काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने मूल नारासहित सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार आफ्नो ६९०औँ हप्ता सफलतापूर्वक सम्पन्न गरेको छ। यस साताको अभियान गुह्येश्वरी फाँटस्थित वाग्मती नदी किनारमा केन्द्रित गरिएको थियो।
अभियानका क्रममा करिब आधा टन नकुहिने फोहोर संकलन गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। उनका अनुसार संकलन गरिएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका–वातावरण विभाग, टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ भने कुहिने फोहोरलाई नदी किनारमै सुरक्षित रूपमा गाडिएको छ।
सफाइसँगै वृक्षारोपण पनि
सफाइ अभियानमा काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, तिलगङ्गा महिला समूह तथा वाग्मती अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
अभियानका क्रममा ५० वटा विभिन्न जातका बिरुवा वाग्मती नदी किनारमा रोपिएको छ। साथै, गत वर्ष रोपिएका बिरुवाको गोडमेल र संरक्षणसम्बन्धी कार्य पनि गरिएको अभियानले जनाएको छ।
अर्को शनिबार पनि अभियान जारी
महाअभियानका आयोजकका अनुसार ६९१औँ हप्ताको सफाइ कार्यक्रम पनि गुह्येश्वरी क्षेत्रमै सञ्चालन गरिनेछ। आगामी हप्तामा पनि नदी सफाइसँगै वृक्षारोपण र बिरुवाको संरक्षण अभियानलाई निरन्तरता दिइने जनाइएको छ।
१३ वर्षदेखि निरन्तर अभियान
वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। वर्षा, गर्मी, जाडो, चाडपर्व, २०७२ सालको भूकम्प तथा कोरोना महामारीजस्ता चुनौतीपूर्ण परिस्थितिमा समेत अभियान रोकिएको छैन।
देशभर फैलियो सफाइ अभियान
वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट वाग्मतीका सहायक नदीहरूमा मात्र होइन, काठमाडौँ उपत्यकाका चक्रपथका विभिन्न खण्ड, विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूनाथ क्षेत्रमा पनि नियमित सफाइ अभियान सञ्चालन हुँदै आएको छ।
यसबाहेक, काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहर तथा नदी किनारमा समेत यस्ता अभियान विस्तार भएका छन्। हाल देशभर १०८ भन्दा बढी स्थानमा नियमित सफाइ अभियान सञ्चालन भइरहेको जनाइएको छ।
महाअभियानले वातावरण संरक्षण, नदी सफाइ, हरियाली प्रवर्द्धन र नागरिक स्वयंसेवाको संस्कृतिलाई सुदृढ बनाउने उद्देश्यका साथ आगामी दिनमा पनि अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।