Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १४ २०७७
  • 5.7K
    SHARES

                   तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलकी पत्नी विनु ।


चितवन / पुर्पक्षका लागि भरतपुर कारागारमा रहेका तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलमाथि २० मंसिर २०६८ मा आक्रमण भयो ।

टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा न्यूरो अस्पतालमा त्यसै वर्षको २ पुसमा मृत्यु भयो । पौडेलको हत्या गरेको अभियोगमा सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तान पक्राउ परे ।

जिल्ला अदालतले उनीहरुसहित आठ जनालाई पौडेलको हत्या अभियोगमा जन्मकैद फैसला सुनायो । उनीहरुको जेल सजाय २०८७ सालमा मात्रै सकिने थियो । तर यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कैद मिनाहा पाउने १५ जनामा पौडेल हत्यामा दोषी ठहर भएका केसी, श्रेष्ठ र मोक्तान पनि परेका छन् ।

उनीहरुको कैद मिनाह गरेकोमा पौडेलको परिवारले भने आपत्ति जनाएको छ । यसले आफूहरुलाई थप पीडा दिएको पौडेल पत्नी विनु पौडेल रायमाझीले बताइन् । ‘राज्यले नै अपराधीहरुलाई छाड्ने काम गर्‍यो, यसले फेरि असुरक्षित भएको र देशभित्र न्याय हराएको अनुभूति भयो,’ पौडेलले भनिन् ।

राज्य शक्ति नै लागेर ५० प्रतिशत पनि कैद भुक्तानी नगरेका अपराधीहरुलाई छुटाउने काम योजनावद्ध रुपमा गरिएको उनको आरोप छ । आफू र राष्ट्रपति विद्यादेवी भण्डारीले २५/२६ वर्षको उमेरमै श्रीमान गुमाएको भन्दै उनले भनिन्, ‘उहाँका श्रीमानका हत्याराको पहिचान र खोजी किन गर्नुभएन ? किन कारवाही गर्न सक्नुभएन ? त्यो उहाँको कुरा होला । तर मेरो श्रीमानको हत्यामा संलग्न व्यक्तिलाई उहाँले आममाफी दिनुभयो ।’

उनले अघि भनिन्, ‘यसले मलाई कति पीडा दियो भनिसाध्य छैन । न्याय खोज्न कहाँ जाऊँ ?’

सत्ताको आडमा कानुनको उपहास गर्ने काम भएका भन्दै पौडेल पत्नी विनुले भनिन्, ‘सत्ता सधैँ उहाँहरुको मात्रै हुँदैन होला । त्यतिबेला आज छुटेका अपराधीहरुलाई पुनः जेल भित्र नै पठाउने अठोट मैले लिएको छु ।’

तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलका कान्छा भाइ गोविन्द पौडेलमाथि ३ जेठ २०६६ मा आक्रमण भयो । भरतपुर माविको चौरमा बोलाएर युवाहरुको एक समूहले उनीमाथि धारिलो हतियार प्रहार गरेको थियो । थप उपचारका लागि काठमाडौं लैजाने क्रममा उनको बाटोमै मृत्यु भयो । गोविन्दको हत्यामा संलग्न भएको आरोपमा केही पक्राउ परे र जेल चलान भए ।

राष्ट्रपतिबाटै अन्याय भयो

जिल्लामा राजनीतिक दल आवद्ध युवा समूहहरुको झडप, कुटपिटको श्रृङ्खला चलेको थियो । १० भदौ २०६८ मा तत्कालीन एमाले निकट युवा सञ्जय लामाको कविलास केराबारीमा गोली हानेर हत्या भयो ।

तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको निर्देशनमा लामाको हत्या भएको तत्कालीन युवा संघको दाबी थियो । किटानी जाहेरी परेपछि प्रहरीले पौडेलसहित तीन जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । पौडेल पुर्पक्षका लागि थुनामा गए ।

थुनामा रहेकै बेला पौडेलमाथि आक्रमण भयो । आक्रमणकारीमध्ये केही गोविन्द पौडेलको हत्या अभियोगमा जेल परेकाहरु पनि थिए र पौडेलमाथि आक्रमण गर्न तत्कालीन जेल प्रशासन नै सहयोगी बनेको आरोप पौडेल परिवारको छ ।

पौडेलकी पत्नी विनु भन्छिन्, ‘हत्यामा संलग्नता नभएको मान्छेलाई जवरजस्ती संलग्न भएको आरोप लगाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गर्‍यो । जेलभित्र उहाँलाई एक्लै राखेर योजनाबद्ध रुपमा आक्रमण गरी हत्या गरियो ।’

त्यसरी भएको आफ्नो श्रीमानको हत्यामा दोषीहरुलाई आम माफी दिएर राज्यले आफूहरुको घाउमा नुनचुक छर्कने काम मात्र गरेको पौडेलको गुनासो छ । ‘२६/२७ वर्षको उमेरमा विधवा भएर ६ वर्षको छोरो हुर्काउँदै बसेँ, कति पीडा भयो होला ?’ भन्छिन्, ‘सरकार नै हामीविरुद्ध लाग्यो, अब हामीले कहाँबाट न्याय पाउने ?’

राष्ट्रपतिबाटै अन्याय भएको भन्दै उनले जहाँ जाँदा न्याय पाइन्छ त्यहीँ जाने पौडेलले बताइन् 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४