काठमाडाैं । भोजपुरमा उत्पादित अकबरे अर्थात् डल्ले खुर्सानीले पछिल्लो समय देशका प्रमुख सहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म सडक तथा यातायातको पहुँच विस्तार भएपछि भोजपुरका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर, झापालगायतका सहर तथा बाह्य जिल्लाका बजारमा पुग्न थालेको हो ।
अकबरे खुर्सानीको व्यावसायिक खेती भोजपुरका अधिकांश किसानका लागि आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गएको छ । परम्परागत खाद्यान्न बालीको तुलनामा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीय किसान यसको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका छन् ।
हाल किसानले स्थानीयस्तरमै प्रतिकेजी रु. १५० देखि रु. २०० सम्ममा अकबरे खुर्सानी बिक्री गर्दै आएका छन् । उत्पादन भएको खुर्सानी स्थानीय सङ्कलन केन्द्रमार्फत बाह्य जिल्लाका बजारमा पठाउने गरिएको छ ।
पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङका किसान टिकाराम तिवारीका अनुसार तिवारीभञ्ज्याङ सङ्कलन केन्द्रबाट मात्रै दैनिक ३०० देखि ४०० केजीसम्म अकबरे खुर्सानी बाह्य जिल्लाका बजारमा पठाउने गरिएको छ ।
सडक सुविधा विस्तार भएसँगै व्यापारीहरू खुर्सानी खरिद गर्न किसानका खेतबारी तथा स्थानीय सङ्कलन केन्द्रसम्मै पुग्ने गरेका छन् । यसले किसानलाई उत्पादन बिक्री गर्न सहज भएको छ । तिवारीले विगत पाँच वर्षदेखि आफूले खुर्सानी खेती गर्नुका साथै अन्य किसानले उत्पादन गरेको खुर्सानीसमेत सङ्कलन गरी बाहिरी बजारमा पठाउँदै आएको बताउनुभयो ।
“स्थानीयस्तरमा उत्पादन भएको खुर्सानी बाह्य जिल्लामा पठाउँदै आएको छु,” उहाँले भन्नुभयो, “तिवारीभञ्ज्याङबाट मात्रै दैनिक ४०० केजीसम्म खुर्सानी सहरी क्षेत्रमा जाने गरेको छ ।”
भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाका अनुसार अहिले उत्पादन भएको खुर्सानी बिक्री गर्न तथा बजारीकरण गर्न खासै समस्या छैन । स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानहरूलाई व्यावसायिक खेतीमा थप उत्साह मिलेको उहाँको भनाइ छ ।
भोजपुरको पहाडी हावापानीमा उत्पादन हुने अकबरे खुर्सानी पिरो र स्वादिलो हुने भएकाले बाह्य जिल्लामा यसको माग उच्च रहेको किसानहरू बताउँछन् । स्थानीय उत्पादनको स्वाद र गुणस्तरका कारण काठमाडौँलगायत ठूला सहरमा समेत भोजपुरको अकबरे खुर्सानीको माग बढ्दै गएको उनीहरूको भनाइ छ ।
कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेशकुमार यादवका अनुसार यस वर्ष जिल्लामा करिब ५४५ हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानीको खेती भइरहेको छ । यस वर्षको खुर्सानी बिक्री हुने क्रम जारी रहेकाले कुल उत्पादनको अन्तिम तथ्याङ्क भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा भोजपुरमा पाँच हजार २३२ मेट्रिकटन अकबरे खुर्सानी उत्पादन भएको थियो । उक्त उत्पादनबाट जिल्लामा करिब रु. २३ करोड रकम भित्रिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
“अकबरे खुर्सानी भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ,” प्रमुख यादवले भन्नुभयो, “धेरै किसान खुर्सानीको व्यावसायिक खेतीमा आबद्ध हुनुहुन्छ । यहाँ उत्पादन भएको खुर्सानी ठूलो परिमाणमा बाह्य जिल्लामा निर्यात हुँदै आएको छ ।”
अकबरे खुर्सानीको बजार विस्तारसँगै किसानले परम्परागत खेतीबाट व्यावसायिक कृषितर्फ आफूलाई परिवर्तन गर्न थालेका छन् । कम क्षेत्रफलमा समेत राम्रो आम्दानी लिन सकिने भएकाले किसानका लागि खुर्सानी खेती आकर्षक बन्दै गएको हो ।
जिल्लाका स्थानीय तहले समेत अकबरे खुर्सानी खेतीलाई प्रोत्साहन गर्न किसानलाई विभिन्न किसिमका अनुदान तथा सहयोग उपलब्ध गराउँदै आएका छन् । उत्पादन वृद्धि, किसानलाई व्यावसायिक बनाउन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले स्थानीय तहबाट कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
भोजपुरमा उत्पादन भएको अकबरे खुर्सानीले सहरका बजारमा राम्रो मूल्य र माग पाउन थालेपछि आगामी दिनमा यसको उत्पादन अझ बढ्ने अपेक्षा गरिएको छ । बजारको सुनिश्चितता, सडक सुविधा र सरकारी तथा स्थानीय तहको सहयोग निरन्तर भए अकबरे खुर्सानी भोजपुरका किसानको आम्दानीको प्रमुख आधार बन्न सक्ने देखिएको छ ।