काठमाडौं । सर्लाहीका विवेक यादवको आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत यादवको मंगलबार बिहान करिब २ बजे निधन भएको अस्पतालले जनाएको छ।
गम्भीर रूपमा जलेका यादवलाई गत शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनलाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरी सघन उपचार थालिएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको अवस्था सुधार हुन नसकेपछि उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
प्राप्त जानकारीअनुसार यादवले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि स्थानीयवासी र आफन्तले तत्काल उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याएका थिए।
आफन्तका अनुसार जीवविज्ञान (बायोलोजी) विषयमा एमएस्सी गरेका विवेक यादव सर्लाहीको रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। विद्यालय प्रशासनले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी रोजगारीविहीन बनेका थिए। त्यसयता उनी करिब एक वर्षदेखि बेरोजगार अवस्थामा रहेको र मानसिक तनावबाट गुज्रिरहेकाे आफन्तले बताएका छन्।
घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ। परिवारका सदस्यहरूले रोजगारी गुमेपछि उनी लामो समयदेखि तनावमा रहेको बताएका छन्। उनको निधनपछि परिवार, आफन्त तथा स्थानीय समुदाय शोकमा डुबेको छ।
यदि तपाईं वा तपाईंले चिन्ने कोही व्यक्तिले आत्महत्या वा आत्महानिका बारेमा सोचिरहेका छन् भने, विश्वासिलो परिवारका सदस्य, साथी, मानसिक स्वास्थ्य विशेषज्ञ वा स्थानीय स्वास्थ्य सेवासँग तुरुन्त सम्पर्क गर्नु महत्त्वपूर्ण हुन्छ। समयमै सहयोग पाउँदा संकटको अवस्था पार गर्न धेरै सहायता मिल्न सक्छ।