काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियाको औपचारिक सुरुआत गरेको छ। पार्टीले सोमबारदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्दै योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गर्ने नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो।
रास्वपाले साउन १३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा ‘क्यान्डिडेट क्लब’को घोषणा गरेपछि आवेदन प्रक्रिया सुरु गरेको जनाएको छ।
उम्मेदवार बन्न तीन चरण अनिवार्य
पार्टीका महासचिव विपिन कुमार आचार्यले तयार पारेको ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुसार स्थानीय तहको उम्मेदवार बन्न चाहने सबै आकांक्षीले तीन चरणको अनिवार्य प्रक्रिया पूरा गर्नुपर्नेछ।
पहिलो चरणमा ‘क्यान्डिडेट क्लब’मा आवेदन दर्ता गर्नुपर्नेछ। यस चरणमा इच्छुक व्यक्तिको व्यक्तिगत पृष्ठभूमि, अनुभव, विज्ञता तथा आधारभूत योग्यतासम्बन्धी तथ्याङ्क सङ्कलन र प्रारम्भिक परीक्षण गरिनेछ।
दुई तहको क्यान्डिडेट क्लब
रास्वपाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दुई प्रकारका क्यान्डिडेट क्लब गठन गरेको छ।
पालिका क्यान्डिडेट क्लब
वडा क्यान्डिडेट क्लब
यसमा सहभागी हुन नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, रास्वपाको विधान तथा स्थानीय उम्मेदवार छनोटका विश्वव्यापी मान्यतालाई आधार बनाइएको छ।
यी योग्यता अनिवार्य
पार्टीका अनुसार सहभागी हुन निम्न सर्तहरू पूरा गर्नुपर्नेछः
संवैधानिक तथा कानुनी योग्यता,
पार्टी विधानअनुसारको योग्यता,
प्रणालीगत थप योग्यता,
अनिवार्य स्वघोषणा।
यी सबै मापदण्ड पूरा गरेपछि मात्रै उम्मेदवार छनोटको अर्को चरणमा प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ।
दोस्रो चरणमा नेतृत्व प्रशिक्षण
प्रारम्भिक छनोटपछि सहभागीलाई ‘लिडरसिप एकेडेमी’मार्फत नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिइनेछ। पार्टीका अनुसार यस प्रशिक्षणले स्थानीय तहमा निर्वाचित भएपछि आवश्यक नेतृत्व क्षमता र सुशासनसम्बन्धी दक्षता विकास गर्न सहयोग गर्ने उद्देश्य राखेको छ।
अन्तिम चरणमा परीक्षण
तेस्रो तथा अन्तिम चरणमा पार्टीले तयार पारेको छनोट रूपरेखाअनुसार उम्मेदवारहरूको विस्तृत परीक्षण, मूल्याङ्कन र अन्तिम छनोट गरिनेछ।
रास्वपाले परम्परागत सिफारिस र गुटगत प्रभावभन्दा फरक ढंगले योग्यता, क्षमता, इमानदारी र पारदर्शी मूल्याङ्कनलाई आधार बनाएर उम्मेदवार चयन गर्ने दाबी गरेको छ। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले यही प्रणालीमार्फत नयाँ नेतृत्व तयार गर्ने रणनीति अघि सारेको जनाएको छ।