Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संघमा जे सुकै होस्, प्रदेशमा मिलौं : मुख्यमन्त्री गुरुङ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 10.1K
    SHARES

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर सरकारमा रहन प्रस्ताव गरेका छन् ।

बागमती प्रदेशमा प्रचण्ड–माधवसमूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि गण्डकीका मुख्यमन्त्रीले संघ र अरु प्रदेशमा जे भए पनि गण्डकीमा मिलेर जान प्रस्ताव गरेका हुन् ।

संसद विघटनको स्वागत र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले पोखरामा शुक्रबार गरेको भेलालाई संबोधन गर्दै मुख्यमन्त्री गुरुङले एउटै संसदीय दलबाट सरकारमा रहन आग्रह गरे ।

‘साविक एमालेबाट २८ जना, साविक माओवादीबाट १२ जना, कांग्रेसको १५ जना, समाजवादीको २ र राष्ट्रिय जनमोर्चाको ३ जना हुनुहुन्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘४० जना हामी छौं । संघमा जे सुकै गरुन्, विकासको यो अभियानमा, समृद्ध प्रदेशको अभियानमा गण्डकी प्रदेशले साच्चिकै नमूना देखाएको छ । त्यसैले यही संसदीय दलमा रहेर जान म आग्रह गर्दछु ।’

उनले त्यसो नभए भोलि धेरै गाह्रो हुने पनि बताए । जनयुद्धको लिगेसी होला तर त्यसको संवोधन पनि आफूहरुले नै गर्ने गुरुङले बताए । ‘हामीलाई त कुनै डर छैन । उच्च मनोबलका साथ चुनावमा जाने हो,’ गुरुङले भने, ‘२ वटा पार्टी फुट्यो त के भयो ? मान्छेहरुले भनिरहेका छन् । हेर्दै जानुहोला, संसद पुनर्स्थापित नहुँदै र सूर्य चुनाव चिह्न हामीले पाउनेबित्तिकै सबैको झोली तुम्बा रित्तिने छ ।’

मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीले संविधानको धारा मिचेर संसद भंग गरेकाले अंवैधानिक भन्दै प्रचारमात्र गरिएको बताए । बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले म्याण्डेट हुँदाहुँदै काम गर्न नदिएपछि संसद भंग गरेर जनतामा जानु संसदीय मूल्य मान्यताभित्रैको कुरा भएको उनको भनाइ थियो ।

‘धेरैलाई भ्रम छ, फेरि संसद पुनस्र्थापना हुन्छ कि माधवकुमार नेपालहरुको पक्षमा जान्छ कि भन्ने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसदीय छलफलै नगरिकन अविश्वास प्रस्ताव ल्याउने कुरा मर्यादाभित्र पर्दैन,’ मुख्यमन्त्री गुरुङले भने, ‘जनताको जनमतको अपमान गर्ने भएपछि अब यसको फैसला प्रधानमन्त्रीले होइन, जनताले नै गर्ने हो ।’

प्रधानमन्त्रीले संसद भंग गरेर राजालाई नबुझाएको उनको भनाइ थियो । ‘नेपालको प्रधानमन्त्रीले संसद भंग गरेर राजालाई बुझाएको हो ? होइन । सेनालाई बुझाएको हो ? होइन । प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नो खल्तीमा राखेको हो ? होइन । जनताको मौलिक अधिकार खोसेर संकटकाल लगाएको हो ? होइन,’ मुख्यमन्त्री गुरुङले भने, ‘सार्वभौम जनतामा जान चाहन्छु, न्याय दिने काम उहाँहरुको हो भनेर जानु संसारमै सबैभन्दा लोकतान्त्रिक र गणतान्त्रिक हो ।’
उनले कुनै पनि हालतमा संसद पुनस्र्थापित नहुने दाबी गरे ।

संस्थापन पक्ष को होला भन्ने अर्को जिज्ञासा सबैमा रहेको भन्दै गुरुङले नेकपाको विधानले बहुमत र अल्पमतको परिकल्पना नगरेकाले अध्यक्ष र महासचिव भएकाले आफूहरु नै संस्थापन भएको जिकिर गरे ।

‘उनीहरुसँग टाउको धेरै छ, उनीहरुसँग बहुमत भएपछि सक्किइ हाल्यो नि भन्ने छ,’ गुरुङले भने, ‘यो पूर्व एमालेको विधान होइन, पूर्व माओवादीको विधान पनि होइन । एकतापछिको नेकपाको विधानले बहुमत, अल्पमतको परिकल्पना नै गरेको छैन ।’

संघ र प्रदेशको एक साथ चुनाव हुन सक्छ

प्रचण्ड–माधव समूहले कति अस्थिरता चाहँदै छन् भन्ने शुक्रबार हेटौंडामा देखिएको प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले बताए । ‘हेटौंडामा आज अविश्वास प्रस्ताव दर्ता भयो । उनीहरुले बुझ्नुपर्दछ, यस्तै अस्थिरता निम्त्याइन्छ भने आम चुनावसहित एकैचोटी संघ र प्रदेशमा नयाँ फेस गर्न तयार छौं,’ नेता अधिकारीले भने, ‘तपाईंहरु आन्दोलनमा जानुहुन्छ, हामी जनतासँग भोट माग्न जान्छौं ।’

प्रचण्ड–माधव समूहले सूर्यको फन्को मारे पनि सरकार बनाउन नसक्ने बताए । प्रचण्ड–माधव समूहले पद, पैसा र परिवारका लागि आफ्ना सिद्धान्त त्यागेको उनको भनाइ थियो ।

‘आफ्नो पद, पैसा र परिवारका लागि सिद्धान्त त्याग्ने कहिल्यै माक्र्सवादी बन्न सक्दैन,’ उनको भनाइ थियो ।

हारेपछि चिटिङ भो, भन्नुभन्दा बेलैमा चुनावको तयारीमा लाग्न अधिकारीको आग्रह थियो । माइतीघर मण्डलामा प्रचण्ड–माधव समूहका नेताले गरेको विरोधप्रति अधिकारीले कटाक्ष गरे ।

नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले आधिकारिक नेकपा पनि आफूहरु नै भएको दावी गर्दै सूर्य चिह्नमा आँखा नलगाउन आग्रह गरे । ओलीलाई अलोकप्रिय भन्नेहरुले चुनाव मार्फत आफ्नो लोकप्रियता देखाउन बस्नेतले चुनौती दिए ।

अख्तियारका नवनियुक्त प्रमुख प्रेम राईलाई खुट्टा नकमाउन आग्रह गर्दै बस्नेतले अब प्रचण्ड–माधवहरु माइतीघर होइन जेलमा जाने दाबी गरे ।

युवा संघको भेलामा बोल्ने अधिकांश वक्ताले फेरि चुनावमा गएर बहुमत ल्याउने गरी जनताको दैलोमा जान आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४