Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालले पहिलोपटक अन्तरिक्षमा अनुसन्धान गर्दै, तुलसीको बिउलाई रकेटबाट पठाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ६ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धान सहभागी हुने अवसर पाएको छ । अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएसँगै नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको हो ।

एसिया तथा प्रशान्त क्षेत्रका अन्तरिक्षमा अनुसन्धान गर्ने वैज्ञानिक संस्थाहरूको छाता संगठन एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमले पृथ्वीमा रहेका जडीबुटीलाई गुरुत्वाकर्षण मुक्त क्षेत्रमा अंकुरण गराउँदा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अन्तरिक्षमा अनुसन्धान गर्न लागेको छ । विभिन्न एसियाली मुलुकमा पाइने जडीबुटीलाई अनुसन्धानको लागि अन्तरिक्षमा लैजाने क्रममा फोरमले नेपालबाट तुलसीको बिउलाई अनुसन्धानमा समेटेको छ । सोही अनुसन्धानमा नेपाली वैज्ञानिक संस्थालाई समेत संलग्न गराइएको हो ।

फोरमको २०१९ नोभेम्बर २६–२९ सम्म जापानमा बसेको बैठकले नेपाल, जापान, ताइवान, भियतनाम,  बंगलादेश लगायतका देशमा रहेका छुट्टाछुट्टै जडीबुटी अन्तरिक्षमा अध्ययनको लागि पठाउने निर्णय गरेको थियो । सोही निर्णय अनुरुप नेपालबाट बैठकमा प्रतिनिधित्व गरेको संस्था नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले तुलसीको बिउलाई अन्तरिक्षमा पठाउन प्रस्ताव गरेको थियो ।

अनुसन्धानका लागि नेपालबाट पठाइएको तुलसीको बिउलाई डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाइँदै छ

सो प्रस्ताव स्वीकृत भएसँगै नासा स्पेस सेन्टरबाट तुलसीको बिउ डिसेम्बर २ मा अन्तरिक्ष पठाउन लागिएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नास्टले जनाएको छ । सो अनुसन्धानको उद्देश्य भनेको पृथ्वीमा रहेका मानिसमा यस्ता जडीबुटीको अधिक उपयोगिता कसरी प्रदान गर्न सकिन्छ भन्ने हो ।

यद्यपि सो अध्ययन भने नास्टका वैज्ञानिकहरूले गर्ने नभई नास्टको स्वीकृतिमा नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले गर्न लागेको हो । उक्त रिसर्च सेन्टर गैरनाफामूलक गैरसरकारी संस्था भए पनि नेपालको सरकारी स्पेस एजेन्सी नभएका कारण विगत १० वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएको सो रिसर्च सेन्टरले अहिले एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमको बैठकमा भाग लिँदै आएको छ ।

सोही संस्थामार्फत् अन्तरिक्षमा अध्ययन गर्नको लागि यसअघि नै नास्टले सिफारिस गरेर कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले समेत आवश्यक स्वीकृति दिइसकेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । तुलसीको बिउमाथि अध्ययन गर्ने भएकोले केन्द्रबाट पनि स्वीकृति लिनु परेको हो ।

यी दुई निकायको स्वीकृतिपछि अहिले अनुसन्धानको लागि तुलसीको बिउ नासा स्टेसनमा पुगिसकेको र डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा बिउ पठाउन लागिएको नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए ।

अन्तरिक्षमा अनुसन्धान गर्ने सो फोरममा अमेरिका, चीन, भारत लगायत ५१ मुलुकका वैज्ञानिक संस्थाहरू संलग्न छन् । जसमध्ये यसपटकको अनुसन्धान सम्बन्धी परियोजनाको जिम्मा कृष्णराज अधिकारीको अध्यक्षतामा रहेको उक्त रिसर्च सेन्टरलाई दिइएको हो ।

सो रिसर्च सेन्टरले अहिले ८ वर्षदेखि ११ वर्षसम्मका बच्चाहरुलाई स्पेस सम्बन्धी ज्ञान दिने, ११ वर्षदेखि १६ वर्षसम्मका बच्चालाई रकेट कसरी बनाउने ? भन्ने बारेमा सिकाउने, उनीहरुलाई यही विषयमा प्रतिस्पर्धा गराउने लगायतको काम गर्दै आएको छ ।

कसरी हुन्छ अन्तरिक्षमा अनुसन्धान ?

यो अनुसन्धानमा नेपाली अनुसन्धानकर्ताहरू अन्तरिक्षमा जान भने पाउँदैनन् । अहिले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा अमेरिका, जापान, रसिया, युरोपियन युनियन लगायत १५ वटा देशले ६ वटा कम्पार्टमेन्ट बनाएको छ । यी देशहरूले आ–आफ्नै कम्पार्टमेन्टमा अनुसन्धान गर्ने गर्छन् । प्रत्येक कम्पार्टमेन्टमा ६ महिनाको लागि एक जना अन्तरिक्ष अनुसन्धानकर्ता तिनै १५ देशबाट पठाउने गरिन्छ ।

प्रत्येक कम्पार्टमेन्टमा ६ महिनाको लागि एक जना अन्तरिक्ष अनुसन्धानकर्ता तिनै १५ देशबाट पठाउने गरिन्छ ।

बहुगुणी औषधि तुलसीलाई नेपालमा भगवान विष्णुको एक अवतारको रुपमा पुज्ने गरिन्छ ।

अहिले नेपालले गर्ने अनुसन्धानको लागि जापानिज एरोस्पेस एक्सप्लोरेसन एजेन्सी(जाक्सा)ले सहयोग गरेको छ । त्यसैले जापानको कम्पार्टमेन्टमा लगेर त्यहाँका अनुसन्धानकर्ताले तुलसीको बिउ अंकुराउने प्रयास गर्नेछन् । एक महिनासम्म त्यहाँ अनुसन्धान गरेपछि सो बिउलाई फेरि पृथ्वीमा ल्याइने छ । त्यसपछि अमेरिकाबाट जापान हुँदै नेपालसम्म बिउ ल्याएर यहाँ नेपालका वैज्ञानिक तथा यस विषय अध्ययनरत विद्यार्थीलाई अनुसन्धानको अवसर दिइने रिसर्च सेन्टरका अनुसन्धानकर्ता सरोज कोइरालाले जानकारी दिए ।

‘उक्त स्पेस स्टेसन पृथ्वीको सतहबाट ४०० किलोमिटरको दुरीमा छ । सोही स्टेसनमा अनुसन्धान गर्ने गरिन्छ,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘यो नेपालबाट अन्तरिक्षमा गरिएको पहिलो अनुसन्धान हो ।’ अन्तरिक्षमा तुलसी उमारेर त्यसमा गुरुत्वाकर्षण हुँदा र नहुँदामा कस्तो भिन्नता हुन्छ ? भन्ने बारेमा अध्ययन गर्न लागिएको उनले बताए ।

त्यस्तै, नास्टका सचिव डा. मुकेश कुमार अधिकारी यो अनुसन्धान नेपालमा पहिलोपल्ट हुन लागेको दाबी गर्छन् । यसरी नेपाली संस्था मार्फत् नेपाली वैज्ञानिकले नै गर्न लागेको यो परियोजनालाई नास्टले पनि स्वीकृति दिएको उनले जानकारी दिए । ‘यसरी अन्तरिक्षमा अध्ययन गर्ने नेपालको यो पहिलो प्रोजेक्ट हो,’ अधिकारीले अनलाइनखबरसँग भने ‘यसमा नास्टले सो अध्ययनलाई स्वीकार गरेर प्लान्ट क्वारेन्टाइनलाई सिफारिस गरेको थियो ।’

एक वर्षअघि सरकारले अन्तरिक्षमा फुच्चे स्याटेलाइट पठाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तरिक्षको युगमा प्रवेश गरेको उल्लेख गरेका थिए । त्यसको डेढ वर्षपछि निजी क्षेत्रको पहलमा भए पनि नेपालले अन्तरिक्षमा अध्ययन गर्ने मौका पाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४