काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सरकारले पछिल्लो चार महिनाको अवधिमा सुशासनका क्षेत्रमा गरेका पहलहरू सकारात्मक रहेको जनाएको छ। समाजले सरकारका केही कदमले आम नागरिकमा सुशासनप्रति सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गरेको छ।
आज सार्वजनिक गरिएको अवधारणापत्रमा समाजकी सभापति रेनुका पौडेलले सरकारका पछिल्ला प्रयासले सुशासनप्रति नागरिकमा आशा जगाएको बताइन्। उनले राज्यका निकायहरू थप जिम्मेवार र जवाफदेही बन्दै जानु लोकतान्त्रिक शासन व्यवस्थाका लागि आवश्यक रहेको धारणा व्यक्त गरिन्।
अवधारणापत्रमा नेपालले विधिको शासनलाई सुदृढ बनाउँदै पारदर्शी, उत्तरदायी र नागरिकमैत्री शासन प्रणालीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। समाजका अनुसार सुशासन भनेको केवल प्रशासनिक सुधारमा सीमित विषय नभई नागरिकले संविधानले सुनिश्चित गरेका अधिकार र आधारभूत स्वतन्त्रताको पूर्ण उपभोग गर्न सक्ने वातावरण निर्माण गर्नु पनि हो।
समाजले सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार, कानुनी शासनको प्रभावकारी कार्यान्वयन तथा राज्य संयन्त्रलाई थप पारदर्शी बनाउने दिशामा निरन्तर काम गर्नुपर्ने सुझाव दिएको छ। सुशासनको अनुभूति नागरिकको दैनिक जीवनमा प्रत्यक्ष रूपमा देखिनुपर्नेमा पनि जोड दिइएको छ।
मानव अधिकार तथा शान्ति समाजले देशमा विधिको शासनप्रति जनविश्वास अझ सुदृढ बनाउन सरकार दृढताका साथ अघि बढ्नुपर्ने उल्लेख गरेको छ। साथै, नागरिकले अपेक्षा गरेको आधारभूत स्वतन्त्रता, मानव अधिकारको संरक्षण र उत्तरदायी शासन प्रणाली सुनिश्चित गर्न सरकार अझ गहिराइमा पुगेर कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
समाजले सुशासनको प्रवर्द्धन, लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकारको सम्मान तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयनलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउन सरकार, राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको पनि जनाएको छ।