Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कागेश्वरी मनोहरामा एआई प्रविधिबाट निःशुल्क क्षयरोग परीक्षण, ३०० जनालाई सेवा दिने लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ११ २०८३
  • 1.9K
    SHARES

काठमाडौं। क्षयरोग (टिबी) को समयमै पहिचान, रोकथाम तथा उपचारमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले वडा नं. ५ मा एआई (कृत्रिम बुद्धिमत्ता) मा आधारित डिजिटल एक्स–रे प्रविधिबाट निःशुल्क क्षयरोग परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

मंगलबार सञ्चालन हुने उक्त कार्यक्रममा आधुनिक डिजिटल एक्स–रे उपकरणमार्फत छातीको परीक्षण गरिनेछ। परीक्षण सम्पन्न भएलगत्तै विशेषज्ञ चिकित्सकले एआईको सहयोगमा एक्स–रे रिपोर्टको विश्लेषण गरी सहभागीलाई तत्काल नतिजा उपलब्ध गराइनेछ। आवश्यक परे थप स्वास्थ्य परामर्श तथा उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिससमेत गरिने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

सोमबार आयोजित जानकारी कार्यक्रममा जन्त्रकी प्रतिनिधि ज्योति पन्त ले क्षयरोगका सम्भावित बिरामीलाई प्रारम्भिक अवस्थामै पहिचान गरी प्रभावकारी उपचारमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्। उनका अनुसार प्रारम्भिक चरणमै रोग पहिचान गर्न सकिए उपचारको सफलता दर उल्लेखनीय रूपमा बढ्ने भएकाले समुदायस्तरमै निःशुल्क परीक्षण अभियान सञ्चालन गर्न लागिएको हो।

उनले नगरवासीलाई निःशुल्क परीक्षण सेवाको अधिकतम उपयोग गर्न आग्रह गर्दै विशेषगरी कलकारखानामा कार्यरत श्रमिक, प्रहरी तथा अन्य सुरक्षा निकायका कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक, क्यान्टिनका कर्मचारी, सार्वजनिक सम्पर्कमा रहने सेवा प्रदायक, व्यापारी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिन्।

कार्यक्रममा जन्त्रका विशेषज्ञ चिकित्सक, रेडियोग्राफर तथा स्वास्थ्यकर्मीको टोली परिचालन हुने जनाएको छ। टोलीले डिजिटल एक्स–रे परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्श पनि प्रदान गर्नेछ। परीक्षण प्रक्रियामा कुनै शुल्क लाग्ने छैन भने करिब ३०० जनाको निःशुल्क परीक्षण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ का वडासदस्य सुशान्त श्रेष्ठ तथा नगर कार्यपालिका सदस्य गोमा ले क्षयरोगको प्रारम्भिक पहिचान नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै नगरवासीलाई परीक्षण कार्यक्रममा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्। उनीहरूले नियमित स्वास्थ्य परीक्षणले रोगको जोखिम कम गर्नुका साथै समुदायमा संक्रमण फैलिन नदिन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

स्वास्थ्य विज्ञहरूका अनुसार क्षयरोग हावामार्फत सर्ने संक्रामक रोग हो। संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा वा बोल्दा क्षयरोगका जीवाणु हावामा फैलिन सक्छन् र अर्को व्यक्तिको फोक्सोसम्म पुगेर संक्रमण गराउन सक्छन्। रोगका सामान्य लक्षणमा दुई साताभन्दा बढी लगातार खोकी लाग्नु, कफमा रगत देखिनु, अत्यधिक तौल घट्नु, ज्वरो आउनु, राति धेरै पसिना आउनु, छाती दुख्नु तथा अत्यधिक थकान महसुस हुनु पर्दछन्।

विशेषज्ञहरूका अनुसार क्षयरोग समयमै पहिचान गरी नियमित औषधि सेवन गरे पूर्ण रूपमा निको हुने रोग हो। त्यसैले यस्ता लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन र चिकित्सकको सल्लाहअनुसार उपचार पूरा गर्न सबैलाई आग्रह गरिएको छ।

एआईमा आधारित डिजिटल एक्स–रे प्रविधिको प्रयोगले क्षयरोगको प्रारम्भिक पहिचानलाई अझ छिटो, प्रभावकारी र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। यस अभियानले समुदायमा क्षयरोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै रोग नियन्त्रणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४