मुलुकमा भएको जनयुद्धको ऐना हो, थबाङ । दशवर्षे जनयुद्धको मनोदशाको चित्रण हो । किनभने थबाङको बीचबाटोमा भेटिएका हरेक मानिससँग जनयुद्धका तीता भोगाइ छन् । युद्धका आ-आफ्ना कथा व्यथा छन् ।
दाङ । सशस्त्र द्वन्द्वको बेला माओवादीको आधार इलाका मात्र होइन, क्रान्तिको लालकिल्ला मानिन्थ्यो, रोल्पाको थबाङ । थबाङले दिएको आश्रयमा प्रचण्ड, डा. बाबुराम भट्टराई लगायतका माओवादी नेताहरुले जनयुद्धको रणनीति बनाए । थबाङलाई नै आधार बनाएर शुरु भएको सशस्त्र जनयुद्ध मुलुकभर फैलियो र १० वर्षसम्म चल्यो ।
स्वयं थबाङवासीहरु माओवादी जनयुद्धमा होमिए र शिखरमा पुर्याए भन्दा पनि हुन्छ । राज्य र विद्रोही पक्षबीचको लडाइँले युद्धभूमिमा परिणत भएको थबाङ अहिले भने शान्त छ । कुनै समय बन्दुक र गोला बारुदका गन्ध मात्र आउने थबाङका गाउँबस्तीमा १५ वर्षयता हिंसात्मक गतिविधि भएका छैनन् ।
- माओवादीको आधार इलाका
जनयुद्ध शुरु हुनुअगावै माओवादीले रोल्पा र रुकुमलाई आधार बनाएर क्रान्ति गर्ने तयारी गर्दै विभिन्न अभियान चलाइरहेको थियो । २०५० सालदेखि नै माओवादीले रोल्पालाई आधार इलाका बनाउने रणनीति थाल्यो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले २०५२ सालमा ‘अप्रेसन रोमियो’ शुरु गर्यो । जसले माओवादी विद्रोह बढाउन सघाउ पुगेको मानिन्छ ।
युद्धमा आफन्त र आफ्ना मान्छे गुमाउँदाको पीडा थबाङवासीसँग छ । द्वन्द्वले बनाएको आलो घाउ थबाङवासीले केही गरी बिर्सन सक्ने छैनन् । न राज्यले नै त्यसको परिपूर्ति गर्न सक्नेछ ।
माओवादीले आधार इलाका बनाएपछि थबाङमा सरकारले सुरक्षाफौज पठायो । सुरक्षाकर्मीले थबाङबासीलाई विद्रोहीको नजरले हेर्न थाल्यो । आफूहरुमाथि प्रहरीको ज्यादती बढ्न थालेको उनीहरुले महसुस गर्न थाले । जसका कारण राज्यपक्षमाथि क्रुद्ध बन्दै थबाङवासीले माओवादी विद्रोहलाई सघाउन थाले ।
‘थबाङ इतिहास नै कहिले अन्याय नसहने छ,’ थबाङका कम्युनिष्ट नेता जयप्रकाश बुढा भन्छन्, ‘सत्ताले जब-जब अन्याय गर्न खोज्यो, तब-तब थबाङ सधैं त्यसको विरुद्धमा विद्रोह गर्न तयार भयो ।’ क्रमशः माओवादी बढेपछि थबाङ आधार इलाका बन्न पुग्यो ।
माओवादीको आधार इलाका भएकाले सुरक्षाफौजको नजर सधैं थबाङमा हुन्थ्यो । त्यही कारण युद्धकालीन अवधिभर थबाङमा पटक-पटक सैन्य अपरेसन भए । ‘राज्यका सुरक्षाफौजको तारोमा गाउँलेहरु पर्न थाले,’ कम्युनिष्ट नेता बुढा भन्छन्, ‘पटक-पटक गाउँलेमाथि ज्यादती बढेपछि यसले विद्रोहको रुप लियो । सुरक्षाफौजका ज्यादतीबाट गाउँलेहरू सत्तासँग आक्रोशित भए । त्यसले जनयुद्धलाई ठूलो रुप दिन सघाउ पुर्यायो ।’
उनकाअनुसार त्यसबेला सुरक्षाफौजको मानसिकता यस्तो थियो कि उनीहरु थबाङलाई माओवादीको गाउँ भन्थे । ‘युद्ध चर्किंदै गएपछि गाउँमा बस्ने अवस्था आएन,’ थबाङका युवा व्यापक बुढा सम्झन्छन्, ‘कतिबेला प्रहरी र सेनाबाट मारिने हो वा बेपत्ता पारिने पत्तो नहुने राज्यको दमन बढेपछि कि जनयुद्धमा लाग्नुपर्ने भयो कि गाउँ छाडेर भाग्नुपर्ने भयो ।’ ज्यान जोगाउनुपर्ने अवस्था आएपछि थुप्रै युवाले विद्रोहले बाटो समातेको र केहीले भने गाउँ नै छाडेको उनी बताउँछन् ।
- शान्तिपछिको थबाङको नयाँ रुप
२०५२ सालमा शुरु भएको माओवादी सशस्त्र द्वन्द्व एक दशक चल्यो । २०६३ मंसिर ५ गते सरकारसँग भएको शान्ति सम्झौतापछि माओवादीले बन्दुक बिसायो । मुलुकमा संविधानसभाको निर्वाचन भयो । संविधानसभाले मुलुकबाट राजतन्त्र हटाएर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निर्णय गर्यो ।
युद्धका क्रममा थबाङमा मात्रै ३३ जनाले ज्यान गुमाए । माओवादीको आश्रयस्थल भनिएकाले युद्धकालमा राज्यपक्षको निशानामा यहाँका बासिन्दा परेको थबाङ गाउँपालिका-५ का वडाध्यक्ष वसन्त रोका मगर बताउँछन् । ‘थबाङमा त्यस्तो कोही छैन, जोसँग युद्धको घाउ नभएको होस्,’ उनी भन्छन्, ‘युद्धमा हरेकले परिवारले कोही न कोही, केही न केही गुमाएका छन् ।
युद्धमा आफन्त र आफ्ना मान्छे गुमाउँदाको पीडा थबाङवासीसँग छ । द्वन्द्वले बनाएको आलो घाउ थबाङवासीले केही गरी बिर्सन सक्ने छैनन् । न राज्यले नै त्यसको परिपूर्ति गर्न सक्नेछ ।
१० वर्षसम्म कहिले जंगलमा लुक्दै त कहिले युद्धमा सरिक हुँदै हिँड्न बाध्य भएका थबाङका बासिन्दाको दिनचर्या हिजोआज भने पूरै बदलिएको छ ।
एक दशकसम्म जंगलमा लुकेर र भागेर हिंड्न बाध्य भएका यहाँका बासिन्दा शान्ति सम्झौतापछि सामान्य जीवनमा फर्किएका छन् ।
नयाँ संविधान जारी भएसँगै मुलुक संघीयताको अभ्यासमा छ । मुलुकका अन्य भूभागमा जस्तै थबाङमा विकास र अन्य आर्थिक गतिविधि भइरहेका छन् । नमुना शान्ति गाउँ, होमस्टे, गुरिल्ला ट्रेकिङ, शहीद मार्ग जस्ता विकासका कार्यक्रमले युद्धले छियाछिया बनेको थबाङको मुहार नै फेरिएको थबाङ होम स्टे समितिका अध्यक्ष धपलाल पुन बताउँछन् ।
‘युद्धले क्षति मात्रै होइन विकास पनि ल्याएको छ,’ उनले भने, ‘जनताको जीवनस्तर नै बदल्ने परिवर्तन नआएपनि विगतको थबाङ हेरेर अहिले केही विकास भएको भन्न सकिन्छ ।
राज्यबाट जहिल्यै उपेक्षित थबाङमा शान्ति प्रक्रियापछि बाटो पुगेको छ । माओवादी नेतृत्वमा शुरु भएको शहीद मार्गले दाङ-रोल्पालाई जोडेको छ । त्यसअघि बाटो नपुगेको थबाङमा अहिले गाडीसम्म पुग्न थालेपछि सहज भएको पुनले बताए ।
यता शान्ति नमुना गाउँ अन्तर्गत अहिले थबाङको ठूलो गाउँमा सडकमा ढुंगा बिछ्याइएका छन् । बस्तीका सडकमा विछ्याएका ढुंगा हरेक घरसँग जोडिएका छन् । युद्धमा ज्यान गुमाएका शहीदको सम्झनामा शहीद स्मारक पार्क निर्माण गरिएको छ ।
आन्तरिक र वाह्य पर्यटन भित्र्याउन गाउँमै १२ वटा होमस्टे सञ्चालन गरिएको अध्यक्ष पुन बताउँछन् । ‘रोल्पा प्राकृतिक सम्पदाले सम्पन्न छ । नजिकै जलजला छ । पर्यटन प्रवर्द्धन गर्न थुप्रै सम्भावना छन्,’ उनी भन्छन्, ‘युद्ध अध्ययन क्षेत्रका रुपमा पनि विकास गर्न प्रशस्त्र ठाउँ छन् ।
थबाङ युद्धभूमिमा परिणत भएकाले यसबारे बुझ्न चाहने पर्यटकका लागि उचित गन्तव्य बन्न सक्छ । माओवादी सशस्त्र द्वन्द्वका कथा सुन्न र द्वन्द्वग्रस्त संरचना हेर्न थबाङ पुग्नैपर्ने हुन्छ । यस अर्थमा मुलुकमा भएको १० वर्षे माओवादी जनयुद्धको ऐना हो, थबाङ । दशवर्षे जनयुद्धको मनोदशाको चित्रण हो । किनभने थबाङको बीचबाटोमा भेटिएका हरेक मानिससँग जनयुद्धका तीता भोगाइ छन् । युद्धका आ-आफ्ना कथा व्यथा छन् ।
