Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ कोरोना भाइरस : वैदेशिक रोजगारीमा अर्को खतराको घण्टी !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 5.6K
    SHARES

काठमाडौं । बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरसको असर प्रत्यक्ष/अप्रत्यक्ष रूपमा  नेपालमा पनि पर्न थालेको छ ।

बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न देशले कडा कदम चालेपछि नेपालको पुनर्उत्थानउन्मुख पर्यटनसँगै वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष असर देखिन थालेको छ ।

विशेषगरी नेपालका मुख्य श्रम गन्तव्य मुलुकहरूले नयाँ किसिमको भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था गर्न थालेका छन् । यसैहप्ता साउदी अरेबिया, कुवेत र ओमानले निश्चित समय तोकेर विदेशबाट आफ्ना विमानस्थलमा हुने हवाई उडानमा रोक लगाएका छन् । यूएई, कतार लगायत देशले पनि एक दुई दिनभित्र नै यस्तो प्रतिबन्ध लगाउने अनुमान छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार साउदी अरेबिया, कुवेत र ओमान जान प्रक्रिया पूरा गरेका नेपाली श्रमिक अहिले रोकिएको बताउँछन् । ‘हामीले श्रमिकलाई श्रम स्वीकृति दिन रोकेका छौं,’ उनले भने, ‘सम्बन्धित देशको अध्यागमन तथा उड्डयन नियमका आधारमा यात्रु रोकिनु भएको हो । प्रतिबन्ध खुलेपछि जान पाउनुहुन्छ ।’

म्यानपावर व्यवसायीहरु विदेश जान एक वर्षदेखि प्रतीक्षारत श्रमिकलाई यस्तो प्रतिबन्धको प्रत्यक्ष मार पर्ने बताउँछन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बिस्तारै तङ्ग्रिन थालेको वैदेशिक रोजगारीमा फेरि खतराको घण्टी बजेको बताउँछन् । कोभिड–१९को खोपहरू प्रयोगमा आउन थालेसँगै पलाएको आशामा नयाँ स्वरूपको भनिएको कोरोना भाइरसले फेरि तुषारापात गर्न लागेको उनले बताए ।

बेलायतसहितका युरोपेली मुलुकमा यात्रामा कडाइ गरिएको र स्पेन लगायतका मुलुकले केही महिनासम्म नै लकडाउन घोषणा गरेकाले त्यसको असर खाडी देशहरुमा देखिन थालेको श्रेष्ठ बताउँछन् ।

‘खाडीको अर्थतन्त्रमा असर पर्नु भनेको हामीले श्रमिक पठाउन नसक्ने अवस्था बन्नु हो,’ उनी भन्छन्, ‘खाडीमा अन्तर्राष्ट्रिय उडान बन्द हुन थालेकाले जान तयार भएका श्रमिकले पनि मौका नपाउने अवस्था आएको देखियो ।’

कोरोना भाइरसको महामारी अन्त्य नभएपनि नियन्त्रण उन्मुख भएसँगै पछिल्ला महिना नेपालबाट वैदेशिक रोजगारीमा जाने संख्या बढ्दो क्रममा थियो । चैतमा गरिएको लकडाउनपछि ३ महिना शून्यमा झरेको वैदेशिक रोजगारीमा जाने संख्या कात्तिकमा ९ हजार ३८० पुगेको थियो । यसमध्येका अधिकांश खाडीका श्रम गन्तव्य मुलुक गएका थिए ।

चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म करिब ४५ हजार नेपाली काम गर्न विदेश गए । तर, कोरोना भाइरसको नयाँ रूप देखिएपछि प्रमुख श्रम गन्तब्य मुलकले अन्य देशबाट यात्रु ल्याउन रोक लगाउन थालेसँगै श्रमका लागि विदेश जान भिसा कुरिरहेका नेपाली श्रमिक निरास हुने अवस्था आएको छ ।

प्रतिबन्ध थपिने संकेत

यसैहप्ता अन्तर्राष्ट्रिय उडान रोकेका साउदी अरेबिया, कुवेत र ओमानले जोखिम विश्लेषण गरेर मात्रै उडानबारे नयाँ निर्णय लिने बताएका छन् । नयाँ कोरोना भाइरससँग लड्न यस्ता निर्णय हुन थालेकाले युरोप जाने नेपालीको पनि यात्रा अनिश्चित बन्ने अवस्था आएको छ । मुख्य असर भने खाडी जान चाहनेहरुमा पर्ने अवस्था छ ।

कात्तिकमा मात्रै नेपालबाट साउदी अरेबियामा २ हजार ७४७ जना नेपाली श्रमिक गएका थिए । साउदीको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण सुरु नगरेपनि श्रमको नवीकरण गरेर र व्यक्तिगत पहलमा भिसा ल्याएर जानेको संख्या बढ्दै गर्दा साउदीले अन्तर्राष्ट्रिय हवाई उडान रोकेको छ ।

नेपाली दूतावासका अनुसार साउदीको आन्तरिक मन्त्रालयले सोमबारबाट लागु हुने गरी एक हप्तासम्म साउदी प्रवेश गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई र स्थलमार्ग स्थगन गरेको जनाएको छ । आवश्यक पर स्थगन अवधि लम्बिन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ ।

ओमान सरकारले पनि त्यस्तै कदम चालेको छ । पछिल्ला महिना रोजगरीका लागि ओमान जाने क्रम बढेको थियो । कात्तिकमा करिब साढे २ सय नेपाली त्यहाँ गएका थिए ।

नेपाली दूतावासका अनुसार ओमान सरकारले मंगलबारदेखि लागू हुनेगरी २९ डिसेम्बरसम्म हवाई र स्थलमार्गबाट हुने आवागमन बन्द गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी अनुगमन/मूल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीले पछिल्लो घटनाक्रम र महामारी नियन्त्रणका लागि विभिन्न देशले अवलम्बन गरेका रणनीति लगायत हेरेर यस्तो निर्णय लिएको ओमान सरकारले जनाएको छ ।

ओमानले पनि भाइरसको विस्तार र फैलावटको अवस्था हेरेर थप निर्णय लिइने उल्लेख छ । नेपाली दूतावासले ओमान यात्रा गर्ने नेपालीलाई ओमान सरकारको निर्णय बमोजिम व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

कुवेतले पनि सोमबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने र सीमा नाका बन्द गर्ने निर्णय लिएको छ । यो प्रतिबन्ध जनवरी १ सम्म कायम रहने कुवेतका समाचार एजेन्सीहरुले जनाएका छन् ।

कुवेतमा डिसेम्बरसम्म नयाँ श्रमिकलाई रोक लगाइएको थियो । अब नयाँ भाइरसको कारण देखाएर नयाँ प्रतिबन्ध घोषणा हुन थालेपछि नेपाली श्रमिकका लागि कुवेतको रोजगारी पनि तत्काललाई टाढिएको छ । कात्तिकमा श्रम स्वीकृति नवीकरण गरेर १०७ जना नेपाली त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४