मंगलबार साँझ उनले भारतीय समकक्षी मनोज मुकुन्द नरभणेसँग भेटवार्ता गरेका थिए । सन् १९५० देखि एकअर्काको देशमा मानार्थ सेना प्रमुखको सम्मान दिने चलन रही आएको छ । त्यसअनुसार नरभणेले २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिइसकेका छन् ।
शर्मा भारतीय सेनाको मानार्थ महारथीको सम्मान पाउने नेपाली सेनाका १५ औं सेनापति हुन् । नेपालबाट १९६९ मा प्रधानसेनापति सुरेन्द्रबहादुर शाहले पहिलो पटक भारतीय सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी चिह्न पाएका थिए ।
त्यसयता सिंहबहादुर बस्न्यात, गुणशमशेर जबरा, सिंहप्रताप शाह, अर्जुननरसिंह राणा, गडुल शमशेर जबरा, धर्मपालवरसिंह थापा, प्रज्वल शमशेर जबरा, प्यारजंग थापा, रूक्माङ्गद कटुवाल, छत्रमानसिंह गुरुङ, गौरव शमशेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा गरी १४ जनाले मानार्थ महारथीको सम्मान पाइसकेका थिए।
भारतबाट पहिलो पटक जनरल केएम करिअप्पाले नेपालमा आएर मानार्थ महारथीको सम्मान लिएका थिए । त्यसयता नरभणेसहित १८ जनाले मानार्थ सेना प्रमुखको सम्मान लिइसकेका छन् ।
