काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित काडाघारी प्रहरी प्रभागको पुनर्निर्माण सम्पन्न भवनको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम भोलि शनिबार बिहान ८:०० बजे आयोजना हुने भएको छ। आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको प्रहरी प्रभागको भवन स्थानीय समुदाय, विभिन्न संघ–संस्था, दाताहरू तथा सहयोगी निकायको आर्थिक र जिन्सी सहयोगमा पुनर्निर्माण सम्पन्न भएपछि औपचारिक रूपमा उद्घाटन तथा नेपाल प्रहरीलाई हस्तान्तरण गर्न लागिएको हो।
काडाघारी प्रहरी प्रभाग पुनर्निर्माण समितिका अनुसार कार्यक्रम प्रहरी प्रभाग परिसरमै आयोजना हुनेछ। कार्यक्रममा नेपाल प्रहरीका संगठन प्रमुख तथा प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। प्रहरी महानिरीक्षक कार्कीको उपस्थितिले पुनर्निर्माण अभियानमा स्थानीय समुदाय र नेपाल प्रहरीबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रमको सभाध्यक्षता कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ का कार्यवाहक वडा अध्यक्ष भक्त थापाले गर्नेछन्। कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी, स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, दातृ निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) सुशील सिंह राठौर विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्। त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, नगर उपप्रमुख शान्ता थापा, काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (SSP) दिलीप घिमिरे तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (SSP) सुरेश काफ्ले पनि विशिष्ट अतिथिका रूपमा कार्यक्रममा उपस्थित रहने कार्यक्रम तय गरिएको छ।
यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगर प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष हरिभक्त पुडासैनी, वडा नं. ९ का अध्यक्ष अनिल थापा लगायत अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहने जनाइएको छ।
स्मरणीय छ, २०८२ साल भदौ २४ गते भएको आन्दोलनका क्रममा काडाघारी प्रहरी प्रभागमा आगजनी हुँदा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। घटनापछि प्रहरी कार्यालयको सेवा प्रवाह प्रभावित भएको थियो भने स्थानीयवासीले समेत सुरक्षासम्बन्धी सेवा लिन कठिनाइ भोग्नुपरेको थियो। त्यसपछि स्थानीय समुदाय, विभिन्न सामाजिक संघ–संस्था, व्यवसायी, दातृ निकाय तथा सहयोगी व्यक्तिहरूको सक्रिय पहलमा भवन पुनर्निर्माणको अभियान सुरु गरिएको थियो।
छोटो अवधिमै आवश्यक आर्थिक तथा जिन्सी सहयोग जुटाएर भवन पुनर्निर्माण सम्पन्न गरिएको आयोजकले जनाएको छ। पुनर्निर्माण सम्पन्न भएसँगै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट स्थानीय नागरिकलाई थप प्रभावकारी र सहज सुरक्षा सेवा उपलब्ध हुने विश्वास गरिएको छ। साथै प्रहरी र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा पनि गरिएको छ।
आयोजक काडाघारी प्रहरी प्रभाग पुनर्निर्माण समिति ले यो पुनर्निर्माण अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण दाताहरू, स्थानीयवासी, सामाजिक संघ–संस्था तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरेको छ। समितिले कार्यक्रमको गरिमा बढाउन सबै सरोकारवाला, स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूलाई भोलि शनिबार बिहान ८:०० बजे काडाघारी प्रहरी प्रभाग परिसरमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।
पुनर्निर्माण सम्पन्न भवनको उद्घाटनसँगै काडाघारी प्रहरी प्रभागले व्यवस्थित भौतिक पूर्वाधारबाट सेवा सञ्चालन गर्ने भएकाले स्थानीय तहमा शान्ति, सुरक्षा र नागरिकमैत्री प्रहरी सेवाको प्रभावकारिता थप बढ्ने विश्वास व्यक्त गरिएको छ।