काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीका कारण ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएको जनाएको छ। बाढीका कारण ठूलो मानवीय क्षतिसँगै यातायात क्षेत्रमा समेत व्यापक भौतिक क्षति पुगेको महासङ्घले जनाएको हो।
महासङ्घका अनुसार बाढीका कारण ५१५ वटा ट्रक तथा कन्टेनर हराएका छन्। बाढी प्रभावित क्षेत्रमा भएको प्रारम्भिक क्षतिको विवरण संकलन गर्ने क्रममा यति ठूलो संख्यामा मजदुर सम्पर्कविहीन र ट्रक तथा कन्टेनर हराएको जानकारी प्राप्त भएको महासङ्घले जनाएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा महासङ्घले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गरेको हो। बैठकमा बाढीका कारण यातायात क्षेत्रमा परेको असर, सम्पर्कविहीन मजदुरको अवस्था तथा हराएका सवारीसाधनका विषयमा छलफल भएको थियो।
बाढीबाट भएको क्षतिको वास्तविक अवस्था पहिचान गर्न सरकारले यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ। पूर्वाधार विकास मन्त्रालयले गठन गरेको उक्त समितिलाई बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको आधारका सम्बन्धमा रायसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ।
समितिले १५ दिनभित्र रायसुझावसहितको प्रतिवेदन पेस गर्नुपर्नेछ। प्रतिवेदनमा बाढीबाट यातायात व्यवसायी, मजदुर तथा सवारीसाधनमा पुगेको क्षतिको विवरण समेटिने बताइएको छ।
महासङ्घले भने प्रारम्भिक रूपमा प्राप्त विवरण पूर्ण नभएकाले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ्न सक्ने जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य, क्षतिको विवरण संकलन र प्रभावित परिवार तथा व्यवसायीको अवस्थाबारे जानकारी लिने क्रम जारी रहेकाले थप विवरण आउन सक्ने महासङ्घको भनाइ छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक, पुल, यातायातका साधन तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नियमित यातायात सेवा प्रभावित हुनुका साथै मालवाहक सवारीसाधन सञ्चालनमा समेत समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन्।
सरकारले गठन गरेको समितिले क्षतिको स्थलगत तथा तथ्यगत मूल्याङ्कन गरेपछि प्रभावित यातायात व्यवसायी र मजदुरलाई उपलब्ध गराउनुपर्ने राहत तथा क्षतिपूर्तिको आधारसमेत पहिचान गर्नेछ। यसका लागि सम्बन्धित सरकारी निकाय, यातायात व्यवसायी तथा मजदुर सङ्घ–सङ्गठनबाट प्राप्त विवरणलाई आधार बनाइनेछ।
समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायीका प्रतिनिधि तथा यातायात मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधि सदस्य रहेका छन्। समितिमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईंलगायत सहभागी छन्।
महासङ्घले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सरकारसमक्ष प्रस्तुत गर्दै सम्पर्कविहीन मजदुरको खोजी, हराएका सवारीसाधनको अवस्था पहिचान तथा प्रभावित व्यवसायी र मजदुरका लागि आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
अब समितिले प्राप्त विवरण तथा स्थलगत अवस्थाको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गरेपछि भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको थप स्पष्ट विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।