काठमाडौं । नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङलाई अझ सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन प्रहरीले विशेष अनुगमन अभियान सुरु गरेको छ। साहसिक खेलका रूपमा परिचित प्याराग्लाइडिङमा हुन सक्ने मानवीय त्रुटि तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले पाइलटहरूको मादक पदार्थ (मापसे) र लागूऔषध (लापसे) सेवन सम्बन्धी आकस्मिक परीक्षण थालेको हो।
सडकमा सवारी चालकको मापसे परीक्षण गरिएझैँ वडा प्रहरी कार्यालय बैदामको नेतृत्वमा प्रहरी टोली पोखरा–१८, सराङकोटस्थित तोरीपानी पुगेर उडानको तयारीमा रहेका प्याराग्लाइडिङ पाइलटहरूको स्वास्थ्य परीक्षण गरेको थियो। पछिल्लो समय भारतीय पर्यटकहरूको उल्लेख्य आगमन भइरहेका बेला केही पाइलटले नशालु पदार्थ सेवन गरेर उडान गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा छड्के जाँच सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीसहितको टोलीले ३५ जना पाइलटको मापसे तथा लागूऔषध परीक्षण गरेको थियो।
डिएसपी भट्टराईका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि रोक्नु, सम्भावित दुर्घटनाको जोखिम घटाउनु तथा पर्यटकको सुरक्षालाई उच्च प्राथमिकता दिनु अभियानको मुख्य उद्देश्य हो। उनले पोखराको मौसम छिट्टै परिवर्तन हुने भएकाले पाइलटहरूले अझ बढी सतर्कता अपनाउनुपर्ने बताए।
उनका अनुसार पोखरालाई सुरक्षित साहसिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न यस्ता आकस्मिक चेकजाँचलाई नियमित बनाइनेछ। पर्यटन क्षेत्रको विश्वसनीयता कायम राख्न सुरक्षा मापदण्डको कडाइका साथ पालना गराइने पनि उनले स्पष्ट पारे।
प्याराग्लाइडिङ आफैंमा उच्च जोखिमयुक्त साहसिक खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय–समयमा सुरक्षा अनुगमन गर्दै आएको छ। विगत २५ वर्षमा टेन्डम (पाइलट र यात्रु) उडानका क्रममा दुई वटा दुर्घटना भइसकेको तथ्यांक रहेको छ। त्यसैले प्रहरीको पछिल्लो सक्रियताले पर्यटकमा थप विश्वास बढ्ने र उडान अझ सुरक्षित हुने अपेक्षा गरिएको छ।
प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमका अनुसार दैनिक पाँच सयभन्दा बढी पर्यटकले प्याराग्लाइडिङको अनुभव लिने गरेका छन्। उनले पोखराको पर्यटन जोगाउने जिम्मेवारी सबैको भएकाले सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्दै काम गर्नुपर्ने बताए।
उनले यस वर्ष पर्यटनको अफ–सिजनमा समेत भारतीय र बंगलादेशी पर्यटकको आगमन उल्लेख्य रहेको जानकारी दिए। हाल करिब ७ हजार ५०० रुपैयाँ मा प्याराग्लाइडिङ गर्न सकिने र सो शुल्कमा फोटो तथा भिडियो सेवा समेत समावेश हुने उनले बताए।
सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले प्याराग्लाइडिङ क्षेत्रमा हुने कुनै पनि असुरक्षित गतिविधिले समग्र पोखराको पर्यटन उद्योगको छविमा नकारात्मक असर पार्न सक्ने बताए। उनले पाइलटहरूलाई आफ्नो पेशाप्रति थप जिम्मेवार बनाउन तथा सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन गराउन सम्बन्धित निकायले नियमनलाई अझ कडा बनाउनुपर्नेमा जोड दिए।
पराजुलीका अनुसार साहसिक खेलमा एउटा सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले यस्ता नियमित छड्के जाँच अपरिहार्य छन्। विगतका वर्षहरूमा पनि यस्ता परीक्षण सञ्चालन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिनुपर्ने बताए।
पर्यटन क्षेत्रका सरोकारवालाहरूले पनि साहसिक खेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न नियमित मापसे तथा लागूऔषध परीक्षण, सुरक्षा निरीक्षण र छड्के अनुगमन आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार यस्ता अभियानले सम्भावित दुर्घटना न्यूनीकरण गर्नुका साथै पोखरालाई सुरक्षित साहसिक पर्यटन गन्तव्यका रूपमा थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।