Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्दै जाँदा विभिन्न प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सडक बग्ने, पहिरो खस्ने तथा नदीमा पानीको बहाव बढ्ने घटनाले यात्रुहरू बाटोमै अलपत्र पर्नुका साथै दैनिक जनजीवन प्रभावित बनेको छ।

गृह मन्त्रालयको विपद् व्यवस्थापन पोर्टलका अनुसार पछिल्लो एक साताभित्र (असार २२ देखि २९ गतेसम्म) देशका ५६ स्थानमा बाढी, भारी वर्षा, पहिरो तथा सडक अवरोधका घटना दर्ता भएका छन्। ती क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सडक विभाग, नेपाल प्रहरी तथा स्थानीय प्रशासनबाट प्राप्त पछिल्लो विवरणअनुसार कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेश का अधिकांश प्रमुख सडकखण्डमा यातायात सेवा पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ। असार २९ गते बिहान ६:३० बजेसम्मको तथ्यांकअनुसार अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका विभिन्न महत्वपूर्ण सडकखण्ड पूर्ण रूपमा बन्द रहेका छन्।

वागमती प्रदेशमा सबैभन्दा बढी प्रभाव

वागमती प्रदेशको सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका–२, कोदारी क्षेत्रमा असार २९ गते बिहान गएको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने यो सडक बन्द हुँदा मालवाहक सवारीसाधन र यात्रुहरू प्रभावित भएका छन्।

यस्तै, मकवानपुरको भिमफेदी गाउँपालिका–८ भ्यारडेडाँडा क्षेत्रमा असार २७ गते गएको पहिरोका कारण कान्ति लोकपथ अन्तर्गत ललितपुर–हेटौँडा सडकखण्ड बन्द रहेको छ।

त्यसैगरी काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा सम्भावित बाढीको जोखिम उच्च रहेकाले प्रहरी प्रशासनले सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ।

लुम्बिनी प्रदेशका मुख्य सडक पनि बन्द

लुम्बिनी प्रदेशमा पनि वर्षा र पहिरोले सडक सञ्जालमा ठूलो असर पारेको छ। गुल्मीको छत्रकोट गाउँपालिका–३ काउले क्षेत्रमा असार २९ गते पहिरो जाँदा मदन भण्डारी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।

यसअघि असार २८ गते रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङ क्षेत्रमा पहिरो खस्दा घोरही–रुकुम शहीद मार्ग अवरुद्ध भएको थियो। त्यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोला मा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडकखण्ड समेत पूर्ण रूपमा बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यद्यपि पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकको सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।

कोशी र गण्डकी प्रदेशमा पनि समस्या

इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा असार २३ गतेदेखि परेको अविरल वर्षाले मेची राजमार्ग अवरुद्ध भएको छ। यद्यपि स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गरी सीमित रूपमा सवारीसाधन सञ्चालन गरिरहेको जनाएको छ।

भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा असार १२ गते आएको बाढीले मध्यपहाडी लोकमार्ग क्षतिग्रस्त बनाएपछि उक्त सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

उता गण्डकी प्रदेशको कास्की, मादी गाउँपालिका–२ ज्याम्दु क्षेत्रमा असार २७ गते गएको पहिरोका कारण पोखरा–ताङतिङ सडकखण्ड अझै पूर्ण रूपमा बन्द रहेको प्रशासनले जनाएको छ।

पछिल्लो २४ घण्टामा नयाँ घटना

गृह मन्त्रालयको रियलटाइम विपद् व्यवस्थापन प्रणालीअनुसार पछिल्लो २४ घण्टामा मात्रै सुदूरपश्चिमदेखि पूर्वी नेपालसम्म बाढी र सडक अवरोधका नयाँ घटना थपिएका छन्।

कैलालीको कैलारी गाउँपालिका–५ मा असार २९ गते बिहान बाढी आएको छ भने सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा असार २८ गते राति भारी वर्षा भएको र रुपन्देहीको सैनामैना–१० मा सडक अवरुद्ध भएको विवरण प्राप्त भएको छ।

त्यसैगरी पर्वतको जलजला गाउँपालिका–३ मा एकै दिन दुई पटक बाढी आएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका–६ मा पनि सडक अवरुद्ध हुँदा आवतजावत प्रभावित भएको छ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह

नेपाल प्रहरी, सडक विभाग तथा स्थानीय प्रशासनले लगातारको वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्। विशेष गरी नदी किनार, पहिरोको उच्च जोखिम भएका सडक तथा पहाडी क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षा भइरहेकाले डोजर तथा प्राविधिक टोलीलाई काम गर्न कठिनाइ भइरहेको सडक विभागले जनाएको छ। मौसममा सुधार नआएसम्म थप सडक अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले यात्रुहरूलाई यात्रा अघि सम्बन्धित निकायबाट सडक अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४