भोजपुर । भोजपुर जिल्लामा यस वर्ष धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। अनुकूल मनसुन र पर्याप्त वर्षाका कारण अधिकांश क्षेत्रमा समयमै रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी घनश्याम बराल का अनुसार हालसम्म जिल्लामा ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६ प्रतिशत हो। जिल्लामा धानखेतीका लागि १२ हजार ५० दशमलव ८१ हेक्टर क्षेत्रफल उपयुक्त रहेको केन्द्रले जनाएको छ।
भोजपुरको कुल खेतीयोग्य जमिन ६२ हजार २९९ हेक्टर रहेको छ। जिल्लाका नौवटै स्थानीय तहका तल्लो भेग, बेँसी र फाँट क्षेत्रमा धान मुख्य खाद्यबालीका रूपमा खेती गरिँदै आएको छ। विशेषगरी बेँसी तथा फाँट क्षेत्रमा किसानहरूले वर्षमा दुई बालीसम्म धान उत्पादन गर्ने गरेका छन्।
यस वर्ष मनसुन सक्रिय रहेकाले रोपाइँका लागि आवश्यक पानीको अभाव हुन पाएन। पर्याप्त वर्षाका कारण किसानहरूले समयमा नै खेत तयारी गरेर रोपाइँ सम्पन्न गर्न सकेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार समयमै रोपाइँ सम्पन्न हुनु उत्पादन वृद्धि हुने प्रमुख आधारमध्ये एक हो।
भोजपुरमा केही क्षेत्रमा बर्खे धान लगाइने भए पनि अधिकांश स्थानमा मङ्सिरे धान उत्पादन हुने गरेको छ। समयमा रोपाइँ सम्पन्न भएकाले यस वर्ष धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने कृषि ज्ञान केन्द्रको अपेक्षा छ।
किसानहरू पनि अनुकूल मौसमका कारण यस वर्ष उत्पादन राम्रो हुनेमा आशावादी देखिएका छन्। कृषि विज्ञहरूका अनुसार आगामी दिनमा मौसम अनुकूल रहेमा भोजपुरमा धान उत्पादन गत वर्षको तुलनामा थप सुधार हुने सम्भावना रहेको छ।