Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन महिनादेखि शव पर्खिरहेको लक्ष्मणको परिवार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ ८ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । तीन महिना भयो कैलालीकी गौरी सापकोटाका आँखा ओभानो नभएका । उनका आँखामा मृतक श्रीमान्को घरबाट बिदा हुँदाको तस्वीर नाचिरहन्छ, छिट्टै फर्किन्छु भनेर बिदा भएको क्षणले सताइरहन्छ ।

श्रीमती र छोराछोरीको भविष्यको खोजीमा स्वर्णिम सपनाको भारी बोक्दै करीब तीन महिनाअघि टर्की पुगेका गौरीका श्रीमान् लक्ष्मण सापकोटा उतै अस्ताए । घरबाट जाने बेलामा आमा, श्रीमती र छोराछोरीलाई छिट्टै फर्किआउने वाचा गरेर टर्कीर् हुँदै ग्रिसका लागि बिदा लिएका उनी उतै बिलाए । गौरीले श्रीमान्को अन्तिम सास महसुस गर्न पाइनन् नै, तीन महिना बितिसक्दा श्रीमान्को लाससमेत देख्न पाएकी छैनन् । सँगै उनका कलिला लालाबालाको भविष्य के हुने हो भन्ने चिन्ता थपिएको छ ।

३४ वर्षीया गौरीलाई श्रीमान् लक्ष्मणको लास भए पनि एक पटक छुन मन छ, अंगालो हाल्न मन छ । ‘सास त गयो गयो, लाससमेत देख्न नपाउनु भन्दै बिलौना गरिरहनुहुन्छ’ गौैरीका भतिजा गणेश सापकोटा भन्छन्, ‘तीन महिना भइसक्यो आँखामा आँसुका धारा बगेको ।’ सापकोटाको परिवार दुई महिनादेखि लक्ष्मणको शव पर्खेर बसेको छ । तर तीन महीना बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । ‘लाससमेत देख्न नपाउनु कति दुर्भाग्य, अरु केही गर्न नसकेपनि ग्रीसमा रहेको शव नेपाल ल्याई अन्तिम संस्कार नगरेसम्म कसरी मन सम्हालिन्छ’ मृतक लक्ष्मणका भतिज गणेश भन्छन् ।

शव ल्याइदिन गुहार गर्दै गणेश काठमाडौंको चक्कर लगाइरहेका छन् । कहिले वैदेशिक रोजगार विभाग, कहिले वैदेशिक रोजगार प्रवर्द्धन केन्द्र त कहिले वैदेशिक रोजगार कन्सुलर विभाग पुग्छन् । लक्ष्मणको शव र न्यायका लागि गणेश काठमाडौंमा दौडधुप गरिरहेका बेला परिवार कैलालीमा पीडाको भारीसँग शव आउने झिनो आश पालेर बसेको छ । छोराको लाससमेत नदेखी मर्छु कि भन्ने लाग्न थालेको छ, लक्ष्मणकी आमा नन्दकलीलाई ।

साउदी अरेबिया र यूएईमा रातदिन रगत-पसिना बगाउँदा पनि खासै कमाइ नभएपछि लक्ष्मण राम्रो कमाइ हुने देशको खोजीमा थिए । लक्ष्मणलाई गाउँकै डिल्लीराज सापकोटाले सुरज लिम्बूसित भेट गराइदिए । गाउँकै मान्छेले सुरजसँग भेट गराइदिएपछि उनी टर्कीको बाटो हुँदै ग्रीस जान तयार भए बाबुको माया र सहाराबिना नन्दकलीले दुःखको पहाड नै फोडेर छोराछोरी हुर्काएकी थिइन् । बुढेसकालको सहारा छोराले आफैंलाई छाडेर जाँदा आमाको मन कसरी सम्हालिएको होला ? छोराको साथ र काँध चाहिएको उनको बुढ्यौली आँसुँमा बितिरहेको छ । गणेश अगाडि भन्छन्, ‘न अंकल लक्ष्मण रहे न लास नै देख्न पाइएको छ, हजुरआमाको छट्पटी र बेचैनीले निकै पोल्छ,’ गणेश भन्छन् । छोरालाई टर्की पुर्‍याउनेहरुलाई कारबाही गरेर क्षतिपूर्ति पाउनुपर्ने माग छ नन्दकलीको ।

लक्ष्मणको शव नेपाल ल्याइदिनका लागि गणेशले वैदेशिक रोजगार प्रवर्द्धन सचिवालयमा दुईवटा निवेदन दिइसकेका छन् । तर, बोर्ड प्रक्रियामा छौं भन्दै आलटाल गरिरहेको छ । शव नेपाल ल्याइदिन भन्दै गणेशले मंसिर २ र पुस ५ गते गरी दुई पटक बोर्डमा निवेदन दिइसकेका छन् । लक्ष्मणलाई वैदेशिक रोजगारीमा ग्रीस पठाउने सुरज लिम्बू, टर्कीमा रहेका सुरज गुरुङ र अनिता गुरुङलाई कारबाही गरी क्षतिपूर्ति पाउनुपर्ने मृतक लक्ष्मणको परिवारको माग छ ।

साउदी अरेबिया र यूएईमा रातदिन रगत-पसिना बगाउँदा पनि खासै कमाइ नभएपछि लक्ष्मण राम्रो कमाइ हुने देशको खोजीमा थिए । लक्ष्मणलाई गाउँकै डिल्लीराज सापकोटाले सुरज लिम्बूसित भेट गराइदिए । गाउँकै मान्छेले सुरजसँग भेट गराइदिएपछि उनी टर्कीको बाटो हुँदै ग्रीस जान तयार भए । लक्ष्मण सापकोटाले गि्रस जाने सपना बुनिसकेका थिए । उनले आफन्त छरछिमेकबाट छ-सात लाख रुपैयाँ ऋण काढे । राम्रो कमाउने सपना बोकेर कैलालीबाट काठमाडौं र काठमाडौंबाट टर्की हान्निए ।

केही समयको टर्की बसाइपछि उनी ग्रीसतर्फ गइरहेका थिए, ग्रीसको कोमेतेनीमा दुर्घटना हुँदा उनको मृत्यु भयो । ऋण काढेर ग्रीस गएका लक्ष्मणको परिवारलाई ऋण र दिन दुवै लागेको छ । गणेश भन्छन्, ‘एकातिर ऋण तिर्नुछ, अर्कातिर छोराछोरीलाई पढाउनु पाल्नुछ । विदेश पठाइदिन्छु भन्दै ठगी गर्नेलाई कारबाही गरी हामीले लास पाउनुपर्छ ।’

‘अंकलको लास कहिले आउँछ बाबु’ भन्दै गौरी रुँदै कैलालीबाट गणेशलाई फोन गरिरहन्छिन् । तर गणेशले काम भइरहेको छ, आउँछ बाहेक केही भन्न सक्दैनन् । उनी आफैंलाई थाहा छैन लक्ष्मणको शव कहिले नेपाल आउँछ भनेर । हजुरआमा नन्दकली, काकी गौरीलाई सान्त्वना दिन उनी अब केही दिनमा आउँछ भनिरहन्छन् ।
गणेशले पीडा सुनाए, ‘काकी र हजुरआमाले लास कहिले आइपुग्छ भनेर भनिरहन्छन् । अब त लास हेर्न पाए हुन्थ्यो जस्तो लाग्न थालेको छ ।’

लक्ष्मणलाई टर्कीसम्म पठाउने एजेन्ट सुरज लिम्बू हुन् भने टर्कीबाट ग्रीस पठाउने सुरज गुरुङ र अनिता गुरुङ । टर्की हुँदै अवैध रुपमा ग्रीस छिर्ने बेला दुर्घटनामा चार नेपालीको मृत्यु भयो । दुर्घटनामा केही भने बाँच्न सफल भए । कैलालीको गौरीगंगा नगरपालिका-२ का लोकराज आचार्य र लक्ष्मण सापकोटा दुवै सँगै टर्की हुँदै ग्रीस गएका थिए । लोकराज दुर्घटनामा सामान्य घाइते भए उनी अहिले ग्रीसमै छन् । नेपालबाट टर्कीमा रहेको ‘अहमेट बेयदर’ नामक कम्पनीमा काम गर्ने भन्दै लक्ष्मण र लोकराज सँगै टर्की गएका थिए ।

टर्कीबाट अवैध रुपमा ग्रीस पठाउने एजेन्टका रुपमा काम गरिरहेका सुरज र अनिता गुरुङले ग्रीसमा डिल्लीराज सापकोटालाई उनीहरुको व्यवस्थापन गर्ने जिम्मेवारी  दिएका थिए । मृतक लक्ष्मणको ग्रीसमा रहेका अर्का व्यक्ति जीवलाल कँडेलसँग पनि सम्पर्क भएको उनका भतिजा गणेश बताउँछन् । ग्रीसमा भएको दुर्घटनामा लक्ष्मणसहित चार जना नेपालीको मृत्यु भयो । उनीहरुलाई ग्रीस पठाउने सुरज लिम्बू अहिले फरार भएका छन् । केही समयअघिसम्म सुरजसँग कुरा हुने गरेको भएपनि अहिले उनी बेपत्ता रहेको गणेशले जानकारी दिए ।

टर्कीमा रहेका सुरज र अनिता गुरुङले लक्ष्मणलाई ग्रीस पठाइसकेकाले आफूहरुको अब त्यसमा कुनै सम्बन्ध नरहेको बताइरहेका थिए । उनीहरु पनि अहिले सम्पर्कमा आउन छाडिसकेका छन् । ३८ वर्षीय लक्ष्मणका दुई छोराछोरी छन् । घरको आर्थिक अवस्थाका कारण उनी कहिले भारत, कहिले साउदी अरेबिया त कहिले यूएई जाने गरेका थिए । तर अब उनको मृत्युसँगै गौरी र उनका छोराछोरीको जिन्दगीको रंग नै उडेजस्तै भएको छ ।

लक्ष्मणको दुर्घटनामा परी मृत्यु भएको विषयमा एक महिनासम्म पनि परिवारमा जानकारी थिएन । दुर्घटना भएको थाहा भएपनि उनीसँगै दुर्घटनामा परेका लोकराज आचार्यले आफूहरु उपचार गराइरहेको भन्दै घरपरिवारलाई चिन्ता नगर्न भनिरहे । एक महिनासम्म उपचार गरिरहेको भन्दै लोकराजले सापकोटाको परिवारसँग झुट बोलिरहे । तर एक महिनासम्म पनि सापकोटासँग सम्पर्क हुन नसकेपछि आचार्यमाथि शंका गर्न थाले ।

सापकोटाको परिवारले समाचार भने नसुनेको होइन, तर आचार्यले लक्ष्मण उपचार गराइरहेकाले ढुक्क हुन भनेपछि केही शान्त बनेका थिए ।

ग्रीस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा मृतक नेपालीको फोटो राखेपछि सापकोटा परिवार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर फोटो मार्फत शवको पहिचान गरे ।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदी ग्रीसमा दुर्घटनामा परेका नेपालीहरुमध्ये दुई जनाको शव नेपाल ल्याउने प्रक्रिया भइरहेको बताउँछन् । ‘श्रम स्वीकृति लिएर टर्कीबाट ग्रीस हिँडेका लक्ष्मण सापकोटा र राजु लामाको शव नेपाल ल्याउन ७६ सय युरो डलर रकम पनि पठाइसकेका छौं, अब केही दिनमा शव नेपाल आइपुग्छ,’ उनले भने, ‘अवैधानिक रुपमा विना श्रम स्वीकृति जाँदा शव ल्याउन समस्या भएको हो, अब शव छिट्टै आउँछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४