एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी खोप कार्यक्रम सञ्चालन गर्ने संस्था गाभी (Gavi, the Vaccine Alliance) लाई ६० करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। तर, यही कोषमार्फत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्राप्त गर्दै आएको अमेरिकी आर्थिक सहयोग भने पूर्ण रूपमा रोक्ने निर्णय गरिएको छ।
अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अमेरिकाले गाभीमार्फत डब्लूएचओलाई कुनै पनि अमेरिकी सरकारी रकम उपलब्ध नगराउने निर्णय पुनः पुष्टि गरिएको उल्लेख गरिएको छ। यो निर्णय डब्लूएचओका लागि ठूलो आर्थिक धक्का हुने विश्लेषण गरिएको छ।
विज्ञप्तिअनुसार राष्ट्रपति डोनल्ड ट्रम्पले स्वास्थ्य तथा मानव सेवा मन्त्री रोबर्ट एफ. केनेडी जुनियर र विदेश मन्त्री मार्को रुबियोलाई गाभीसँग आवश्यक सुधारका सर्तहरूमा वार्ता गर्दै अमेरिकी सहयोगलाई निरन्तरता दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार गाभीलाई सहयोग पुनः उपलब्ध गराउने तर डब्लूएचओलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमेरिकी रकम नजाने नीति अपनाइएको जनाइएको छ।
अमेरिकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले विश्वभर खोपको पहुँच विस्तार गर्ने गाभी कार्यक्रमलाई सहयोग पुनः उपलब्ध गराउने सरकारको निर्णयको स्वागत गरेकी छन्। उनले खोप अभियानलाई निरन्तरता दिन अमेरिकी सहयोग आवश्यक रहेको बताएकी छन्।
विदेश मन्त्रालयका अनुसार गाभीले आफ्नो सञ्चालक समिति तथा साझेदार राष्ट्रहरूसँग सहकार्य गर्दै पारो (मर्करी) युक्त खोपलाई क्रमशः पारोरहित खोपले प्रतिस्थापन गर्ने दिशामा काम गर्न सहमति जनाएको छ। यही प्रतिबद्धतालाई पनि अमेरिकी सहयोग पुनः सुरु गर्ने आधारका रूपमा लिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विश्लेषकहरूले ट्रम्प प्रशासनको यो निर्णयलाई डब्लूएचओप्रति विगतदेखि रहँदै आएको असन्तुष्टि र नीतिगत दूरीकै निरन्तरता भएको बताएका छन्। अमेरिकाले गाभीमार्फत विश्वव्यापी खोप कार्यक्रमलाई सहयोग जारी राख्ने भए पनि डब्लूएचओसँगको आर्थिक सहकार्यलाई भने थप सीमित बनाउने स्पष्ट संकेत दिएको छ।