काठमाडौं । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ स्थित सलोखरी (दास टोल) बाट प्रहरीले एक थान पेस्तोल र म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि हतियार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति फूलबारीबाट गाउँतर्फ आउँदै गरेको अवस्थामा शंकास्पद गतिविधिका आधारमा प्रहरीले उनीहरूलाई जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट एक थान पेस्तोल र त्यससँग सम्बन्धित म्याग्जिन बरामद भएपछि नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका–२२ निवासी २१ वर्षीय सञ्जय दास, २० वर्षीय गुरुदेव दास तथा लक्ष्मीपुर पतारी गाउँपालिका–६ निवासी २० वर्षीय सारबजित दास रहेका छन्।
प्रहरीले बरामद गरिएको पेस्तोल र म्याग्जिनको स्रोत, हतियार किन र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी कारबाही गरिने जनाएको छ।