छ । प्रकृति, खोलानाला, हिमाल, पहाड र तराईका समथर फाँटहरू समेत बद्लिएका छन् । कुनै बेलाको हरियो वन नेपालको धन भन्ने नारा अहिले नेपालको धन यही देशको जन भन्ने बेला आइसक्यो । दैनिक करिब १५ सय युवायुवतिहरू आफ्नो र परिवारको पेट पाल्नका लागि खाडी, मध्यपूर्व, युरोप, अमेरिका र बेलायतको यात्रा तय गर्नका लागि गलाभरि फूलका मालाहरू पहिरेर घरबाट विदावारी भएर अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्छन् । यसले नेपाललाई वर्षेनी करिब १४ अर्वको चामल आयात गर्ने देशमा बद्लिदिएको छ ।

अझ डरलाग्दो सन्दर्भ त नेपालको व्यापार घाटा चुलिएको छ । ८७ प्रतिशत आयात हुँदा १३ प्रतिशत मात्र निर्यात रहेको छ । यो भनेको देश कुनै पनि बेला डुब्ने स्थितिमा रहेको छ । हिजोको कृषिप्रधान देश अहिले रेमिट्यान्स प्रधान देशका रूपमा चिनिन थालेको छ । रेमिट्यान्सको कुनै भर हुँदैन । यो क्रमशः सुक्दै जान सक्छ । एक अनौपचारिक अध्ययनले देखाएको डेटा अत्यत्न डरलाग्दो छ । त्यहाँ भनिएको छ –‘वैदेशिक रोजगारीबाट प्राप्त रूपैयाँमध्ये ६५ प्रतिशत रकम खानपिन, मोजमस्ती, गहना, घर र जग्गामा लगाइएको पाइएको छ । यो भनेको अनुत्पादक क्षेत्रमा नेपालले कमाएको रकम जाम भैरहेको छ ।

कुनै बेला थाइ एयरवेजसँगै खुलेको नेपाल वायु सेवा निगम थाइ एयरले विश्व बजारमा हवाई यातायातका क्षेत्रमा राज गर्न लाग्दा नेवानि भने अहिले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहक हवाईजहाज कम्पनी मात्र बनेको छैन, पूरै राजनीतिकरणका कारण विभिन्न पार्टीले आफ्ना नेता र कार्यकर्ताहरूलाई अकण्टक दाइँ गर्न दिँदा मुलुकको एक मात्र सरकारी स्वामित्वको हवाई कम्पनी टाट पल्टेर मटियामेट हुन लागिसक्यो । पछिल्लो पटक यो संस्थामा भएको आर्थिक घोटालाको कारक वाइड वडी जहाजको मुद्दा यतिखेर पुनः सामसुम भैसक्यो । त्यो भन्दाअघि त कति थिए कति नेवानिका घोटालाहरू ?

देशले २००७ साल यता धेरै तरक्की गरिसक्यो । शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योगधन्दा, कलकारखाना र जीवनशैलीमा आकास पातालको परिवर्तन देखिए । जम्मा २ प्रतिशत नेपाली सात सालको आसपासमा साक्षर थिए भने अहिले हरेक जिल्लाहरू पूर्ण साक्षर जिल्लाका रूपमा घोषणा भैसकेका छन् । पूरै देश नै खुला दिसामुक्त घोषणा भैसकेको छ । यी विकासका सूचकहरूलाई हेर्ने हो भने भने नेपाल बदलिएको र नेपालीहरू फेरिएका अवश्य छन् । राजनीतिक प्रणालीहरू नै चार/पाँच प्रकारका फेरिइसके भने जनता पनि रैती, जनता र नागरिकमा परिणत भएका छन् । राणाराज्यको अन्त्यपछि संसदीय प्रजातन्त्र, पञ्चायती व्यवस्था, राजा सहितको संसदीय प्रजातान्त्रिक व्यवस्था र वर्तमानको संघीय लोकतान्त्रिक व्यवस्था क्रियाशील रहेको छ ।

वर्तमान अवस्थामा नेपाललाई महाशक्ति राष्ट्रले आफ्नो पकडमा लिनका लागि अनेकानेक रणनीति, प्रपञ्च, अनुदान, सन्धि र सम्झौताहरू गराइरहेका छन् । हिजोको असंलग्न परराष्ट्र नीतिको सिद्धान्त र पञ्चशीलको सिद्धान्त अङ्गीकार गर्ने मुलुक अहिले पनि सोही सिद्धान्तमा अविचलित भएकै अवस्थामा राष्ट्र संघमा रसिया युक्रेनको युद्धमा युक्रेनका समर्थनमा भोट हाल्नु भनेको नेपालको असंलग्न परराष्ट्र नीतिको चट्टानी अडानमा ढुलमुले स्थिति देखिनु हो । अमेरिका यो देशमा एमसीसी मार्फत् आफ्ना केही स्वार्थहरू लाद्न चाहन्छ भने चीनसमेत बिआरआई मार्फत् अमेरिकी रणनीतिलाई काउन्टर प्ले गर्न चाहन्छ । यो कुरा विभिन्न स्तरका नेपालीहरूले भलिभाँती बुझेका छन् । तर पार्टीहरूका बुझाइ, महाशक्ति राष्ट्रहरू प्रतिको ढल्काइ र वैचारिक अनुरागले गर्दा सत्य बोल्न नसकिरहेको परिस्थिति देशमा विद्यमान् छ ।

हिजो मानिएका हिरोहरूलाई वर्तमानमा आएर खुइल्याउने कामहरू भएका छन् । पृथ्वीनारायण शाह, भीमसेन थापा र जंगबहादुरहरूलाई उनीहरूकै कालखण्ड सापेक्ष तवरले नहेरेर वर्तमानको चस्मा लगाएर हेर्ने नेपालीहरूको आग्रही बानीले गर्दा हिजोको स्थापित मान्यताहरू समेत धुलिसात बनाउने काम भएका छन् । यसो हुन गएर इतिहास नै बाङ्गिने सम्भावना आउँदै गरेको देखियो । गर्नै नहुने मुद्दा र क्षेत्रमा समेत विवादका शृङ्खलाहरू सुरू भएका छन् । मानिसहरूको पहूँचमा सामाजिक सञ्जाल, गुगल, विकिपिडिया र कम्प्युटरकृत सबै साधन र सुविधाहरू ह्वात्तै बढेकाले अहिले कोही कसैबाट हेपिन चाहँदैनन् । फलतः देश, प्रदेश, जिल्ला, पालिका र गाउँमा समेत मानिसको चेतना आकासिएको छ । हिजोका मानिसहरू विगताकाङ्क्षी थिए भने अहिलेका मानिसहरू पोष्ट मोडर्न युगमा बाँचेका मानिसहरू भन्न लजाउँदैनन् र चित्त नुबुझेका कुराहरूमा ठाउँका ठाउँ ह्वाई भन्छन् ।

यसो हुनुमा मुलुकमा करिब तीस/चालीस वर्ष अघिदेखि विभिन्न क्षेत्र र विषयका एन्जिओ र आइएन्जिओहरूले मुलुकीहरूका दिमागमा चेतना भर्ने काम गरेका छन् । अझ कतिपय सवालमा त चेतनाको खाँचो पउल रहिरहेको थियो भने राजनीतिक पार्टी र एन्जिओहरूले उत्तेजना भर्ने काम गरेका छन् । विदेश र वैदेशिक रोजगारीमा पकड भएपछि संसारलाई नेपालीहरूले आफ्नै घर करेसाबाट चिहाउन थालेका छन् । त्यसैले अहिले भन्न थालिएको छ सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनहरूले क्रमशः बद्लिँदो नेपाल र फेरिँदा नेपालीको चित्र देश र विश्वसामु ल्याएको छ । यो कुरा क्रमशः अब जेष्ठ र वरिष्ठ हुँदै गएको सबै क्षेत्रको पुस्ताले अनुभूत गरेर नयाँ पुस्तामा शक्ति, सत्ता र संस्कृति हस्तान्तरण गरेनन् भने फेरि देश कुनै ठूलो दुर्घटनाको सिकार हुन बेर लाग्दैन । सबैमा चेतना भया ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४