एजेन्सी,/ निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगका सुनुवाइका क्रममा ट्रम्प समर्थहरुले अमेरिकी कंग्रेसमा गरेका आक्रमणसम्बन्धि नयाँ भिडियोहरु अमेरिकी सिनेटमा डेमोक्रेटिक सिनेटरहरुले देखाएका छन् ।
६ जनवरी मा अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकहरुले संसद् भवनमा आक्रमण गरेका नयाँ भिडियोहरु बिहीबार डेमोक्रेटिक सिनेटरहरुले देखाएको जनाइएको छ ।
बिहीबार सिनटेमा देखाइएका भिडियोमध्ये पहिलो भिडियोमा एक पुरुषले सुरक्षाकवच लगाएका र अर्का एक जनाले वरिष्ठ डेमोक्रयाट नेतृ नान्सी पेलोसीलाई खोजिरहेको देखाइएको छ भने ट्रम्प समर्थकहरुको बलजफ्तटी संसद् भवनभित्र प्रवेश गर्न खोज्दा प्रहरीहरू आत्तिएको आवाज पनि सिनेटमा सुनाइएको छ ।
डेमोक्रेटिक सिनेटरहरूले पेस गरेको दोस्रो भिडियोमा आक्रमणकारीले ‘उनलाई झुन्डाऊ’ भन्ने नारा लगाएको सुनिन्छ र ट्रम्प समर्थकहरुले उपराष्ट्रपति माइक पेन्सलाई लक्षित गर्दै नाराबाजी गरेको भिडियोमा देखिएको छ । अमेरिकामा नोभेम्बर ६ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्प विजयी भएको प्रमाणीकरण गर्न पेन्सले अस्वीकार गरिदिएका कारण ट्रम्प समर्थकहरुले उनको कडा आलोचना गर्दै आएका थिए ।
तेस्रो भिडियोमा ट्रम्पकी एक समर्थकलाई गोली लागेर मृत्यु भएको देखिएकोे छ जुन भिडियो मोबाइलबाट खिचिएको जनाइएको छ । त्यस्तै, चौँथो भिडियोमा एक सुरक्षाकर्मी भिडमा च्यापिएपछि चिच्याएको सुनिएको छ ।
यी सबै भिडियोहरु ट्रम्प समर्थकहरुले ५ जनवरीमा वासिङ्टनस्थित अमेरिकी संसद् भवनमा आक्रमण गरेका हुन् । गत नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने निवर्तमान राष्ट्रपति ट्रम्दाले दाबी गरेपछि समर्थकहरु बलजफ्ती रुपमा संसद्मा आक्रमण गरेका थिए ।