Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाढीले सिंगा तातोपानी कुण्डमा क्षति, मुख्य याममै बन्द हुँदा व्यवसायी चिन्तित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १३ २०८३
  • 437
    SHARES

म्याग्दी । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ स्थित प्रसिद्ध प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्‍याएको छ । बाढी र पहिरोका कारण कुण्डका विभिन्न भौतिक संरचनामा क्षति पुगेपछि तत्कालका लागि स्नान सेवा बन्द गरिएको छ ।

कुण्डमा रहेका तीन वटा पोखरीमध्ये बिरामीहरूले उपचारका लागि प्रयोग गर्ने ठूलो तथा उपल्लो पोखरीमा बाढी पसेर ठूलो मात्रामा हिलो र लेदो थुप्रिएको छ । पर्यटक तथा अन्य आगन्तुकका लागि सञ्चालनमा रहेको सानो पोखरीसमेत बाढीले भत्काएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

बाढीका साथै माथिल्लो क्षेत्रबाट खसेको पहिरोले कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखिएका भवन तथा खुला स्नानस्थलमा समेत क्षति पुगेको छ । पहिरोले केही संरचना भत्काउनुका साथै पुरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिए ।

उनका अनुसार बाढीपहिरोका कारण कुण्डको भौतिक संरचनामा क्षति पुगेकाले तत्कालै नियमित रूपमा स्नान सञ्चालन गर्न सकिने अवस्था छैन । पोखरीमा थुप्रिएको हिलो र लेदो हटाएर संरचनाको अवस्था सुधार गरी पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

“बाढी पहिरोले तातोपानी कुण्डका भौतिक संरचनाहरूमा क्षति पुर्‍याएकाले तत्कालका लागि स्नान गर्न सकिने अवस्था छैन, कुण्ड बन्द भएको छ,” अध्यक्ष खड्काले भने, “पोखरीमा थुप्रिएको बाढी पन्छाएर तातोपानी कुण्ड सञ्चालनमा ल्याउने प्रयासमा छौँ।”

बाढीका कारण कुण्ड बन्द भएपछि पुनः सञ्चालनका लागि स्थानीयस्तरबाटै सरसफाइ तथा मर्मतको काम अघि बढाउने तयारी गरिएको छ । सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मंगलबारदेखि तातोपानीवासीले श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो तथा हिलो हटाउने निर्णय गरेको समितिकी सदस्य मीना जुग्जालीले बताइन् ।

स्थानीयवासीको श्रमदानबाट तत्कालका लागि सरसफाइको काम अघि बढाइने भए पनि बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि थप आर्थिक स्रोत आवश्यक पर्ने देखिएको छ । कुण्डको संरक्षण तथा पुनःस्थापनाका लागि नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा गरिएको सदस्य जुग्जालीले बताइन् ।

मुख्य पर्यटकीय याममै कुण्ड बन्द

सिंगा तातोपानी कुण्डमा असोज–कात्तिकलाई स्नान तथा पर्यटकीय गतिविधिका दृष्टिले मुख्य याम मानिन्छ । यही समयमा कुण्ड बन्द भएपछि तातोपानी बजारको चहलपहलसमेत घटेको छ ।

कुण्डमा आउने पर्यटक तथा उपचारका लागि आउने सर्वसाधारणको सङ्ख्या घटेपछि स्थानीय होटल, रेष्टुरेन्ट तथा होमस्टे व्यवसायीहरू प्रभावित भएका छन् । मुख्य याममा नै कुण्ड बन्द भएपछि व्यवसायीहरू निराश बनेका छन् ।

सिंगा तातोपानी कुण्डमा नेपालका ७७ वटै जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् । व्यवस्थापन समितिका अनुसार वार्षिक २० हजारभन्दा बढी मानिस प्राकृतिक उपचार तथा पर्यटकीय भ्रमणका लागि यहाँ आउने गरेका छन् । विदेशी पर्यटकसमेत कुण्डमा आउने गरेका छन् ।

प्राकृतिक तातोपानीमा स्नानका लागि देशभरबाट आउँछन्

म्याग्दी नदीको किनारमा रहेको सिंगा तातोपानी कुण्डमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरी स्नान गर्ने व्यवस्था छ । यहाँको पानीमा प्राकृतिक रूपमा वीर नुनको गन्ध आउने र करिब ५० डिग्री सेल्सियस तापक्रममा पानी निस्कने व्यवस्थापन समितिले जनाएको छ ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार प्राकृतिक रूपमा निस्कने उक्त तातोपानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, बाथ तथा चोटपटकसँग सम्बन्धित स्वास्थ्य समस्या निको हुने जनविश्वासका कारण मानिसहरू यहाँ आउने गरेका छन् ।

तातोपानी कुण्डमा असोज–कात्तिकदेखि मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाखसम्म स्नान गर्ने याम मानिन्छ । लामो समयसम्म चल्ने मुख्य स्नान यामको सुरुवातमै बाढीले कुण्डमा क्षति पुर्‍याएपछि यस क्षेत्रको पर्यटन व्यवसायमा समेत असर परेको छ ।

स्थानीयवासीले तत्काल श्रमदानमार्फत पोखरीको लेदो तथा हिलो हटाउने तयारी गरे पनि क्षतिग्रस्त भवन, स्नानस्थल र अन्य संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सरकारी सहयोग आवश्यक रहेको बताएका छन् ।

बाढीले क्षति पुर्‍याएको कुण्डलाई छिटोभन्दा छिटो पुनः सञ्चालनमा ल्याउन सके मुख्य पर्यटकीय याममा हुने थप आर्थिक क्षति कम गर्न सकिने स्थानीय व्यवसायीको अपेक्षा छ । प्राकृतिक उपचार तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित सिंगा तातोपानी कुण्डको पुनःस्थापना र संरक्षणका लागि तीनै तहका सरकार तथा सम्बन्धित निकायको सहयोग आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४