काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप तथा त्यसपछि उत्पन्न सुरक्षा अवस्थाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।
सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयका एक सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। बैठकमा गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी भएका थिए। समितिको संयोजकको रूपमा कुन सहसचिवलाई जिम्मेवारी दिइने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।
गृह मन्त्रालयका अनुसार समितिमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहनेछन्। साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिहरू पनि सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ। समितिले घटनाको वास्तविक कारण, सुरक्षा अवस्थाको मूल्याङ्कन, सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन सरकारसमक्ष पेश गर्नेछ।
एक जनाको मृत्यु, नौ जना घाइते
आइतबार मध्यराति दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। मेहता केही समयदेखि कप्तानगञ्जमा बसोबास गर्दै आएका थिए।
घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
विवाद कसरी सुरु भयो?
प्रहरी र स्थानीय स्रोतका अनुसार हिन्दु समुदायले मन्दिरमा ठूलो आवाजमा डिजे बजाएको विषयलाई लिएर पहिलो विवाद सुरु भएको थियो। त्यसअघि सोही क्षेत्रमा रहेको बिजुलीको पोलमा राखिएको मुस्लिम समुदायको झण्डा हटाएर हिन्दु समुदायको झण्डा राखिएको भन्दै दुवै पक्षबीच तनाव बढेको बताइएको छ।
तनाव क्रमशः चर्किँदै गएपछि दुई समुदायबीच झडप भएको थियो। झडपका क्रममा ढुंगामुढा, तोडफोड तथा आगजनीसमेत भएको जनाइएको छ। अवस्था नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र पछि नेपाली सेनासमेत परिचालन गरेको थियो।
शान्ति कायम गर्न प्रशासनको आग्रह
गृह मन्त्रालयले नागरिकलाई संयमित रहन, कुनै पनि अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। सुरक्षा निकायले प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ भने अवस्था पूर्ण रूपमा सामान्य नहुँदासम्म उच्च सतर्कता अपनाइने जनाएको छ।
यस घटनालाई सरकारले गम्भीर रूपमा लिएको बताउँदै छानबिन समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाइने गृह मन्त्रालयले जनाएको छ।