एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी तीव्र रूपमा फैलिँदै गएको छ। पछिल्लो सरकारी तथ्यांकअनुसार महामारीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ९ नाघेको छ भने संक्रमितको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। स्वास्थ्य अधिकारीहरूले संक्रमणको गति अत्यन्तै चिन्ताजनक रहेको बताएका छन्।
सरकारले शनिबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बिहीबारसम्म इबोला संक्रमण पुष्टि भएका तथा मृत्यु भएका व्यक्तिको कुल संख्या २ हजार ९ सय ७३ पुगेको छ। यो संख्या गत शनिबार सार्वजनिक गरिएको तथ्यांकको तुलनामा २७ प्रतिशतले बढी हो। त्यस्तै, पछिल्ला पाँच दिनमै मृत्युदर ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ।
एक प्रमुख जनस्वास्थ्य विज्ञले इबोला भाइरस डढेलो जसरी फैलिरहेको चेतावनी दिँदै तत्काल प्रभावकारी नियन्त्रणका उपाय अवलम्बन नगरे अवस्था अझ गम्भीर बन्न सक्ने बताएका छन्। संक्रमण र मृत्यु दुवैको दर असाधारण रूपमा बढिरहेकाले कंगोमा देखिएको यो प्रकोप हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिएको इबोला महामारीमध्ये एक बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार यस पटक कंगोमा फैलिएको संक्रमण ‘बुन्दिबुग्यो’ (Bundibugyo) प्रजातिको इबोला भाइरसका कारण भएको हो। मानिसमा संक्रमण गराउने इबोला भाइरसका चार प्रमुख प्रजातिमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ। यही कारण यसको नियन्त्रण र उपचार चुनौतीपूर्ण बन्दै गएको जनाइएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार हालसम्म बुन्दिबुग्यो प्रजातिको इबोलाका लागि कुनै स्वीकृत खोप वा पूर्ण रूपमा प्रभावकारी उपचार उपलब्ध छैन। त्यसैले संक्रमितको पहिचान, आइसोलेसन, सम्पर्कमा आएका व्यक्तिको निगरानी तथा समुदायमा जनचेतना अभिवृद्धि नै संक्रमण नियन्त्रणका प्रमुख उपाय मानिएको छ।
सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन, संक्रमितको उपचार, निगरानी तथा परीक्षणको दायरा विस्तार गरेको जनाएको छ। यद्यपि दुर्गम भूगोल, सीमित स्वास्थ्य पूर्वाधार र तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण महामारी नियन्त्रणमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।
विश्व स्वास्थ्य समुदायले पनि कंगोको अवस्थालाई गम्भीर रूपमा लिँदै आवश्यक प्राविधिक तथा मानवीय सहयोग उपलब्ध गराउने तयारी गरिरहेको जनाइएको छ। महामारी थप फैलिन नदिन प्रभावित क्षेत्रका नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न, बिरामी देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न तथा अनावश्यक भीडभाडबाट टाढा रहन आग्रह गरिएको छ।