Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनकुटामा कोदोका १० जातको कार्यमुखी अनुसन्धान सुरु, उत्पादन र किसानका लागि उपयुक्त जात पहिचान गरिँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २६ २०८३
  • 779
    SHARES

काठमाडौं । धनकुटा नगरपालिकाको खाम्बेलामा कोदोका १० विभिन्न जातको कार्यमुखी अनुसन्धान सुरु गरिएको छ । स्थानीय किसान, जनप्रतिनिधि तथा कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा कोदोका विभिन्न जातको जातीय परीक्षण सञ्चालन गरिएको हो ।

अनुसन्धानअन्तर्गत पाँच वटा उन्नत जात ओख्ले, डल्ले, काभ्रे–१, काभ्रे–२ र सैलुङको परीक्षण भइरहेको छ । यस्तै केएलइ–१५८, केएलइ–१५९ र केएलइ–२३६ तथा धनकुटाका स्थानीय लुली र मुड्की गरी १० जातको परीक्षण सुरु गरिएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का डा. कमल अर्यालले जानकारी दिए ।

यी जातलाई वैज्ञानिक विधिअनुसार यादृच्छिक पूर्ण ब्लक डिजाइन (आरसीबिडी) अर्थात् फरक–फरक लाइनमा विभाजन गरी ३० वटा साना क्षेत्रमा रोपण गरिएको छ । विभिन्न जातको उत्पादन क्षमता, स्थानीय वातावरणसँगको अनुकूलता तथा किसानका लागि उपयोगितालगायत पक्षको तुलनात्मक अध्ययन गर्ने उद्देश्यले परीक्षण सञ्चालन गरिएको हो ।

कुन जात बढी उत्पादनशील र उपयोगी हुन्छ भन्ने अध्ययन

जातीय परीक्षणमार्फत स्थानीय हावापानी र माटोमा कुन जात बढी उपयुक्त हुन्छ भन्ने पहिचान गरिनेछ । साथै विभिन्न जातको उत्पादन क्षमता, रोग तथा वातावरणीय अनुकूलता, खेती प्रविधि र किसानका लागि आर्थिक रूपमा कुन जात बढी लाभदायक हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिनेछ ।

यस परीक्षणमा इसिमोड, स्थानीय समुदाय, धनकुटा नगरपालिका, कृषि ज्ञान केन्द्र धनकुटा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबासबीच सहकार्य रहेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक एवं कोदो विज्ञ डा. कृष्णहरि घिमिरेले अनुसन्धानका लागि प्राविधिक परामर्श प्रदान गरिरहेका छन् । उनको प्राविधिक सहयोगमा कोदोका विभिन्न जातको परीक्षण तथा अनुसन्धान अघि बढाइएको हो ।

इसिमोडका डा. कमल अर्यालले स्थानीयस्तरमै वैज्ञानिक अनुसन्धान सञ्चालन गरी किसानलाई प्रत्यक्ष सहभागी गराउँदा उपयुक्त जात र प्रविधि छनोट गर्न सहज हुने बताए ।

उनका अनुसार किसानको सहभागितामा गरिने यस्तो अनुसन्धानले स्थानीय आवश्यकता र वास्तविक खेती प्रणालीलाई समेत समेट्ने भएकाले अनुसन्धानबाट प्राप्त परिणाम व्यवहारिक रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ । यसबाट कोदोको उत्पादन वृद्धि गर्नुका साथै खाद्य तथा पोषण सुरक्षामा समेत योगदान पुग्ने उनको भनाइ छ ।

किसानले एउटै स्थानमा विभिन्न जातको तुलना गर्न पाउने

जातीय परीक्षणबाट स्थानीय कृषकले नयाँ तथा सिफारिस गरिएका कोदोका विभिन्न जातलाई एउटै स्थानमा प्रत्यक्ष अवलोकन, तुलना र मूल्याङ्कन गर्ने अवसर पाउनेछन् ।

कुन जात स्थानीय हावापानी र माटोमा बढी उपयुक्त हुन्छ, कुन जातको उत्पादन क्षमता बढी छ, कुन जात खेती गर्न सहज छ तथा किसानका लागि कुन जात बढी लाभदायक हुन सक्छ भन्ने विषयमा अनुसन्धानबाट निष्कर्ष निकालिने इसिमोडले जनाएको छ ।

यसले किसानलाई परम्परागत रूपमा खेती गर्दै आएका स्थानीय जातसँगै नयाँ तथा उन्नत जातको विशेषता बुझ्न र आफ्नो आवश्यकता तथा स्थानीय वातावरणअनुसार उपयुक्त जात छनोट गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उपयुक्त जातको प्रवर्द्धन र बजारीकरणमा नगरपालिकाको सहयोग

धनकुटा नगरपालिकाले अनुसन्धानबाट छनोट हुने उपयुक्त कोदोका जातको प्रवर्द्धन तथा बजारीकरणमा समेत सहयोग गर्ने जनाएको छ ।

नगरपालिकाले कोदो तथा अन्य रैथाने बालीको उत्पादनसँगै प्रशोधन, मूल्य अभिवृद्धि र बजार व्यवस्थापनमा सहयोग गर्ने योजना बनाएको आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्थानीयस्तरमा उत्पादित कोदो तथा कोदोबाट बनेका विभिन्न परिकार र प्रशोधित वस्तुलाई बजारसँग जोड्न सके किसानको आम्दानी बढाउन सकिनेछ ।

कोदो नेपालको महत्वपूर्ण रैथाने बाली भए पनि पछिल्लो समय खेतीयोग्य जमिनको उपयोगमा आएको परिवर्तन, श्रम अभाव तथा बजारको सीमितताका कारण यसको उत्पादन तथा खेती क्षेत्र प्रभावित हुँदै आएको छ । यस्तो अवस्थामा स्थानीयस्तरमै विभिन्न जातको वैज्ञानिक परीक्षण गरी उत्पादनशील र बजारको दृष्टिले उपयोगी जात पहिचान गर्न सके कोदो खेतीलाई व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

धनकुटामा सुरु गरिएको यो अनुसन्धानबाट स्थानीय माटो र हावापानीका लागि उपयुक्त कोदोका जात पहिचान हुनुका साथै किसानको उत्पादन र आम्दानी वृद्धि तथा रैथाने बालीको संरक्षणमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४