अधिकृतहरुका अनुसार सञ्चालकको ‘स्याम्सुङ एस २०’ मोबाइल पनि लगेपछि चाहिँ उनलाई खनतलासी लिने टोलीमाथि शंका लागेछ । प्रहरी बताउने व्यक्तिले उनको घडी पनि बाँकी राखेका थिएनन् । उनको ग्लोबल आईएमई बैंकको खाताबाट ई–सेवामा १० हजार रुपैयाँ हाल्न लगाएका थिए । कुमारी बैंकको खाताबाट पनि १७ सय रुपैयाँ निकाल्न लगाए भने स्टार सेभिड एण्ड क्रेडिट लिमिटेडको खातामा रहेको ३५ सय रुपैयाँ पनि गरी ६५ हजार रुपैयाँ लगेको प्रहरीले जनाएको छ ।
‘पैसा मात्र लगेको भए, सञ्चालक चुपचाप नै बस्ने थिए होलान्, तर महँगो मोबाइल पनि लगेपछि उनले प्रहरीकहाँ खबर गरे’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘महानगरीय प्रहरी वृत्त, जनसेवामा उजुरी परेपछि अनुसन्धान थालेका थियौं ।’
सुराकी पनि लुटेरा
जनसेवामा रहेको अपराध महाशाखाको टोली अनुसन्धान गरिरहेका थियो । तर घटनामा प्रहरी अधिकारीहरुकै संलग्ना देखिएपछि महाशाखा बानेश्वरको टोलीले पनि छानबिन अघि बढायो । त्यसक्रममा घटनामा दुई जना प्रहरीसँग जोडिएका व्यक्ति मात्र पक्राउ परेनन्, प्रहरीलाई सुराकीका रुपमा सघाउँदै आएका शंकर रेग्मी पनि पक्राउ परे ।
धादिङको धुनेवेसी नगरपालिका-३ का रेग्मी बसपार्कतिर बस्दै आएका थिए । त्यहीको स्थानीय प्रहरीलाई विभिन्न अपराधको सुराक पनि दिने गरेका थिए । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘प्रहरी भएपछि जवान सुवास र पूर्वप्रहरी धितालबीच चिनजान भयो, उनीहरुबाटै रेग्मी पनि समूहमा जोडिए ।’
धितालले लागूऔषध सेवन पनि गर्ने भएकाले सेवनकर्ताहरुलाई प्रयोग गरेर लुटपाट मच्चाएको पाइएको अधिकृतहरु बताउँछन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनीहरुले यसअघि पनि यही शैलीबाट फोर्मेसीमा लुटपाट मच्चाएको हुनसक्ने देखिएको छ । तर, फर्मेसी पनि अवैध काममा संलग्न भएकाले उजुरी नपरेको हुनसक्ने अनुसन्धान अधिकृतहरुको आशंका छ ।
८ जना पक्राउ
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार घटनामा संलग्न रहेको अभियोगमा ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । पक्राउ पर्ने व्यक्तिहरुको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको उनले जन प्रहार डटकमलाई बताए ।
प्रहरी, पूर्वप्रहरी र सुराकीसहित पक्राउ पर्ने अन्यमा डडेल्धुराका हिक्मत महता, कञ्चनपुरका मिलन बोहोरा, पाँचथरका लिम्बु भन्ने भविन्द्र बेगा, दैलेखका जीवन भन्ने योगेन्द्रबहादुर चन्द र प्यूठानका भिटेन, संगीत थापा भनिने कमल सुनार छन् ।
उनीहरुविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको कुँवरले बताए । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लुटेर समूहबीच पनि विवाद रहेको देखिएको छ ।
‘८ जनामध्ये प्रहरी जवान रतोकीले एक लाखको मोबाइल लगेछन्, पूर्वप्रहरीले घडी लगेका रहेछन्’ ती अधिकृतले भने, ‘कसैले १६ हजार त कसैले १५ सय लिएको पाइएको छ ।’ प्रहरीका सुराकी रेग्मीलाई २५ सय रुपैयाँ दिने भनिएपनि उनले पाएका थिएनन् ।
