Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सञ्चारगृह अगाडि शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र प्रेस स्वतन्त्रताको सुरक्षा माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०८३
  • 798
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानीका विभिन्न सञ्चारगृह अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिता, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रत्यक्ष चुनौती सिर्जना गरेको भन्दै सरकारसँग तत्काल निष्पक्ष छानबिन गर्न माग गरेको छ।

सोमबार जारी विज्ञप्तिमा रास्वपाले आम सञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक, निष्पक्ष र स्वतन्त्र रूपमा आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गर्न पाउने वातावरणमाथि कुनै पनि प्रकारको धावा बोल्ने वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएका शंकास्पद तथा रहस्यमय गतिविधिहरू लोकतान्त्रिक व्यवस्थासँग असंगत रहेको उल्लेख गरेको छ।

पार्टीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारगृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने, सूचना तथा सञ्चार स्वतन्त्रतालाई कमजोर बनाउने तथा लोकतन्त्रको चौथो अंगका रूपमा रहेको सञ्चार क्षेत्रलाई संकुचित पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

रास्वपाले घटनाको तत्काल, निष्पक्ष, पारदर्शी र सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ। साथै सञ्चारमाध्यम, सञ्चार संस्था तथा पत्रकारहरूको भौतिक र मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्न व्यक्ति वा समूह जोसुकै भए पनि उनीहरूको तत्काल पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ। दोषीलाई कानुनी दायरामा ल्याउन नसके यस्ता गतिविधिले लोकतान्त्रिक अभ्यास र स्वतन्त्र पत्रकारितामाथि थप चुनौती सिर्जना गर्ने चेतावनी पनि पार्टीले दिएको छ।

रास्वपाले सञ्चारकर्मीहरूलाई कुनै पनि प्रकारको दबाब, धम्की वा त्रासबाट प्रभावित नभई सत्यतथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिन आग्रह गरेको छ। पत्रकारिता पेशाको मर्यादा, जनताको सूचनाको अधिकार तथा लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागि स्वतन्त्र सञ्चार माध्यमको भूमिका अपरिहार्य रहेको पार्टीको भनाइ छ।

पार्टीले सञ्चारकर्मी तथा सञ्चार संस्थाको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा आफू सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

उल्लेखनीय छ, सोमबार बिहान राजधानीका केही प्रमुख सञ्चारगृह तथा नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको उद्देश्य, त्यसमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा सुरक्षा निकायले अनुसन्धान अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४