काठमाडौं । सरकारले पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई उडान विस्तार तथा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलाई प्रोत्साहन गर्न विशेष सहुलियत घोषणा गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि विभिन्न शुल्कमा उल्लेखनीय छुट दिने निर्णय गरेको हो।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा २०८५ साल भदौ मसान्तसम्म पार्किङ, ल्याण्डिङ तथा नेभिगेसन शुल्क शतप्रतिशत छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेलले जानकारी दिए।
त्यसैगरी, यी दुवै विमानस्थलमा प्रदान गरिने ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। यस निर्णयबाट अन्तर्राष्ट्रिय एयरलाइन्सलाई नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्न थप प्रोत्साहन मिल्ने सरकारको अपेक्षा छ।
सरकारले यी विमानस्थल सञ्चालनमा आए पनि अपेक्षित संख्यामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै यस्तो सहुलियत ल्याएको हो। शुल्कमा छुट दिँदा विदेशी तथा स्वदेशी वायुसेवा कम्पनीको सञ्चालन लागत घट्ने, नयाँ गन्तव्य थपिने र नियमित उडान विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पनि अन्तर्राष्ट्रिय उडानको संख्या सीमित रहँदा लगानीको पूर्ण उपयोग हुन सकेको छैन। यस अवस्थालाई सुधार गर्न सरकारले विभिन्न प्रोत्साहनमूलक नीति अवलम्बन गर्दै आएको छ।
सरकारका अनुसार सहुलियतको अवधि २०८५ साल भदौ मसान्तसम्म कायम रहनेछ। यस अवधिमा एयरलाइन्स कम्पनीहरूले पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्क तिर्नु नपर्नेछ भने ग्राउण्ड ह्याण्डलिङ सेवामा आधा शुल्क मात्र तिर्नुपर्ने व्यवस्था हुनेछ।
सरकारको यो निर्णयले नेपालमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन क्षेत्रको पुनरुत्थान, विदेशी पर्यटक आगमन वृद्धि तथा प्रदेशस्तरको आर्थिक गतिविधि चलायमान बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।