Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसमा अब चौथो पुस्ता निर्णायक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १ २०७८
  • 2.6K
    SHARES

शर्मा र थापा निर्वाचित भएसँगै (२०६२/०६३ सालको जनआन्दोलनबाट उदाएको) चौथो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न सफल भएको छ । र, सभापतिपछिको शक्तिशाली पद महामन्त्रीमा चुनिएकाले उनीहरु नै निर्णायक हुनेछन् ।

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री निर्वाचित भएपछि विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको यात्रा आरम्भ भएका बताएका छन् ।

आफ्नो जितलाई रुपान्तरणको संज्ञा दिँदै शर्माले भनेका छन्, ‘यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले शुरुवात गर्ने यात्राको आरम्भ हो ।

शर्माले दिएको उम्मेदवारीको पृष्ठभूमिले पनि उनको जित व्यक्ति र गुटभन्दा माथि रहेकै पुष्टि हुन्छ । यदि गुटगत मत मात्रै पाउने हो भने शर्माको जित कल्पना बाहिर हुन्थ्यो । सभापतिमा दोहोरिएका शेरबहादुर देउवाको रोजाइमा नपरेका र डा. शेखर कोइरालाको समूहमा नअटाएका शर्मा, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । सभापतिको प्रतिस्पर्धामा पहिलो चरणबाटै बाहिरिएका सिंहले ३७१ मत मात्रै पाएकाले शर्माको जित पूर्वानुमान गर्न सकिन्नथ्यो ।

तर शर्माले सहजै जिते । महामन्त्रीमा खसेको ४,६८२ मतमध्ये शर्माले १,९८४ पाउँदा डा. प्रकाशशरण महतले १,५५६ मतमा सीमित भए । अर्थात् देउवाको प्यानलबाट उम्मेदवार बनेका पुराना र अनुभवी नेता महतलाई ४२८ मतले पछि पार्दै शर्मा निर्वाचित भएका हुन् ।

डा. शेखरको प्यानलमा परेका गगन थापाको जित भने स्वाभाविक थियो । नभन्दै, झण्डै दुई तिहाइ (३,०२३ मत) पाउँदै महामन्त्री निर्वाचित भए ।

शर्मा र थापा निर्वाचित भएसँगै (२०६२/०६३ सालको जनआन्दोलनबाट उदाएको) चौथो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न सफल भएको छ । र, सभापति पछिको शक्तिशाली पद महामन्त्रीमा चुनिएकाले उनीहरु नै निर्णायक हुनेछन् । देउवाकै प्यानलबाट उम्मेदवार  बनेर १,३९३ मत पाएका प्रदीप पौडेल, महामन्त्री पदको नतिजालाई पार्टीमा पुस्तान्तरणको रुपमा लिन्छन् ।

‘नेपाली कांग्रेसमा पुस्तान्तरण भएको छ । अब वैचारिक रुपान्तरणका निम्ति साथीहरुले प्रयास गर्नुहुनेछ, नेतृत्व लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु’, सञ्चारकर्मीसँग पौडेलले भने ।

बीपी कोइराला, गणेशमान सिंह, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरूले स्थापना गरेको कांग्रेसमा देउवाले दोस्रो पुस्ताको प्रतिनिधित्व गर्छन् । देउवाका समकालीन रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् ।

तर अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, दिलेन्द्रप्रसाद बडु, एनपी साउद जस्ता नेताहरुको पुस्तालाई उछिन्दै विश्वप्रकाश र गगन निर्वाचित महामन्त्री बने ।

कांग्रेसमा उनीहरू निर्वाचित महामन्त्री हुने तेस्रो नेता समेत बनेका छन् । १२ औं महाधिवेशनबाट प्रकाशमान सिंह र १३ औं महाधिवेशनबाट डा. शशांक महामन्त्री निर्वाचित भएका थिए । त्यसअघि कांग्रेसमा महामन्त्री सभापतिले मनोनीत गर्थे ।

  • नेताले रोक्ने खोजे, कार्यकर्ताले बुइ चढाए

अघिल्लो पुस्ताका डा. रामशरण महत, बालकृष्ण खाँण, एनपी साउद र ज्ञानेन्द्रबहादुर कार्कीले आकांक्षा राखेपनि महामन्त्रीको उम्मेदवार बन्न नपाएको महाधिवेशनबाट शर्मा र थापा निर्वाचित हुनुमा उनीहरुले देखाएको विद्रोहको हिम्मत नै हो । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले सहमहामन्त्री बन्न देउवाले गरेको आग्रह अस्वीकार गरेका थिए ।

गएको २४ भदौमा सुन्दरीजल पुगेर महामन्त्री पदको उम्मेदवार बन्ने घोषणा गरेका शर्माले बलियो प्यानलबाट उम्मेदवार बन्न पाएकाले उम्मेदवार फिर्ता लिने कतिपयको अनुमान थियो । तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देउवासँग सहकार्य गर्दै प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएकाले पनि शर्मा पछि हटेनन् ।

२०५७ सालमा शर्मा नेविसंघको सभापति हुँदा पौडेल महामन्त्री थिए । देउवा र सिटौलाले आफू भन्दा जुनियरलाई अगाडि बढाएपछि शर्मा सिंहको प्यानलबाट उम्मेदवार बने । देउवा र सिटौलाको बार भत्काउँदै पार्टी महामन्त्रीमा निर्वाचित भए ।

एउटै जिल्ला झापाका सिटौलाले १२ औं महाधिवेशनमा पनि शर्मालाई अगाडि बढ्न रोकेका थिए । सिटौलाले उद्धव थापालाई जिल्ला सभापतिको उम्मेदवार बनाएर शर्मालाई हराए । १३ औं महाधिवेशनमा भने देउवाको प्यानलबाट केन्द्रीय सदस्य बन्दै शर्माले २५ पुस २०७५ मा पार्टी प्रवक्ताको जिम्मेवारी पाए ।

यो महाधिवेशनबाट थापा प्रदेश–१ को सभापति निर्वाचित हुँदा शर्मा भने सिटौलाकै राजनीतिक जीवनमा पाएको ठूलो पद महामन्त्री बने । अझ नेतृत्वको मन जितेर सिटौला मनोनीत महामन्त्री बन्दा शर्मा भने महाधिवेशनबाटै निर्वाचित नेता बने ।

शर्मा भन्दा अझ अगाडि गगन नेतृत्वको दौडमा थिए । पुराना र प्रभावशाली नेताहरुसँग प्रतिस्पर्धा गर्दै गगन, १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । त्यसबेला ३३ नकटेका थापाले २५ जनाको कोटामा खुला प्रतिस्पर्धामा पहिलो नम्बरको मत पाएका थिए ।

उम्मेदवार बन्ने हिम्मतलाई महाधिवेशन प्रतिनिधिले अनुमोदन गर्दा अर्जुननरसिंह केसी, गोपामान श्रेष्ठ, कुलबहादुर गुरुङ, रामकृष्ण ताम्राकार, डा. रामशरण महत, खुमबहादुर खड्का, बलबहादुर केसी, दिलबहादुर घर्ती, नरेन्द्रविक्रम नेम्वाङ, नरहरि आचार्य, प्रदीप गिरी, बालकृष्ण खाणहरुसँगै थापा केन्द्रीय सदस्य बने ।थापाले पार्टीभित्र र राष्ट्रिय राजनीतिक हैसियत दोस्रो जनआन्दोलनकै क्रममा बनाएका थिए । २०५९ मा नेविसंघका महामन्त्री रहेका थापाले तत्कालिन पार्टी नेतृत्व भन्दा अगाडि बढेर गणतन्त्रको नारा लगाए । राजद्रोहको मुद्दा खेपे, जेल बसे । त्यही आन्दोलनले राजतन्त्र अन्त्य गरेपछि थापा राष्ट्रिय राजनीतिमा सुनिने नेता बने ।

पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थापाले २०७० र २०७४ को निर्वाचन काठमाडौं–४ बाट जिते । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २०७३ मा स्वास्थ्यमन्त्री बनेका थापाले २०७४ को चुनावमा वाम गठबन्धनको उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरे । देशभर वाम लहर चल्दा चुनाव जित्ने २३ जनामा गगन पनि परे । सांसद्, पार्टी र सत्तामा आफ्नो राजीनितिक हैसियत बनाइसकेका थापाले १३ औं महाधिवेशनमा अर्को हिम्मत गरे ।

सिटौलाको प्यानलमा रहेर थापाले महामन्त्रीको चुनाव लड्दा प्रतिस्पर्धी थिए, अर्जुननरसिंह केसी र डा. शशांक कोइराला । शशांक बीपी पुत्र भएको सुविधा उपयोग गर्दा महामन्त्री निर्वाचित हुँदा गगनले सम्मानजनक मत पाए । शशांकले १,४१७ मत र अर्जुननरसिंहले १,०१७ मत पाउँदा गगनले ५८४ मत पाएका थिए । अर्जुननरसिंह नाताले गगनका ससुरासमेत हुन् ।

१३ औं महाधिवेशनमा पाएको मत र उक्लदो राजनीतिक हैसियतका कारण पनि थापा यसपटक महामन्त्रीका स्वाभाविक उम्मेदवार थिए । नभन्दै अघिल्लो पटक सिटौलाको प्यानलमा रहेका थापा यसपटक डा. शेखरको समूहमा पहिलो रोजाइका महामन्त्रीको उम्मेदवार बनेर, जिते ।

राजनीतिक विश्लेषक जुगल भुर्तेल, यो महाधिवेशनले नेतृत्वको प्याराडाइम सिफ्ट नगरेपनि भविष्यको नेतृत्वमा चौथो पुस्तालाई अगाडि बढाएको बताउँछन् । ‘मूल नेतृत्वमा पुरानै नेतालाई निरन्तरता दिएर उथलपुथल त गरेन, तर पुरानै मान्छेहरुबाट कांग्रेस चल्दैन भनेर चौथो पुस्तालाई तयारी गर्ने जनादेश दियो’, उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४