Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आठ वर्ष बित्दा पनि सम्पन्न भएन बागलुङ लिफ्टिङ खानेपानी आयोजना, बजारवासी अझै धमिलो पानी पिउन बाध्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २८ २०८३
  • 494
    SHARES

काठमाडौं । बागलुङ बजारको दशकौँदेखिको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले सुरु गरिएको लिफ्टिङ खानेपानी आयोजना आठ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। आयोजना निर्माणको अधिकांश काम सम्पन्न भइसके पनि निर्माण कम्पनीले हालसम्म बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थालाई हस्तान्तरण नगर्दा हजारौँ उपभोक्ता अझै शुद्ध खानेपानीबाट वञ्चित छन्।

खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट पानी लिफ्ट गरी बागलुङ बजारमा पुर्‍याउने उद्देश्यले विसं २०७५ मा आयोजना निर्माणको ठेक्का दिइएको थियो। ‘कन्काई–जयमाता जेभी’ले रु ३० करोड २६ लाख लागतमा विसं २०७७ भित्र आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा आयोजनाको लागत बढेर रु ३४ करोड ६५ लाख पुगेको छ।

अघिल्लो वर्ष नै आयोजनाको करिब ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको भए पनि निर्माण कम्पनीले आयोजना हस्तान्तरण नगरेकाले पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसीका अनुसार आयोजना हस्तान्तरण नहुँदा संस्थाले प्रत्येक वर्ष करिब रु ८० लाख बराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ। उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउन दैनिक रूपमा ब्लिचिङ पाउडर प्रयोग गरेर मात्र पानी वितरण गर्नुपर्ने अवस्था रहेको उनले बताए।

उनका अनुसार बागलुङ बजारवासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। पहिलेको तुलनामा अहिले नियमित रूपमा पानी वितरण गर्न सकिए पनि पानीको गुणस्तरमा सुधार आउन नसकेकाले उपभोक्ता अझै धमिलो पानी प्रयोग गर्न बाध्य छन्।

अध्यक्ष जिसीले आयोजना सञ्चालनमा आएपछि काठेखोलाको पानी आधुनिक शुद्धीकरण प्रक्रियामार्फत वितरण गर्न सकिने भए पनि हस्तान्तरणमा भएको ढिलाइले उपभोक्ताले त्यसको लाभ लिन नपाएको बताए।

यस आयोजनाअन्तर्गत काठेखोलामा पाँच वटा पानी थिग्राउने ट्याङ्की, पाँच लाख लिटर क्षमताको एउटा आरबीटी ट्याङ्की, दुई लाख लिटर क्षमताका दुई वटा आरबीटी ट्याङ्की तथा दुई वटा स्लो–स्यान्ड फिल्टर (Slow Sand Filter) ट्याङ्की निर्माण गरिएको छ। आवश्यक अधिकांश पूर्वाधार तयार भइसके पनि आयोजना औपचारिक रूपमा सञ्चालनमा आउन नसकेको हो।

आयोजना नेपाल सरकारको ७० प्रतिशत तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको छ। उपभोक्ताले व्यहोर्ने ३० प्रतिशत लागतको केही हिस्सा नगर विकास कोषबाट ऋणका रूपमा जुटाइएको छ। आयोजना पूरा नहुँदै पनि उपभोक्ता समितिले हरेक वर्ष करिब रु ८० लाख सावा–ब्याज तिर्दै आएको जनाएको छ।

हाल यस आयोजनामार्फत बागलुङ बजारमा ४ हजार १०० वटा धारा जडान भइसकेका छन्। तर शुद्धीकरण प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआउँदा ती धाराबाट आउने पानी प्रत्यक्ष पिउन योग्य नभएको उपभोक्ताको गुनासो छ।

स्थानीयवासी पिताम्बर आचार्यले बागलुङ बजारका नागरिकले दशकौँदेखि धमिलो पानी प्रयोग गर्न बाध्य भएको बताए। उनका अनुसार कहिले खानेपानी संस्थाको व्यवस्थापन समस्या त कहिले निर्माण व्यवसायीको ढिलासुस्तीका कारण बजारवासीले अझै स्वच्छ खानेपानी पाउन सकेका छैनन्।

उनले धारामा आउने पानी पिउन मात्र होइन, सरसफाइजस्ता दैनिक कार्यका लागि समेत उपयुक्त नहुने अवस्था रहेको भन्दै सम्बन्धित निकायले तत्काल आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउन माग गरे।

स्थानीयवासीहरूले करोडौँ रुपैयाँ खर्च भइसकेको आयोजना यथाशीघ्र हस्तान्तरण गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउन तथा बागलुङ बजारका उपभोक्तालाई सुरक्षित, स्वच्छ र नियमित खानेपानी उपलब्ध गराउन सरकार, सम्बन्धित विभाग र निर्माण कम्पनीसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४