धेरैजसो आगलागी परालको टाल (पराल राख्ने ठाउँ) मा लागिरहेको छ । ‘जति आगो लागेको छ, ती सबै परालको टालमा लागेको छ,’ वडा अध्यक्ष कार्कीले भने । परालको टालको नजिकै राखिएका दाउरा समेत जलेको स्थानीयको भनाइ छ ।
पछिल्लो दुई सातादेखि गाउँमा नियमित आगलागीका घटना हुँदै आएको छ । आइतबार मात्रै ५ ठाउँमा आगलागी भएको स्थानीयले बताएका छन् । एक ठाउँको आगो निभाउन नपाउँदै अर्काे ठाउँमा आगलागी हुँदा गाउँकै सबै परालको टाल जलेर नष्ट भइसकेको वडा अध्यक्ष कार्कीले बताए ।
‘गाउँमा बस्ने अधिकांश व्यक्तिले चौपाया पालेका छन् । केही दिनअघि काटिएको धानको पराल थुपारेर यहाँका बासिन्दाले राखेका थिए । तर, सबै पराल जल्दा गाईभैंसीलाई के खुवाउने भन्ने चिन्तामा उनीहरु छन् । गाउँको सबै पराल जलिसकेकाले अब खेतमा छरिएर रहेका पराल बटुल्ने विकल्पमात्रै बाँकी रहेको स्थानीयको भनाइ छ ।
एक्कासी लाग्ने गरेको आगोबारे स्थानीय प्रशासनलाई पनि जानकारी गराइएको वडा अध्यक्ष कार्कीको भनाइ छ । ‘आगलागीका घटना हुँदा प्रहरी पनि आउँछ । दमकल पनि आउँछ,’ उनले भने, ‘एक पटक लागेको आगो निभाएर त उनीहरु जान्छन् । तर, हामीलाई पुनः आगलागीको सामना गर्नुपरिरहेको छ ।’
स्थानीयहरु देउता रिसाएको भन्दै निरन्तर पूजापाठ गरिरहेका छन् । धामीलाई बोलाएर समेत बोलाएर पूजापाठ गराइएको भए पनि आगलागी हुने क्रम नरोकिएको स्थानीयको भनाइ छ ।
