Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्य अफ्रिकी गणतन्त्रको निर्वाचनमा हिंसा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 2.6K
    SHARES

एजेन्स, १३ पुस । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन् ।हालका राष्ट्रपति फस्टिन आचेन्ज टुडेरा अहिलेको निर्वाचनमा समेत अग्रपंक्तिमा रहनु भएको छ । तर चुनाव हुन एक साता अघिदेखि सत्ता विद्रोह हुने हल्ला चलेको थियो भने चुनावमा परस्पर धाँधलीका आरोप लागेका थिए । यसैबीच, विद्रोहीहरुले देशको चौथो ठूलो शहर केही समय कब्जामा पनि लिएका थिए ।

हिंसात्मक घटना बढ्दै गएपछि संकटमा परेको सरकारलाई मद्दत गर्न रसिया र रुवान्डाले थप सैनिक पठाएका थिए । राष्ट्रसंघीय शान्तिसेना र स्थानीय एवं रुवान्डाका सेनाले राजधानीका सडकमा गस्ती गरिरहेका थिए । उनीहरुले मतदान स्थलको सुरक्षाका लागि बख्तरबन्द गाडीको समेत प्रयोग गरेका थिए ।

बाङ्गुईमा मतदान सामग्रीको कमी भएपछि मतदान स्थलहरु ढिला गरी खुलेको एक जना चुनाव अधिकृतले बताए । यहाँ राष्ट्रपतिका लागि १६ जना चुनावी मैदानमा छन् । टुडेराका मुख्य प्रतिस्पर्धीका रुपमा पूर्व प्रधानमन्त्री एनिसेट जर्ज डोलोगिले रहनु भएको छ ।

चुनावको परिणाम आगामी जनवरी ४ बाट आंशिक रुपमा प्राप्त हुन थाल्ने र जनवरी १९ मा सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएलगत्तै सरकारका प्रवक्ता आङ्गे माक्सिमे काजागुईले सशस्त्र समूहको धम्कीलाई समेत बेवास्ता गर्दै मतदानमा भाग लिएकामा आम मतदाताप्रति आभार प्रकट गर्नु भएको छ ।

राष्ट्रिय निर्वाचन आयोगका अधिकारी मोमोकोमा थियोफाइलले केही स्थानमा छिटपुट घटना हुनुबाहेक देशैभर चुनावमा मतदाताको उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो । पहिलो चरणमा कुनै उम्मेदवार बहुमत ल्याउन नसके आगामी फेब्रुअरी १४ मा दोस्रो चरणको मतदान हुनेछ ।

बाङ्गुई बाहेक देशका विभिन्न भागमा विद्रोहीसँग भिडन्तहरु भएका खबर प्राप्त भएका छन् । कतिपय स्थानमा विद्रोहीहरुले स्थानीय मतदातालाई चुनावमा सहभागी नहुन धम्की दिएका थिए ।

चुनाव हुनुअघि १४० स्थानको राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका झण्डै १ हजार ५०० उम्मेदवारले सुरक्षा व्यवस्था कमजोर रहेका कारण चुनावी प्रचार गर्न समेत पाएका थिएनन् ।

पूर्व राष्ट्रपति फ्रान्को बोजिजेलाई भने न्यायाधीशले चुनावमा उठ्नबाट रोकेका थिए । फ्रान्कोमाथि राष्ट्रसंघीय प्रतिबन्धहरु रहेका छन् । चुनावमा उठ्न नपाएपछि फ्रान्कोले विद्रोहीको गठबन्धनलाई मद्दत गरेका थिए ।

सरकारले फ्रान्कोको इशारामा सत्ता विद्रोह हुन लागेको भन्दै डिसेम्बरमा एक विज्ञप्ति प्रकाशन गरेको थियो । तर सरकारको उक्त आरोप फ्रान्कोले अस्वीकार गरे पनि ठूलो संख्यामा विद्रोहीहरु राजधानीतर्फ अगाडि बढेका खबर प्राप्त भएका छन् ।

मध्य अफ्रिकी गणतन्त्र खनिज पदार्थका लागि निकै धनी राष्ट्र हो तर स्वतन्त्र भएयता ६० वर्षदेखि यहाँ जारी सशस्त्र विद्रोह र अस्थिरताका कारण गरिबी चरम स्थितिमा छ ।

सन् २०१३ यता भडकिएको गृहयुद्धबाट हजारौं मानिसको ज्यान गइसकेको छ भने करिब ४९ लाख जनसंख्या रहेको यस मुलुकबाट एक चौथाई मानिस अन्यत्र पलायन भएका छन् । झण्डै ६ लाख ७५ हजार मानिस झिमेकी मुलुकहरुमा शरणार्थीका रुपमा बस्न बाध्य छन् र उनीहरु मतदानका लागि योग्य छैनन् ।

पछिल्ला दुई वर्षदेखि रक्तपातमा केही कमी आएको छ तर हिंसात्मक घटना जारी छ । विद्रोही समूहहरुले देशको कूल भूभागको दुई तिहाई भन्दा बढी जमिन कब्जा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४