काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित एक विद्यालयको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम्पर्कविहीन रहेकाले प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा फेला परेकी हुन्। उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्ता, पर्साको वीरगञ्ज–१६ निवासी, सँग अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। दुवै जना गत वैशाख महिनादेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कमा नरहेको थाहा भएको थियो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने मोबाइल फोन पनि सम्पर्कमा आउन सकेको थिएन।
प्रधानाध्यापक लुइँटेलका अनुसार दिनभर सम्पर्क हुन नसकेपछि साँझ करिब ४:३० बजे रतन गुप्ताले आफ्नै वाट्सएपमार्फत सन्देश पठाएका थिए। उक्त सन्देशमा आफ्नी श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको तथा डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै कोठाको ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो।
स्थानीयवासीका अनुसार रतन गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले विद्यालय परिसरभित्र महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको जानकारी दिए। उनका अनुसार शवको मुचुल्का, परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले हाल मृत्युको कारण यकिन भइनसकेको जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम प्रतिवेदन, घटनास्थलबाट संकलित प्रमाण तथा अन्य सबै पक्षबाट अनुसन्धान भइरहेको छ। साथै सम्पर्कविहीन रहेका श्रीमान् रतन गुप्ताको खोजी कार्यलाई समेत तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीले अनुसन्धान पूरा नभएसम्म घटनाबारे कुनै निष्कर्षमा नपुग्न आग्रह गर्दै तथ्य र प्रमाणका आधारमा सत्यतथ्य सार्वजनिक गरिने जनाएको छ।