Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २४ २०८३
  • 931
    SHARES

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई नागरिकसँगको व्यवहार सुधार गर्दै बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन अनिवार्य रूपमा कायम गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै सभापति गजुरेलले ट्राफिक प्रहरीको कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले ट्राफिक प्रहरी नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूको व्यवहारले समग्र प्रहरी संगठनप्रतिको धारणा निर्माण गर्ने बताउनुभयो । केही प्रहरी कर्मचारीका कमजोरीका कारण सिंगो संगठनले बदनामी व्यहोर्नुपर्ने अवस्था आउन नहुने उहाँको भनाइ थियो ।

नागरिकसँगको व्यवहार सुधार्नुपर्ने

सभापति गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताउनुभयो । नियम कार्यान्वयन गर्ने क्रममा नागरिकलाई सम्मानजनक र मर्यादित व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले केही ट्राफिक प्रहरी कर्मचारीले नियम उल्लंघन गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुको सट्टा चिट नकाटी पैसा लिएर छाड्ने गरेको गुनासो आउने गरेको उल्लेख गर्नुभयो ।

यस्ता गतिविधिले प्रहरी संगठनप्रति नागरिकको विश्वास कमजोर बनाउने भन्दै उहाँले अब संगठनमा यस्ता कुरा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

आर्थिक अनुशासनमा कडाइ आवश्यक

सभापति गजुरेलले ट्राफिक प्रहरीमा आर्थिक अनुशासनलाई अनिवार्य रूपमा पालना गराउनुपर्ने बताउनुभयो । नियम उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने तर आर्थिक लेनदेनका आधारमा उन्मुक्ति दिने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाह गर्दा बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

प्रविधिमैत्री र सुविधासम्पन्न ट्राफिक प्रहरी आवश्यक

सभापति गजुरेलले ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री तथा आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो ।

ट्राफिक व्यवस्थापनलाई आधुनिक र प्रभावकारी बनाउन प्रविधिको प्रयोग बढाउनुपर्ने उल्लेख गर्दै उहाँले ट्राफिक प्रहरीलाई आवश्यक स्रोत, साधन र सुविधा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताउनुभयो ।

तर ट्राफिक प्रहरीलाई सुविधा र अधिकारसम्पन्न बनाउनेसँगै उनीहरूले नागरिकसँग गर्ने व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

नीति बनाएर मात्रै हुँदैन, कार्यान्वयन आवश्यक

सभापति गजुरेलले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय यातायात नीति २०८३ मा ट्राफिक व्यवस्थापन सुधारसँग सम्बन्धित विषय समेटिएको उल्लेख गर्दै उहाँले अब नीतिमा रहेका व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा यातायात प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

एक लाखदेखि डेढ लाखसम्म जरिवाना गर्ने व्यवस्था कार्यान्वयनमा आएको छैन

सभापति गजुरेलले ट्राफिक नियम उल्लंघन गरेबापत एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भए पनि त्यस्तो व्यवस्था हाल कार्यान्वयनमा नआएको स्पष्ट पार्नुभएको छ ।

जरिवानाको रकम अत्यधिक बनाउने वा घटाउने विषयमा निर्णय गर्नुअघि नागरिक तथा सम्बन्धित सरोकारवाला निकायसँग छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।

ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने भए पनि त्यससँगै नागरिकलाई नियमबारे जानकारी गराउने तथा सचेत बनाउने कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।

देशभर ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह

सभापति गजुरेलले काठमाडौंलगायत विभिन्न सहरमा बाहिरी जिल्लाबाट आउने नागरिकलाई स्थानीय ट्राफिक नियम तथा व्यवस्थाबारे पर्याप्त जानकारी नहुन सक्ने बताउनुभयो ।

विशेषगरी काठमाडौंमा देशका विभिन्न स्थानबाट दैनिक ठूलो संख्यामा मानिस तथा सवारीसाधन आउने भएकाले उनीहरूलाई ट्राफिक नियमबारे जानकारी गराउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले ट्राफिक प्रहरीलाई देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । नियम उल्लंघन गरेपछि कारबाही गर्नेभन्दा पहिले नागरिकलाई नियम, सडक सुरक्षा र सुरक्षित सवारी सञ्चालनबारे पर्याप्त जानकारी गराउन सके दुर्घटना तथा ट्राफिक समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन कानुनको कडाइका साथ कार्यान्वयन, प्रविधिको प्रयोग, प्रहरीको व्यवहार सुधार तथा नागरिकमा जनचेतना अभिवृद्धि सबै पक्षलाई एकसाथ अघि बढाउनुपर्ने सभापति गजुरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४