काठमाडौं,/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच फागनु २१ गते तीन बुँदे सहमति भएर विप्लवलगायतका नेताहरु शान्तिपूर्ण राजनीतिमा आएको छ ।तर सो समूहसँग रहेका हतियारबारे भने तीन बूँदे सहमति मौन रहेको छ ।
जनसेना बनाएर जनयुद्ध जारी राखेको घोषणा गरेको पक्षसँग के कति सेना र हतियार थिए भन्ने विषयमा सहमति मौन रहेकाले त्यसले भोलि समस्या निम्त्याउने त होइन भन्ने चिन्ता व्यक्त गरिएको छ ।विप्लवसँग मुलधारको राजनीतिमा आएको घोषणासँगै विप्लव नेतृत्वको नेकपासँग हतियार र सेना कति थिए र ती कहाँ छन भनेर खोजी हुन थालेको छ ।
वि.स.२०७६ साल जेठ १३ गतेको प्रतिनिधिसभामा उभिएर गृहमन्त्री राम बहादुर थापाले तत्कालिन समयमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जनसरकार गठन गरेको र उसँग ४ कम्पनी सेना रहेको बताउनुभएको थियो ।
हिंसात्मक गतिविधि गर्न थालेपछि राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकारले अहिले प्रतिबन्ध फुकुवा गर्दै तीनबुँदे सहमति गर्यो ।विप्लवसँग सेना भएको जानकारी राखेको सरकाले सेनाको बारेमा मौन रहँदै सहमति गरेको छ ।
सेना बनाएको भए सेना निशस्त्र हुँदैन र त्यसको लागि हतियार पनि आवश्यक हुन्छ ।तर, आफूहरुसँग हतियार नै नभएको विप्लव नेकपाको दाबी छ ।
१० वर्षे शसस्त्र संघर्षबाट शान्ति प्रक्रियामा फर्केपछि तत्कालिन माओवादीले हतियारको कन्टेनरको चाबी संयसक्त राष्ट्रसंघलाई बुझाउदा १९ हजार ६ सय २ जना जनमुक्ति सेना प्रमाणिकरण रहँदा ३ हजार ४ सय २८ वटा हतियार बुझाएको थियो ।पछि तत्कालिन माओवादीका नेता डा. बाबुराम भट्टराइले क्यान्टोनमेन्टका हतियार बाहिर प्रचण्ड र वैद्य समूहले लुकाएको खुलासा गर्नुभएको थियो ।
द्वन्द्धकालीन समयको हतियार नै विप्वलवसँग रहेको आशंका गरिन्छ ।हतियारको विषयलाई थाँति राखेर सहमति गर्नु सरकारको बेइमानी रहेको विश्लेषण हुन थालेको छ ।
विद्रोही पक्षसँग भएको हतियारको बारेमा मौन रहेर सहमति गर्नुले फेरि पनि द्वन्द्ध बढ्ने खतरा रहेको डा. प्रेमसिहं बस्न्यात बताउनुहुन्छ ।हो, मैले द्वन्द्ध व्यवस्थापन गरे भनेर कामको जस लिने सरकारले त्यसको स्थायीत्व दिन सक्ने गरि दूरगामी निर्णय दिन सक्नुपर्छ ।