काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बेहुली’ को सशक्त ट्रेलर सार्वजनिक गरिएको छ। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध, मित्रता र विभिन्न अवरोधलाई मुख्य विषयका रूपमा प्रस्तुत गरिएको छ।
सार्वजनिक ट्रेलरमा अभिनेता पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीबीचको प्रेम सम्बन्ध तथा उनीहरूको केमेस्ट्रीलाई प्राथमिकताका साथ देखाइएको छ। प्रेम सम्बन्धसँगै पारिवारिक तथा सामाजिक परिस्थितिले निम्त्याउने उतारचढावलाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ।
त्यस्तै, करिब आठ वर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गरेका अभिनेता सुशान्त कार्कीलाई ट्रेलरमा प्रहरीको भूमिकामा देखाइएको छ। उनको चरित्रले चलचित्रको कथामा थप रहस्य र द्वन्द्व सिर्जना गर्ने संकेत ट्रेलरले दिएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता अर्जुन पोखरेलले चलचित्रको सामाजिक उत्तरदायित्वसम्बन्धी महत्वपूर्ण घोषणा गरेका छन्। उनका अनुसार चलचित्रले बक्स अफिसमा गर्ने कुल कमाइमध्ये निर्माताको भागमा पर्ने रकमको पाँच प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा प्रदान गरिनेछ।
चलचित्रका निर्माता पोखरेलले विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बताएका छन्। चलचित्रबाट प्राप्त आम्दानीको निश्चित हिस्सा राहत कोषमा उपलब्ध गराउने घोषणालाई चलचित्र क्षेत्रबाट सामाजिक सहयोगको पहलका रूपमा समेत हेरिएको छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी र सुशान्त कार्कीका साथै पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी र विशाल पहारीलगायतका कलाकारको अभिनय रहेको छ।
प्रेम, पारिवारिक सम्बन्ध, मित्रता र विभिन्न अवरोधलाई कथाको केन्द्रमा राखिएको चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक पक्षसँग जोड्ने अपेक्षा गरिएको छ। सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु, कलाकारको अभिनय र सम्बन्धहरूबीचको द्वन्द्वलाई झल्काउँदै प्रदर्शनप्रति दर्शकको चासो बढाएको छ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘बेहुली’ ले बक्स अफिसमा कस्तो प्रदर्शन गर्ने हो भन्ने चासोका बीच चलचित्रको प्रचारप्रसारलाई समेत तीव्रता दिइएको छ।