काठमाडौं। बागलुङमा खाना पकाउने एलपीजी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पिकअप भ्यानसहित पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बागलुङ नगरपालिका–१३ निवासी ४३ वर्षीय भूपति जैसी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–१ रामरेखास्थित सडक क्षेत्रमा जैसीले पिकअप भ्यानमार्फत ‘गृहलक्ष्मी’ ब्रान्डका एलपीजी खाना पकाउने ग्यास सिलिन्डर तोकिएको मूल्यभन्दा बढी रकम लिएर लुकाइछिपाई सर्वसाधारणलाई बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी गरेको थियो।
प्रहरीले शंकास्पद पिकअप भ्यान रोकी जाँच गर्दा ४१ थान भरिएका गृहलक्ष्मी ग्यास सिलिन्डर र बिक्री भइसकेका १९ थान खाली सिलिन्डर फेला पारेको जनाएको छ। त्यसपछि प्रहरीले ग्यास सिलिन्डर, पिकअप भ्यान र चालक जैसीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट सिलिन्डरहरू कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री वितरण गर्ने उद्देश्यले लुकाएर राखिएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
जिल्ला प्रशासन कार्यालय बागलुङबाट कालोबजारीसम्बन्धी कसुर अन्तर्गत सात दिनको म्याद थप अनुमति लिएर भूपति जैसीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाई भण्डारण गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य कानुनविपरीत हुने भन्दै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।