ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावमा अझै पर्यटकको पर्खाइमा रहेको छ । ककनी खोलाको करिब ५०० मिटर दूरीभित्र तीनवटा ठूला तथा आकर्षक झरना रहेका छन् । प्राकृतिक रूपमा अत्यन्त मनमोहक भए पनि प्रचारमा आउन नसक्दा यो क्षेत्र ओझेलमा परेको स्थानीयको भनाइ छ ।
ककनी गाउँ हुँदै बग्ने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत हुन्छ । यही खोलाले करिब ५०० मिटरको दूरीभित्र तीनवटा फरक–फरक झरनाको रूप लिएको छ । एउटै खोलाबाट छोटो दूरीमा तीनवटा आकर्षक झरना देख्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय सम्भावना बोकेको गन्तव्यका रूपमा स्थानीयले लिने गरेका छन् ।
तीनछाँगे झरनाको पहिलो झरना ककनी गाउँ नजिकै रहेको छ । यहाँ पुग्न अन्य दुई झरनाको तुलनामा सहज छ । झरनासम्म पुग्नका लागि गोरेटो बाटो, रेलिङ, विश्रामस्थल तथा काठेपुललगायतका केही पूर्वाधार निर्माण गरिएका छन् । गाउँबाट करिब १० मिनेट पैदल यात्रा गरेपछि पहिलो झरनामा पुग्न सकिन्छ । गाउँ नजिकै र सहज पहुँच भएकाले पहिलो झरनामा स्थानीय तथा आगन्तुकको आवतजावत तुलनात्मक रूपमा बढी हुने गरेको छ ।
पहिलो झरनाबाट केही दूरीमा दोस्रो झरना रहेको छ । पहिलो झरना नजिकै भए पनि भौगोलिक बनावटका कारण त्यहाँ पुग्न घुमाउरो बाटो हुँदै ओरालो झर्नुपर्छ । करिब २० मिनेट पैदल हिँडेपछि दोस्रो झरनामा पुग्न सकिन्छ । स्थानीयका अनुसार यही झरना ककनी खोलाको सबैभन्दा अग्लो झरना हो । अग्लो चट्टानबाट खस्ने पानीको दृश्यले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने स्थानीय दिलबहादुर तामाङ बताउनुहुन्छ ।
“ककनी खोलाका तीनवटै झरना आकर्षक छन्,” तामाङ भन्नुहुन्छ, “तर भौगोलिक विकटताका कारण पर्यटकको बाक्लो उपस्थिति हुन सकेको छैन ।”
ककनी खोलाको तेस्रो झरना भने अझ विकट स्थानमा रहेको छ । खोचभित्र रहेको यो झरनासम्म पुग्न सहज बाटो छैन । अन्य दुई झरनाको तुलनामा तेस्रो झरना अझ सुन्दर र आकर्षक भए पनि बाटोको अभावका कारण धेरै मानिस त्यहाँसम्म पुग्न नसकेको स्थानीयको भनाइ छ । प्राकृतिक रूपमा निकै आकर्षक रहेको यो झरनालाई व्यवस्थित रूपमा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ ।
तीनछाँगे झरनाको अर्को महत्वपूर्ण पक्ष धार्मिक पर्यटनसँग जोडिनु हो । ककनी खोलाको शिरमा ओखलढुङ्गाको प्रसिद्ध ककनी चम्पादेवी मन्दिर रहेको छ । धार्मिक आस्था बोकेको मन्दिर र प्राकृतिक सौन्दर्यले भरिएको झरनालाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने देखिन्छ ।
झरना क्षेत्रमा पर्यटकको पहुँच बढाउन प्रदेश तथा स्थानीय सरकारको पहलमा केही पूर्वाधार निर्माण भएका छन् । पहिलो र दोस्रो झरनातर्फ जाने गोरेटो बाटो, रेलिङ, विश्रामस्थल तथा काठेपुल निर्माण गरिएका छन् । तर ती संरचना अझै पूर्ण र पर्याप्त नभएको स्थानीयको गुनासो छ ।
स्थानीय ढकबहादुर सुनुवारका अनुसार ककनी गाउँसम्म पुग्ने सडकदेखि झरना क्षेत्रसम्म आवश्यक पूर्वाधार विस्तार गर्न सके पर्यटकको संख्या उल्लेख्य रूपमा बढाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, “ककनी गाउँसम्म आउने सडकदेखि झरनासम्म जाने पूर्वाधार अझै थप गर्न सके पर्यटक आकर्षित हुनसक्ने सम्भावना छ ।”
पर्यटकका लागि बाटो, सुरक्षा, विश्रामस्थल, सूचना केन्द्र तथा अन्य आधारभूत सुविधा विस्तार गर्न सके तीनछाँगे झरनाले ओखलढुङ्गाको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्न सक्ने स्थानीयको विश्वास छ । विशेषगरी वर्षायाममा झरनामा पानीको बहाव बढ्ने भएकाले यसको प्राकृतिक सौन्दर्य झनै आकर्षक देखिन्छ ।
झरना नजिकै रहेको ककनी गाउँमा तामाङ र सुनुवार समुदायको बाक्लो बसोबास रहेको छ । पर्यटकको आगमन बढाउन स्थानीयले आफ्नो घरमै होमस्टे सञ्चालनसमेत गर्दै आएका छन् । गाउँको मौलिक संस्कृति, स्थानीय खानपान र ग्रामीण जीवनशैलीसँगै झरनाको अवलोकन गर्न सकिने भएकाले यहाँ ग्रामीण पर्यटनको समेत राम्रो सम्भावना रहेको छ ।
होमस्टे सञ्चालक नरबहादुर सुनुवारका अनुसार पर्यटकलाई लक्षित गरेर गाउँमा बसोबासको सुविधा उपलब्ध गराइएको छ । “झरना नजिकै बास बस्ने सुविधायुक्त होमस्टेसमेत व्यवस्था गरेका छौँ,” उहाँ भन्नुहुन्छ, “त्यसैले पर्यटकको आवागमन बढाउन जोड दिइरहेका छौँ ।”
पर्यटनको विकासले प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याउन सक्ने स्थानीयको अपेक्षा छ । पर्यटकको संख्या बढेमा होमस्टे, स्थानीय उत्पादन, कृषि उपज, हस्तकला तथा स्थानीय खानाका परिकारको बिक्रीबाट गाउँलेले प्रत्यक्ष आम्दानी गर्न सक्नेछन् । यसले स्थानीय युवालाई पर्यटन क्षेत्रमा रोजगारीको अवसरसमेत सिर्जना गर्न सक्ने देखिन्छ ।
यसरी पुग्न सकिन्छ तीनछाँगे झरना
जिल्ला सदरमुकाम ओखलढुङ्गाबाट तीनछाँगे झरना क्षेत्र करिब तीन घण्टाको यात्रामा पुग्न सकिन्छ । सदरमुकामबाट कटुञ्जेको कोषहाट हुँदै ककनी गाउँसम्म बाइक वा जिपमार्फत पुग्न सकिन्छ । त्यसपछि गाउँबाट पैदल यात्रा गर्दै पहिलो र दोस्रो झरनासम्म पुग्न सकिन्छ । तेस्रो झरनाका लागि भने हाल सहज पैदलमार्ग उपलब्ध छैन ।
सडक तथा पदमार्गको स्तरोन्नति, पर्यटकीय सूचना बोर्ड, सुरक्षा व्यवस्था, विश्रामस्थल र अन्य आवश्यक पूर्वाधार विस्तार गर्न सके झरना क्षेत्रमा पर्यटकको आगमन बढाउन सकिने स्थानीयको भनाइ छ ।
तीनछाँगे झरना केवल झरना हेर्न जाने ठाउँ मात्र नभई प्रकृति, ग्रामीण जीवन, स्थानीय संस्कृति र धार्मिक पर्यटनलाई एकै ठाउँमा अनुभव गर्न सकिने सम्भावनायुक्त गन्तव्य हो । भौगोलिक दुर्गमताका बाबजुद प्राकृतिक सौन्दर्यमा रमाउन चाहने पर्यटकका लागि यो क्षेत्र आकर्षक गन्तव्य बन्न सक्छ ।
ओझेलमा परेको तीनछाँगे झरनालाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्दै आवश्यक पूर्वाधार निर्माण गर्न सके ओखलढुङ्गाको पर्यटन नक्सामा यसको छुट्टै पहिचान स्थापित हुने सम्भावना छ । स्थानीयको आर्थिक समृद्धिसँग जोडिएको यस क्षेत्रको पर्यटन विकासका लागि तीन तहकै सरकार, स्थानीय समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक देखिन्छ ।