काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न २ लाख २३ हजार ५ सय ६८ भन्दा बढी वेबसाइट र मोबाइल एप बन्द गरेको जनाएको छ। पछिल्लो समय डिजिटल माध्यमबाट सञ्चालन हुने गैरकानुनी गतिविधि बढ्दै गएपछि सरकारले यसविरुद्ध कडाइ गर्दै व्यापक निगरानी र कारबाही अघि बढाएको हो।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी तथा स्क्यामिङ नियन्त्रण गर्ने जिम्मेवारी दिएको थियो। उक्त कार्यसूचीको ४२औँ बुँदामा सट्टेबाजीसँग सम्बन्धित वेबसाइट र एपहरू २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था उल्लेख गरिएको छ।
सोही निर्णय कार्यान्वयन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी वेबसाइट तथा एपहरू पहिचान गरी बन्द गर्ने अभियान सञ्चालन गरेको थियो। प्रारम्भिक चरणमा धेरै वेबसाइट बन्द गरिए पनि सञ्चालकहरूले नयाँ डोमेन, नयाँ एप र फरक नाम प्रयोग गरेर पुनः सञ्चालन गर्न थालेपछि प्राधिकरणले निगरानीलाई थप कडा बनाएको जनाएको छ।
प्राधिकरणका अनुसार विशेष गरी फिफा विश्वकप फुटबल सुरु भएपछि अनलाइन बेटिङ गर्ने प्रवृत्ति बढ्ने सम्भावना देखिएकाले त्यस अवधिमा विशेष अभियान सञ्चालन गरिएको थियो। सोही क्रममा हालसम्म २ लाख २३ हजार ५ सय ६८ वटा बेटिङ एप र वेबसाइटमा पहुँच रोक लगाइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विश्वकपजस्ता ठूला खेल प्रतियोगिताको समयमा अनलाइन सट्टेबाजी अत्यधिक बढ्न सक्ने भन्दै यसलाई उच्च प्राथमिकतामा राखेको थियो। त्यसपछि नेपाल दूरसञ्चार प्राधिकरणले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै विशेष निगरानी थालेको हो।
यस अभियानलाई प्रभावकारी बनाउन प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। कार्यदलले नेपालभित्र सञ्चालनमा रहेका बेटिङ प्लेटफर्म, स्क्यामिङ वेबसाइट, अवैध वित्तीय कारोबारसँग सम्बन्धित एप तथा विदेशी सर्भरमार्फत सञ्चालन भइरहेका प्लेटफर्महरूको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
प्राधिकरणका अनुसार अनलाइन सट्टेबाजीका माध्यमबाट ठूलो परिमाणमा रकम विदेशिने, साइबर अपराध बढ्ने, युवापुस्तामा लत बस्ने तथा आर्थिक ठगीका घटना बढ्ने जोखिम रहेकाले यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको छ।
नेपालमा अनलाइन सट्टेबाजी तथा बेटिङ कानुनी रूपमा निषेधित छ। यस्ता प्लेटफर्म प्रयोग गर्ने वा सञ्चालन गर्ने कार्य विद्युतीय कारोबार ऐन, प्रचलित फौजदारी कानुन तथा अन्य सम्बन्धित कानुनअनुसार कारबाहीको दायरामा पर्न सक्छ।
प्राधिकरणले नागरिकलाई पनि अवैध बेटिङ एप, स्क्यामिङ वेबसाइट वा शंकास्पद डिजिटल प्लेटफर्म प्रयोग नगर्न तथा त्यस्ता गतिविधिबारे जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह गरेको छ। साथै, नयाँ नाममा पुनः सञ्चालनमा आउने वेबसाइट र एपहरूको पहिचान गरी तत्काल बन्द गर्ने कार्य निरन्तर जारी रहने जनाएको छ।