काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४७७ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। शिविरमा विशेषज्ञ चिकित्सकमार्फत विभिन्न स्वास्थ्य सेवा प्रदान गरिनुका साथै शैक्षिक र वातावरण संरक्षणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
रोटरी क्लब अफ काठमाडौं–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौं वेष्ट र शान्ति सेवा गृह क्लिनिक तथा रिह्याबिलिटेसन सेन्टरको संयुक्त आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाले दाँत, आँखा, हाडजोर्नी तथा अन्य स्वास्थ्य समस्या सम्बन्धी निःशुल्क विशेषज्ञ सेवा प्राप्त गरेका थिए।
शिविरमा दाँतको उपचार, एक्स–रे सेवा, आँखा परीक्षण, फिजियोथेरापी, सामान्य स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श उपलब्ध गराइएको आयोजकले जनाएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा नपुग्ने अवस्थालाई ध्यानमा राख्दै शिविर आयोजना गरिएको बताइएको छ।
बालबालिकालाई निःशुल्क सामग्री वितरण
स्वास्थ्य परीक्षणका क्रममा आवश्यकताअनुसार बालबालिकालाई पोषणका लागि लिटो, झुल (मच्छरदानी), दन्तमञ्जन तथा दृष्टिदोष भएका विद्यार्थीलाई चस्मा समेत निःशुल्क वितरण गरिएको थियो। यसबाट आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाले प्रत्यक्ष लाभ पाएका छन्।
आयोजक संस्थाहरूका अनुसार यस्ता सामग्री वितरणले बालबालिकाको स्वास्थ्य, पोषण तथा व्यक्तिगत सरसफाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
विद्यालयलाई आठ थान कम्प्युटर हस्तान्तरण
स्वास्थ्य शिविरसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत थाहा नगरपालिका–१० स्थित नाटेश्वर माध्यमिक विद्यालय, टौखेललाई आठ थान कम्प्युटर हस्तान्तरण गरिएको छ।
डिजिटल शिक्षामा विद्यार्थीको पहुँच विस्तार गर्ने उद्देश्यले कम्प्युटर उपलब्ध गराइएको हो। विद्यालय प्रशासनले प्राप्त कम्प्युटरबाट विद्यार्थीलाई सूचना प्रविधि सम्बन्धी शिक्षा अझ प्रभावकारी रूपमा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
हरियाली प्रवर्द्धनका लागि ४०० बिरुवा रोपियो
सामाजिक अभियानअन्तर्गत वातावरण संरक्षणलाई पनि प्राथमिकता दिँदै थाहा नगरपालिका–१२ मा ४०० वटा बिरुवा रोपण गरिएको छ।
वातावरणीय सन्तुलन कायम राख्ने, हरियाली विस्तार गर्ने तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। स्थानीय जनप्रतिनिधि, स्वयंसेवक तथा सर्वसाधारणको सहभागितामा बिरुवा रोपिएको थियो।
सामाजिक सेवामा निरन्तर सहकार्य
आयोजक संस्थाहरूले स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणलाई एकैसाथ जोडेर सञ्चालन गरिएका यस्ता कार्यक्रमले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने बताएका छन्। आगामी दिनमा पनि दुर्गम तथा सेवा पहुँच कम भएका क्षेत्रमा यस्ता स्वास्थ्य शिविर, शैक्षिक सहयोग र वातावरण संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने उनीहरूको प्रतिबद्धता छ।