Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साढे ६ महिनाको प्रयासमा नेपाल फर्काइए ३ सम्पदा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 8.6K
    SHARES

  • ५४ वटा फर्काउने प्रक्रियामा

असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा रहेको दुईवटा र तिब्बत हाउस ग्यालरीमा रहेको एउटा मूर्ति र काष्ठकला सोमबार नेपाल ल्याइएको हो ।

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरिएका ३ सम्पदा करिब साढे ६ महिनाको प्रयासपछि नेपाल फर्काइएको छ । गत असोज ४ गते पूरातत्व विभागमा परेको उजुरीको आधारमा फिर्ताको पहल थालिएको अमेरिका न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टमा रहेको दुईवटा र तिब्बत हाउस ग्यालरीमा रहेको एउटा मूर्ति र काष्ठकला सोमबार नेपाल ल्याइएको हो ।

फिर्ता गरिएका सम्पदाहरुमा ओम बहालस्थित न्हुँच्छे बहाःबाट चोरिएको मल्लकालीन ध्यान मुद्रामा रहेको प्रस्तरको बुद्ध मूर्ति, ललितपुरको यम्पी महाविहारको प्रवेशद्वारमाथि रहेको काठको कलात्मक तोरण र इटुम्बहालबाट चोरिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला बुधबार पुरातत्व विभागमार्फत् राष्ट्रिय संग्रहालयलाई हस्तान्तरण गरिएको हो ।

राष्ट्रिय अभिलेखालयको सभाहलमा भएको कार्यक्रममा रुबिन म्युजियम अफ आर्ट न्यूयोर्कका कार्यकारी निर्देशक डा. जोरिट बित्स्च्गी र क्युरेटर एडमिनिस्ट्रेसन एण्ड कलेक्सनकी निर्देशक मिचेल बेन्नेट सिमोरेल्लाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेलाई मूर्ति तथा काष्ठकला हस्तान्तरण गरे । त्यस्तै, काठको कलात्मक तोरण १७ औं शताब्दीको मानिएको छ । जसको मूल्य एक लाख १० हजार रुपैयाँ तोकिएको थियो भने १४ औं शताब्दीको मानिएको उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकलाको मूल्य २२ हजार रुपैयाँ मानिएको थियो । यद्यपि यसको लागि चाहिने सबै खर्च रुबिन म्युजियमले व्यहोरेको विभागकी सूचना अधिकारी सुभद्रा भट्टराईले जानकारी दिइन् ।

असोज ४ गते यी सम्पदाहरु अमेरिकी म्युजियममा रहेको भन्दै निवेदन परेपछि पूरातत्व विभागले कूटनीतिक प्रक्रियामार्फत् आफ्नो दाबी पेस गरेको थियो । आवश्यक प्रमाण प्राप्त गरेपछि रुविन म्युजियमले आफ्नै लगानीमा ती मूर्ति नेपाल फर्काउन तयार भएको विभागले जनाएको छ ।फिर्ता गरिएका सम्पदामध्ये प्रस्तरको बुद्धमूर्ति १३ औं शताब्दीको मानिएको छ । जसलाई म्युजियमले फिर्ता गर्ने बेलामा ३० हजार अमेरिकी डलर मूल्य तोकेको थियो ।


ती मूर्तिलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिने र सम्बन्धित स्थानीय तहले सुरक्षाको प्रत्याभूति दिलाएपछि सम्बन्धित ठाउँमा प्रतिस्थापन गरिने विभागका महानिर्देशक दामोदर गौतमले जन प्रहार डटकमलाई  जानकारी दिए ।

  • ७६ मूर्ति फर्काइए, ५४ वटा ल्याउने तयारी

झण्डै तीन दशकअघि लैनसिंह वाङ्देलले हराएका मूर्तिहरूको सूची तयार पारेर प्रकाशित गरेको ‘स्टोलन इमेजेज् अफ नेपाल’ नामक पुस्तकमा त्यति बेलासम्म २२७ वटा मूर्ति हराएको उल्लेख थियो । जसमध्ये अहिलेसम्म ७६ वटा चोरिएका मूर्ति कूटनीतिक प्रक्रियामार्फत् फर्काइसकेको पुरातत्व विभागले जनाएको छ । जसमध्ये बेलायतबाट १९ थान, अष्ट्रियाबाट १ थान, अमेरिकाबाट १४ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ थान, जर्मनीबाट १ थान मूर्ति फिर्ता ल्याइएको विभागका महानिर्देशक गौतमले जानकारी दिए । यी मूर्तिहरु २०५१ सालदेखि हालसम्म फिर्ता गरिएको हो ।

२०५१ सालमा अमेरिकाबाट फिर्ता ल्याइएका ४० वटा मूर्ति राष्ट्रिय संग्रहालयमा राखिएको छ । त्यस्तै, चोेरी गरी जर्मनी पु¥याइएका उमा महेश्वरको मूर्ति जर्मन सरकारले २०५६ सालमा फिर्ता गरेको थियो । त्यसलाई अहिले पाटन संग्रहालयमा राखिएको छ । १२ औं शताब्दीको उक्त मूर्ति धुलिखेलबाट हराएको थियो । २०५३ साल असार १० गते बेलायतबाट फर्काइएका १९ थान मूर्ति हाल राष्ट्रिय संग्रहालयमा राखिएको छ । डोल्पा जिल्लाको यन्सेर जांचुमलिं गुम्बाबाट चोरी भई ल्हासा तिब्बतबाट बरामद भएको जम्मा २८ थान मूर्तिहरू फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा पठाएको र संग्रहालयबाट पुनः डोल्पामा पठाइएको छ । यो मूर्ति २०६४ असार १३ गते फिर्ता ल्याइएको थियो ।

२०५९ सालमा अष्ट्रियाबाट फिर्ता भएको दीपंकर बुद्धको मूर्ति पनि अहिले सम्बन्धित ठाउँमा राखिएको छ । २०५६ साल भदौ २५ गते अमेरिकाको म्युजियमबाट फिर्ता भएको गरुडासन विष्णुको मूर्ति काठमाडौंको जैसीदेवलबाट चोरी भएको थियो । सो मूर्ति पनि अहिले फिर्ता भएको विभागको क्युरियो शाखाले जनाएको छ । यसबाहेक पाटनको किलबहालबाट चोरी भएको बुद्धको मूर्तिहरू पनि प्राप्त भएको छ । १२ औं शताब्दीमा बनेको ब्रह्माको मूर्ति मृगस्थलीबाट सन् १९८० को दशकमा हराएको, फर्पिङबाट चोरी भएको सरस्वती, पनौतीबाट चोरी भएको सूर्य आदिको मूर्ति सम्बन्धित देशबाट फिर्ता गरेर राष्ट्रिय संग्रहालयमा राखिएको छ ।


२०७४ साल चैत २१ गते अमेरिकाको द मेट्रोपोलिटन म्युजियम अफ आर्ट नेटवर्कमा रहेको कालो प्रस्तरको बुद्धको मूर्ति (स्थानक) एक थान र प्रस्तरको उमामहेश्वरको मूर्ति एक थान पुरातत्व विभागलाई फिर्ता गरी सोही दिन राष्ट्रिय संग्रहालयमा पठाइएको विभागले जनाएको छ । त्यस्तै, विभिन्न मुलुकका ५४ वटा मूर्ति छिट्टै फिर्ता गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी भट्टराईले जन प्रहार डटकमलाई जानकारी दिइन् । जसमध्ये तीनवटा मूर्ति अमेरिकाको विभिन्न म्युजियमबाट नेपाली कूटनीतिक नियोगमा फिर्ता ल्याइसकिएको छ ।

जसमा गाहिटीको उमामहेश्वरको मूर्ति, कंकेश्वरीको शिवको मूर्ति र पशुपतिको चतुर्मुखी शिवलिंग सरकारले बजेट निकासा गर्नेबित्तिकै नेपाल फर्काउन तयारी अवस्थामा रहेको भट्टराईले जन प्रहार डटकमलाई जानकारी दिइन् । यस बाहेक फ्रान्स, बेलायतलगायतका मुलुकमा पनि नेपालबाट चोरिएका मूर्ति फेला परेका छन् । ती मूर्तिलाई पनि नेपाल ल्याउने प्रक्रिया चलिरहेको विभागले जनाएको छ । जसमा तलेजुको कण्ठीहार, भक्तपुरको वीरभद्रेश्वर मन्दिरबाट हराएको ताराको मूर्ति लगायत छन् ।

  • के हो मूर्ति फर्काउने प्रक्रिया ?

सन् १९७० मा भएको ‘सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयात, निर्यात र स्थानान्तरणको निषेध र रोकथाम सम्बन्धी महासन्धि’ले चोरी निकासी भएका यस्ता सम्पदाहरु विना क्षतिपूर्ति र खरीद गरेर लगेको प्रमाण भए क्षतिपूर्ति दिएर फिर्ता गर्न सक्ने व्यवस्था गरेको छ । महासन्धिको दफा ७ ले राष्ट्रिय कानुनको अधीनमा रही गैरकानुनी रूपमा अर्को मुलुकमा निर्यात गरिएका सांस्कृतिक सम्पत्ति प्राप्त गर्नेबारे मूल राज्यलाई अर्को राज्यले सूचना दिनुपर्ने उल्लेख गरेको छ ।

अर्थात् उक्त महासन्धिको पक्ष राष्ट्रमा नेपालको मूर्ति वा अन्य सांस्कृतिक वस्तु निकासी भएको जानकारी भएमा सम्बन्धित देशले नेपाललाई जानकारी गराउनुपर्छ । प्रतिष्ठित संग्रहालयहरूले आफ्नो प्रतिष्ठा नघटोस् भन्नका लागि पनि चोरी भएको दाबी गरिएका मूर्तिहरू प्रमाण पुगेमा फिर्ता गर्छन् । त्यसको लागि विभागले आफैंले पाएको सूचना वा विभागमा परेको निवेदनको आधारमा ती म्युजियमा दाबी पेश गर्ने गर्छ । दाबी गर्दा नेपालबाट लगिएको हो भन्ने प्रमाण साथमा पठाउनुपर्छ । यसरी दाबी पेश गरेपछि मूर्ति फिर्ता गर्ने कि नगर्ने भन्ने कुरा नेपालको पहल र सम्बन्धित देशको नीतिमा पनि भर पर्छ ।

अमेरिकाले प्रमाण पुगेको हदसम्म चोरी गरेर लगिएका मूर्तिहरू सम्बन्धित मुलुकलाई नै फिर्ता गर्ने गरेको छ भने अन्य मुलुकबाट फिर्ता लिन त्यति सहज नभएको पुरातत्वका अधिकारीहरू बताउँछन् ।

  • कुन समयमा चोरिए महत्वपूर्ण मूर्ति ?

लैनसिंह वाङ्देलले तयार पारेको हराएका मूर्तिहरूको सूचीमा दोस्रो शताब्दीदेखि अठारौं शताब्दीसम्मका मूर्तिहरू समावेश छन् । जस्तै, पशुपतिको वत्सलेश्वरीमा रहेको नारी शक्तिको मूर्ति १९६० को दशकमा हराएको हो । जसलाई इसाको दोस्रो वा तेस्रो शताब्दीको मूर्ति मानिएको छ । पशुपतिकै भुवनेश्वरी मन्दिर क्षेत्रबाट सन् १९८६ मा हराएको उभिएको मुद्रामा रहेका विष्णुको मूर्ति अहिले कहाँ छ, जानकारी छैन । वाङ्देलले यसलाई पाँचौं शताब्दीमा कुँदिएको मूर्ति मानेका छन् ।

सातौं शताब्दीको मूर्ति मानिएको चाबहिल स्तुपामा रहेको नागराजको मूर्ति पनि १९७० सालमा चोरी भएको थियो । यी केवल चोरी भएका प्राचीन एवं लिच्छविकालीन मूर्तिहरूको उदाहरण मात्रै हुन् । यस्तै २५० भन्दा बढी मूर्तिहरूको सूची उनले आफ्नो पुस्तकमा समावेश गरेका छन् । वाङ्देलले पुस्तक प्रकाशन गरेपछि अहिलेसम्म कति मूर्तिहरू हराए भन्ने यकिन छैन । मूर्ति हराएपछि आएको उजुरीलाई आधार मानेर पुरातत्व विभागले तथ्यांक तयार पारे पनि सबै मूर्ति हराएको बारेमा उजुरी नआउने भएकोले तथ्यांक पाउन मुश्किल छ ।

सन् १९६० देखि ८० को दशकमा नेपालबाट झण्डै ५०० को हाराहारीमा प्राचीन, मध्यकालीन र शाहकालीन मूर्तिहरू हराएको विभागको आकलन छ ।

तस्वीरहरु : जन प्रहार डटकम 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४