काठमाडौं । माइतीघर मण्डलामा भइरहेको धर्ना रोक्न सरकारले गरेको आग्रहलाई उखु किसान संघर्ष समितिले अस्वीकार गरेको छ ।
श्रीराम सहितका चार वटा चिनी मिलले ६५ करोडभन्दा भन्दा बढी रकम नदिएपछि सर्लाही, कपिलवस्तु, नवलपरासीका उखु किसान आन्दोलनरत छन् । आन्दोलन चर्किँदै गएपछि सबैभन्दा धेरै ३५ करोड बक्यौता रहेको श्रीराम सुगर मिलले शुक्रबार १६ करोडभन्दा बढी रकम सरकारको रोहबरमा पठाएको बताएको छ र बाँकी रकम पनि सोमबारसम्म किसानको खातामा पठाउने बताएको छ । लगतै उद्योग, वाणिज्य, आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी धर्नास्थल माइतीघर मण्डला पुगेर आन्दोलन स्थगन गर्न किसानहरुलाई आग्रह गरेका थिए ।
तर आन्दोलनरत किसानहरुले भने अझै विश्वासको वातावरण नबनेको बताएका छन् । शुक्रबार साँझ काठमाडौंमा बसेको उखु किसान संघर्ष समितिको बैठकले भुक्तानी दिलाउन सरकारले गरेको प्रयास सकारात्मक भएपनि विश्वासको वातावरण नबनेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ ।‘केही चिनी मिलबाट भुक्तानीको सुरुआत थालिएकोमा सरकारलाई धन्यवाद छ, तर अझै विश्वासको वातवरण बनेको छैन, त्यसैले आन्दोलन नराक्ने निर्णय गर्यौं,’समितिका संरक्षक राकेश मिश्रले भने । श्रीराम सुगर मिलले भुक्तानी थालेको जानकारी सरकारबाट पाएपनि अन्य मिलले रकम दिने सुनिश्चित हुन नसकेको किसानहरुले बताएका छन् ।संघर्ष समितिले भुक्तानी ग्यारेन्टीको कार्यविधि निर्माण गर्न वा उच्चस्तरीय समिति बनाउन सुझाव दिने निर्णय गरेको मिश्रले जानकारी दिए ।
