काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता लगिएको छ।
शुक्रबार कार्यालय समय सकिने समयमा देउवाका वारेसले सर्वोच्च अदालत प्रशासनबाट रिट फिर्ता लगेका हुन्। सर्वोच्चमा पेश भएको रिटमा आवश्यक ‘करेक्सन’ गर्नुपर्ने भन्दै फिर्ता लगिएको बताइएको छ।
पूर्वसभापति देउवाले शुक्रबार दिउँसो वारेसमार्फत सर्वोच्च अदालतमा रिट पेश गरेका थिए। रिट पेश भएपछि सर्वोच्च अदालत प्रशासनले त्यसलाई अध्ययनका क्रममा विचाराधीन अवस्थामा राखेको थियो।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार साँझतिर देउवाका वारेस अदालतमा आएर रिट फिर्ता लगेका हुन्। रिटमा आवश्यक संशोधन तथा सुधार गरेपछि पुनः पेश गर्ने तयारी रहेको बुझिएको छ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी असोजमा पार्टीको १५औँ महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। सोही महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै देउवाले सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए।
महाधिवेशनको मिति तथा तयारीलाई लिएर कांग्रेसभित्र लामो समयदेखि राजनीतिक बहस चलिरहेको छ। पार्टीको विधान, महाधिवेशनको प्रक्रिया तथा नेतृत्व चयनसँग सम्बन्धित विषयमा विभिन्न धारणा सार्वजनिक भइरहेका बेला पूर्वसभापति देउवाबाट सर्वोच्चमा रिट पेश भएको हो।
तर शुक्रबार पेश गरिएको रिट अदालतबाट तत्काल दर्ता भएर सुनुवाइको प्रक्रियामा प्रवेश गर्न भने सकेन। आवश्यक ‘करेक्सन’ का लागि वारेसमार्फत फिर्ता लगिएकाले अब संशोधित रिट पुनः सर्वोच्चमा पेश हुने वा नहुने विषय महत्वपूर्ण बनेको छ।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र देखिएको विवाद र कानुनी प्रक्रियाले महाधिवेशनको निर्धारित कार्यतालिकामा समेत प्रभाव पार्छ कि पार्दैन भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।