काठमाडौं । नेकपा एमालेले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेको छ । मंगलबार (आज) पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोध्नुभएको हो ।
सांसदहरुलाई स्पष्टीकरण पत्र पठाइसकिएको पनि एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार सांसदहरुलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।
स्पष्टीकरण सोधिने मध्येमा माधव नेपाल, झलनाथ खनाल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल रहेका छन् ।
त्यस्तै, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, मुकुन्द न्यौपाने, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, हिराचन्द्र केसीलाई स्पष्टीकरण सोधिएको हाे ।
संघीय सांसदलाई पठाइएको पत्रमा छुट्टै राजनीतिक दलको अभ्यास गरेको भन्दै सोधिएको छ, ‘तपाईंलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशन गर्दछु ।’
यसका साथै सांसदहरुलाई सच्चिनका लागि यो ‘अन्तिम मौका’ भएको पनि उल्लखे गरिएको छ ।