काठमाडौँ । दाङको प्रमुख पर्यटकीय गन्तव्य राप्ती शान्ति उद्यान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा पाउने भएका छन्। पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले राप्ती आँखा अस्पताल रक्षाचौर र राप्ती शान्ति उद्यानबीचको साझेदारीमा उक्त सेवा सुरु गरिएको हो।
तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित राप्ती शान्ति उद्यानमा स्थापना गरिएको साप्ताहिक आँखा उपचार केन्द्र को शनिबार औपचारिक उद्घाटन गरिएको छ। केन्द्रमार्फत उद्यान भ्रमणमा आउने पर्यटक तथा स्थानीयलाई नियमित रूपमा आँखा परीक्षण सेवा उपलब्ध गराइनेछ।
उद्घाटन कार्यक्रममा बोल्दै राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले उद्यानमा विशेषगरी शनिबार ठूलो सङ्ख्यामा पर्यटक आउने भएकाले उनीहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पहिलोपटक साप्ताहिक आँखा उपचार सेवा सञ्चालनमा ल्याइएको बताए।
उनका अनुसार केन्द्रमा आउने सेवाग्राहीको निःशुल्क आँखा परीक्षण गरिनेछ। परीक्षणका क्रममा मोतियाविन्दुको शल्यक्रिया आवश्यक पर्ने बिरामी फेला परेमा राप्ती आँखा अस्पतालले शल्यक्रियामा ५० प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले आर्थिक रूपमा कमजोर नागरिकलाई पनि उपचारमा सहज हुने विश्वास व्यक्त गरिएको छ।
राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुधीर केसीले पर्यटकले प्राकृतिक सौन्दर्यसँगै स्वास्थ्य सेवाको लाभ लिन पाउनु सकारात्मक र उदाहरणीय पहल भएको बताए। उनले शनिबारका दिन उद्यानमा औसत तीन हजारभन्दा बढी पर्यटक आउने गरेको जानकारी दिँदै यस्तो सेवाले उद्यानको आकर्षण अझ बढ्ने विश्वास व्यक्त गरे।
राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माका अनुसार उद्यानमा स्थापना गरिएको साप्ताहिक आँखा उपचार केन्द्रबाट प्रत्येक शनिबार बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म नियमित रूपमा आँखा जाँच सेवा सञ्चालन गरिनेछ। आवश्यक परामर्श, प्रारम्भिक परीक्षण तथा थप उपचार आवश्यक परेका बिरामीलाई अस्पतालमा रिफर गर्ने व्यवस्था पनि गरिएको उनले बताए।
स्वास्थ्य र पर्यटनलाई एकैसाथ जोड्ने उद्देश्यका साथ सुरु गरिएको यो कार्यक्रमले पर्यटकलाई थप सुविधा प्रदान गर्नुका साथै आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तह, स्वास्थ्य संस्था र उद्यान व्यवस्थापनबीचको सहकार्यले भविष्यमा यस्ता जनमुखी कार्यक्रमलाई अझ विस्तार गर्ने योजना रहेको जनाइएको छ।